१२ जना मारिएको साउदी बिमानस्थल आक्रमणमा नेपालीको अवस्था के छ?


सेतोखरी सेतोखरी   १६ घण्टा अगाडि
१२ जना मारिएको साउदी बिमानस्थल आक्रमणमा नेपालीको अवस्था के छ?

काठमाडौं। हुथी बिद्रोहीले गरेको साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल आक्रमणमा अहिलेसम्म १२ जनाको मृत्यु पुष्टी भएको छ।

त्यसमा ८ जना विदेशी नागरिक छन्। स्थानीय प्रहरीका अनुसार साउदीका ४ जनासहित दुई बंगलादेशी तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक नागरिकको मृत्यु पुष्टी भएको छ। तीन जनाको राष्ट्रियता उल्लेख गरिएको छैन।

३१० जना घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको साउदी सरकारले जनाएको छ। 

केही दिनदेखि साउदीमाथि लगातार आक्रमण गरिरहेको हुथी विद्रोहीले यसपालि त्यहाँको सबैभन्दा ठूलो बिमानस्थलमा आक्रमण गरेको हो। हूथी विद्रोही (अन्सार अल्लाह) यमनको एक सशस्त्र शिया मुस्लिम (जैदी सम्प्रदाय) विद्रोही समूह हो।

आक्रमणपछि किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा कामकारबाहीहरू अहिलेका लागि बन्द गरिएको अधिकारीहरूले बताएका छन्। घटनाबारे अनुसन्धान हुँदासम्म विमानस्थल पूर्णरुपमा बन्द रहनेछ। संसारकै व्यस्त र ठूलो मानिने यो बिमानस्थल बन्द हुँदा संसारभरिकै हवाई ट्रान्जिट प्रभावित भएको छ। आक्रमण गेट नं ४०१ मा भएको थियो। 

यो आक्रमणमा अहिलेसम्म नेपाली प्रभावित भएको विवरण प्राप्त छैन। रियादस्थित नेपाली दूतावासका अनुसार घटनाको विवरणहरू बुझ्ने काम भइरहेको छ। यो बिमानस्थल वा त्यस वरिपरी रहेका नेपालीको अवस्था बुझ्ने काम भइरहेको दूतावासले जनाएको छ। 

साउदी अरब नेतृत्वको गठबन्धनले यो हमलाको जवाफ दिने प्रतिक्रिया दिएको छ। उसले हमलाका लागि हूथी विद्रोहीलाई जिम्मेदार ठहराउँदै ‘युद्ध अपराध’को सङ्ज्ञा दिएको छ।साउदी अरबको समर्थन रहेको यमनको सरकारी सेना र हूथी विद्रोहीबीच पछिल्लो समय लडाइँ चर्किएको छ। हूथीहरूले देशका अधिकांश क्षेत्रमाथि कब्जा गरेका छन्।

साउदी अरब नेतृत्वको गठबन्धनअनुसार शनिवार दमामस्थित किङ्ग फहाद अन्तर्राष्ट्रिय विमानस्थलनजिक एउटा प्रोजेक्टाइल खसेको थियो।इरानको समर्थन प्राप्त हूथी विद्रोहीहरूले साउदी विमानस्थलमा दुई वटा आक्रमण गरेको अधिकारीहरूले बताएको एक दिनपछि पछिल्लो हमला भएको छ।त्यो हमलामा तीन जना साउदी नागरिक मारिएका थिए। त्यसअघि अक्टोबर ६ र ७ तारिखमा साउदी अरबका दुई वटा विमानस्थलमा गरिएका हमलामा अर्का तीन जना व्यक्ति मारिएका थिए।

यमनको गृहयुद्धमा साउदी अरबको सेनाले सरकारी सेनालाई सघाइरहेका कारण आफूहरूले साउदी अरबलाई निशाना बनाइरहेको हूथीहरूले बताएका छन्।चर्कँदो लडाइँबीच हूथी विद्रोहीहरूले रेड सीका महत्त्वपूर्ण रणनीतिक क्षेत्रहरूमाथि नियन्त्रण कायम गरेको पृष्ठभूमिमा साउदी अरबमाथि पछिल्ला हमला भएको छ।हूथी विद्रोहीलाई यमनमाथि नियन्त्रण कायम गर्नबाट रोक्ने तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनको सरकारलाई सघाउने उद्देश्यका साथ सन् २०१५ मा साउदी अरबको नेतृत्वमा एउटा सैनिक गठबन्धन बनाइएको थियो।