खगेन्द्रले दिए पार्टीलाई लिखित जवाफ अब छानबिन र ‘बयान’समेत हुनसक्छ


सेतोखरी सेतोखरी   २ घण्टा अगाडि
खगेन्द्रले दिए पार्टीलाई लिखित जवाफ अब छानबिन र ‘बयान’समेत हुनसक्छ

नेपालगन्ज। एउटा अडिओ प्रकरणका कारण विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले पार्टीलाई लिखित स्पष्टीकर पठाएका छन्। 

सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रशारित उक्त अडिओमा सुनारले एकजना पूर्वराज्यमन्त्रीसमेत रहेकी महिलालाई अश्लील गाली गलौज गर्दै ज्यान मार्ने धम्कीसमेत दिएको सुन्न सकिन्छ। 

यो अडिओपछि उनको ब्यापक आलोचना भयो र सामाजिक सञ्जाल अनि सञ्चारमाध्यमहरूमा समेत टिकाटिप्पणी हुन थालेपछि पार्टीले उनलाई आन्तरिक कारबाही प्रक्रिया अघि बढाएको थियो। पार्टीले उनिमाथि अनुसन्धान गर्न पार्टीको अनुशासन आयोगलाई निर्देशन दिएको थियो। साथै पार्टीले उनलाई उक्त अनुसन्धान नसकिदासम्मको अवधिमा सार्वजनिक कार्यक्रमहरूमा जान पनि रोक लगाएको थियो। 

आयोगले सुनारलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। त्यसपछि सुनारले आयोगलाई लिखित जवाफ पठाएका हुन्। 

आयोग स्रोतका अनुसार उनले उक्त अडिओमा आफ्नो आवाज नभएको र त्यो घटनामा आफ्नो कुनै संलग्नता नरहेको पनि बताएका छन्। आफूमाथि लगाइएको सबै आरोपहरूलाई उनले अस्विकार गरेका छन्। 

‘उहाँले जवाफ पठाउनु भएको हो। त्यसबारे विस्तृतमा छलफल र अध्ययन हुन बाँकी छ। प्रारम्भमै उहाँले आफूमाथिका सबै आरोपहरूलाई अस्विकार गर्नभएको छ’ एक सदस्यले भने।

पीडितबाट उजुरी नआए पनि सुनारमाथि आयोगले आन्तरिक छानबिन गर्नेछ। पहिलो चरणमा लिखित स्पष्टीकरणपछि अब त्यसमाथि छानबिन र आवश्यक परेका खण्डमा सुनार अनि पीडित भनिएकी महिलासँग पनि आयोगले सोधपुछ गर्नेछ। त्यस्तै आयोगले अडिओसँगसँगै घटनाका अरु प्रमाणहरू पनि संकलन गर्नेछ। आयोगले उक्त अडिओ कसरी सार्वजनिक भयो भन्नेबारेमा पनि छानबिन गर्नेछ। उक्त अडिओ केही वर्ष पुरानो हो। 

उनिमाथि छानबिन गर्नका लागि आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले बताए।  

उक्त अडिओ सार्वजनिक भएपछि सुनारले दुई पटक सामाजिक सञ्जालमार्फतसमेत स्पष्टीकरण दिइसकेका छन्। पार्टीले उनलाई कारबाही गरेको विज्ञप्ति सार्वजनिक गरेको दिनमा उनि पार्टीकै अभियान अन्तर्गत दाङका विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै थिए। तर पार्टीको कारबाहीपछि उनले त्यहिँबाट सामाजिक सञ्जालमा भिडिओ जारी गरेर आफूलाई फसाउने षड्यन्त्रले एआइद्वारा अडिओ निर्माण गरेको दाबी गरेका थिए। त्यस्तै उनले प्रहरी संगठनका प्रमुखको बदमासीबारे प्रश्न उठाउँदा आफूमाथि निरन्तर प्रहार भइरहेको आरोप पनि लगाएका थिए। 

त्यसपछि काठमाडौं आएर पार्टीलाई लिखित जवाफ लेख्नुअघि पनि उनले सामाजिक सञ्जालबाट त्यस्तै दाबी दोहोर्‍याएका छन्। 

उनले आफूले कुनै ‘कुकर्म’हरू गरेको प्रमाणित भएमा त्यसका लागि पार्टी र सरकार सती जाननपर्ने बताउँदै आफूले राज्य वा पार्टीले गर्ने हरेक अनुसन्धानलाई सघाउन तयार रहेको जनाएका छन्।

‘प्रश्न म माथि उठेको प्रश्न हो। यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन। म माथि निर्मम छानविन गरियोस्। आवश्यक परे प्रतिनिधि सभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस्। म र मैले कुनै पनि कु(कर्म गरेको खण्डमा पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु’ उनले भनेका छन् ‘मैले गरिएको भनिएको पाप, अपराध के हो रु प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु। तर राजनीतिक, सामाजिक रुपमा काम गरिरहेकी एक निर्दोष महिला माथि जुन ढङ्गबाट मिडिया ट्रायल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडियो जोडी टिका टिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन।’ 

उनि बाँके क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन्।