नेपाली काँग्रेस १५औं महाधिवेशन

दीपक गिरी र अमरसिंह पुनले पराजय स्विकार्दै भने, पाठ सिकेर अघि बढ्नेछौं


सेतोखरी सेतोखरी   ६ घण्टा अगाडि
दीपक गिरी  र अमरसिंह पुनले पराजय स्विकार्दै भने, पाठ सिकेर अघि बढ्नेछौं

नेपालगन्ज। लुम्बिनी प्रदेसबाट नेपाली काँग्रेसको मुख्य पदाधिकारीमा उम्मेदवारी दिएका दीपक गिरी र अमरसिंह पुनले आफ्नो पराजय स्विकार्दै नयाँ सोंच र थप उर्जासहित अघि बढ्ने बताएका छन्। 

नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनमा गिरीले उपसभापति र पुनले महामन्त्री पदमा उम्मेदवारी दिएका थिए। 

आइतबार राति लगभग ९० प्रतिशत मतगणना भइसक्दा उनिहरूले परिणाम स्विकार गर्दै पार्टीलाई थप मजवुत बनाउँदै अघि बढ्ने बताएका हुन्। सामाजिक सञ्जालमा आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै उनिहरूले पार्टी र संगठनका लागि आगामी दिनहरूमा पनि उत्तिकै प्रतिवद्ध र सक्रिय भएर लाग्ने बताएका छन्। 

‘निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसके पनि मेरो विश्वास, विचार र पार्टी रूपान्तरणको संकल्प कमजोर भएको छैन। मेरो यात्रा कुनै पद प्राप्तिमा सीमित थिएन, नेपाली कांग्रेसलाई अझ सशक्त, एकताबद्ध र जनउत्तरदायी बनाउने उद्देश्यसँग जोडिएको थियो’ गिरीले भनेका छन् ‘अब समय निराश हुने होइन, अनुभवबाट सिक्दै अघि बढ्ने हो। निर्वाचनका क्रममा देखिएका भिन्नतालाई बिर्सेर विचार, विधि र संगठनको सुदृढीकरणका लागि एकजुट हुन आवश्यक छ। नेपाली कांग्रेसलाई नयाँ सोच, स्वच्छ राजनीतिक संस्कार र जनताको अटुट विश्वाससहित अघि बढाउन मेरो प्रयास निरन्तर रहनेछ। चारतारे झण्डा र रुखको छहारीमा, साथीहरूसँग हातेमालो गर्दै नेपाली कांग्रेसको संगठनलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउन मेरो यात्रा निरन्तर अघि बढिरहनेछ।’

गिरीले नेपाली काँग्रेसको केन्द्रीय उपसभापतिका लागि (खुल्लातर्फ) उम्मेदवारी दिएका थिए। यो कलस्टरमा चन्द्र भण्डारी र मधु आचार्यले अरु ७ जना प्रतिद्वन्द्वीलाई पछि पार्दै जीत हासिल गरेका छन्। गिरी यसअघि केन्द्रीय सदस्य थिए। डा।सशांक कोइराला निकट रहेका गिरी गत पुसमा भएको विशेष महाधिवेशनबाट गगन समूहमा तानिएका थिए। उनि गगनकै हस्ताक्षरमा टिकट लगेर दाङ क्षेत्र नं ३ बाट निर्वाचन लडेका थिए। तर गत फागुनमा भएको त्यो निर्वाचनमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले पराजित गरे। उनका दाई गेहेन्द्र गिरीचाहिँ देउवा समूहमा लागेर समानान्तर  महाधिवेशन गराइरहेका छन्। १४ औं महाधिवेशनबाट गहेन्द्र केन्द्रीय सदस्य भएका थिए। 

लुम्बिनी प्रदेशबाट नेपाली काँग्रेसको केन्द्रीय समितिमा उम्मेदवारी दिएका अर्का नेता हुन् अमरसिंह पुन। रोल्पा निवासी उनि कोइराला परिवार हुँदै गगनतिर सरेका थिए। विशेष महाधिवेशनमा पनि पुनले व्यवस्थापकीय क्षेत्रमा नेतृत्वदायी भूमिका निभाएका थिए। 

यो महाधिवेशनमा पुनले उपसभापतिका लागि उम्मेदवारी दिएका थिए। तर उनि अघि बढ्न सकेनन्। यो पदमा प्रदीय पौडेल र उदय समशेर राणा आए। 

मतगणना नसकिदैं पुनले पराजय स्विकार गरेको बताएका छन्। 

‘राजनीतिमा जित र हार स्वाभाविक प्रक्रिया हुन्। महामन्त्री पदको निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसक्ने परिस्थिति बन्दै गर्दा पनि मेरो मनमा कुनै पछुतो छैन’ उनले भनेका छन् ‘किनकि मेरो उम्मेदवारी एउटा पद प्राप्तिका लागि मात्र थिएनस नेपाली कांग्रेसलाई बदल्ने, नयाँ राजनीतिक संस्कार स्थापित गर्ने, पार्टीलाई थप व्यवस्थित र जनताको भरोसाको केन्द्र बनाउने विचारको प्रतिनिधित्व थियो।’

यो महाधिवेशनबाट नेपाली काँग्रेसभित्र गुटहरू भत्किएर विचार, योग्यता र क्षमताको परीक्षण भएको पनि बताएका छन्।

‘निर्वाचनलाई गुटभन्दा माथि उठाएर विचार, योग्यता, योगदान, आवश्यकता र रूपान्तरणका एजेन्डामा केन्द्रित बनाउन सकिएन भन्ने अनुभूति अवश्य भएको छ। तर अब निराशा, असमझदारी र आरोपमा अल्झिने समय होइन। यसबाट पाठ सिक्दै पार्टीलाई बदल्ने साझा संकल्पमा एकताबद्ध हुने समय हो’ पुनले भनेका छन् ‘निर्वाचनका क्रममा बनेका दूरी र असमझदारीलाई यहीँ अन्त्य गरौँ। विजयी साथीहरूलाई बधाई दिऔँ, पराजित साथीहरूको योगदानको सम्मान गरौँ र सबैलाई समेटेर अगाडि बढौँ। पार्टीभित्र फरक विचार राख्ने साथीहरूलाई पनि सम्मान, न्याय, सहभागिता र अवसर सुनिश्चित हुनेमा विश्वस्त छु।’

पुन अहिले नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति पनि हुन्। यसअघि गत फागुनमा भएको निर्वाचनमा उनि बाँके क्षेत्र नं ३ बाट उम्मेदवार थिए। तर उनलाई त्यहाँ रास्वपाका खगेन्द्र सुनारले पराजित गरे। 

नेपाली काँग्रेसको १५औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनपछि मतगणना जारी छ।

पदाधिकारीहरूको अन्तिम मतपरिणाम सोमबार सार्वजनिक गर्नेगरी गणना भइरहेको छ। केन्द्रीय सदस्यहरूको परिणाम भने अझैं केही दिन कुर्नुपर्नेछ।