काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना 


सेतोखरी सेतोखरी   ४ घण्टा अगाडि
काँग्रेस केन्द्रीय नेतृत्वमा लुम्बिनीबाट दाङको वर्चश्व, बाँकेका ३ जना 

नेपालगन्ज। नेपाली काँग्रेसको १५ महाधिवेशनमा उपसभापतिदेखि महामन्त्री र सदस्यहरूसम्ममा उम्मेदवारी दिएका लुम्बिनीका अधिकांश पदाधिकारीहरू पराजित भएका छन्। सहमहामन्त्रीदेखि लुम्बिनीबाट यसपालि नेपाली काँग्रेसको केन्द्रीय नेतृत्वमा पुग्नेहरूमा दाङले वर्चश्व जमायो। 

उम्मेदवारीमा पनि दाङकै वर्चश्व थियो। १५ औं महाधिवेशनबाट एकजना सहमहामन्त्रीसहित ६ जना केन्द्रीय सदस्यहरू दाङकै छन्। दाङका १८ जनाले उम्मेदवारी दिएका थिए। अन्तिममा दुईजनाले फिर्ता लिएपछि बाँकी १६ जना चुनावमा भिडेका थिए। 

सबैभन्दा ठूलो पद उपसभापतिका उम्मेदवारी दिएका दीपक गिरी पराजित भए। उनी दाङका हुन्। शेखर कोइराला निकट मानिने उनि गत फागुनमा भएको निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट नेपाली काँग्रेसका तर्फबाट लडेका थिए। तर उनलाई रास्वपाका कमल सुवेदीले पराजित गरे। विशेष महाधिवेशनमा सहभागी नभए पनि उनले चुनावपछि सभापति गगन थापालाई आफ्नै घरमा बोलाएर स्वागत गरेका थिए। अघिल्लो  महाधिवेशनमा केन्द्रीय सदस्य भएका गिरीका दाजु गेहेन्द्र गिरी भने अहिले त्यो समूहको समानान्तर महाधिवेशनका लागि लुम्बिनी प्रदेशको संयोजक छन्। उनि पनि १४ औं महाधिवेशनका बेला केन्द्रीय सदस्य भएका थिए। 

उपसभापतिमा गुल्मीका चन्द्र भण्डारी निर्वाचित भए। त्यस्तै नवरपरासीका अर्बपति बिनोद चौधरी पनि उपभापति भए। त्यस्तै अर्घाखाँचीबाट पुष्पा भुसाल निर्विराेध सभापति भइन्। 

महामन्त्रीमा उम्मेदवारी दिएका अमरसिंह पुन पनि पराजित भएका छन्। उनि हाल नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति पनि हुन्। रोल्पा निवासी पुन गत निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट चुनाव लडेका थिए। तर त्यहाँ उनलाई रास्वपाका खगेन्द्र सुनारले पराजित गरे।

सहमहामन्त्रीमा उम्मेदवारी दिएका दाङका योगेन्द्र चौधरी र रोल्पाका मनोजमणि आचार्य सहमहामन्त्री चुनिएका छन्। चौधरी यसअघि विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री नै थिए। उनि थारु कलस्टरबाट आएका हुन् भने आचार्य खस आर्य कोटामा निर्वाचित भएका हुन्। 

यीबाहेक दाङबाट केन्द्रीय सदस्यमा खुलातर्फ किरणकिशोर घिमिरे, महिला खुलातर्फ अनिता देवकोटा, लुम्बिनी प्रदेशको भूगोलतर्फ कमलकिशोर घिमिरे, भूगोलतर्फ प्रचण्डविक्रम न्यौपाने र ३५ वर्षमुनिका युवातर्फ अनुराग खड्का निर्वाचित भएका छन्। निर्वाचित भएका दुई घिमिरे सहोदर दाजु भाइ हुन्। कमल एउटै घरका कान्छो सन्तान हुन्। किरणकिशोर गत फागुनको निर्वाचनमा दाङ क्षेत्र नं २ बट निर्वाचन लडेका थिए। तर उनलाई रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले पराजित गरे। यसअघि पार्टीको सक्रिय राजनीतिमा नआएका किरण गत निर्वाचनबाट पूर्णकालीन राजनीतिमा छन्। उनिहरूका जेठा दाई कृष्णकिशोर घिमिरे भने यसअघि दाङबाटै निर्वाचित भएका थिए। अनिता देवकोटा यसअघि राष्ट्रियसभामा नेपाली काँग्रेसको सचेतकको भूमिकामा थिइन्। त्यस्तै न्यौपाने लुम्बिनी प्रदेशका पर्यटन मन्त्री भइसकेका हुन्। खड्का स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुन् भने लुम्बिनी प्रदेशका सांसद पनि हुन्। 

महाधिवेशनमा दाङबाट उपसभापति पदमा उम्मेदवारी दिएका दीपक गिरी भने पराजित भएका छन् । केन्द्रीय सदस्यतर्फ खसआर्यबाट जगतबहादुर खड्का, खुलातर्फ गोविन्दबहादुर शाह ९शम्भू० र भूगोलतर्फ प्रदीपराज शर्मा पनि निर्वाचित हुन सकेनन् ।

त्यसैगरी, विज्ञतर्फ डा. नहकुल केसी र मोहन लम्साल, महिला भूगोलतर्फ गिरिजादेवी न्यौपाने, दलिततर्फ बाबुराम विश्वकर्मा र देविका नेपाली घिमिरे तथा दलित महिला कोटातर्फ लीला नेपाली पराजित भएका छन्।

दाङबाट उम्मेदवारी दिएका १६ जनामध्ये ६ जनाले मात्रै सफलता हासिल गर्दा बाँकी १० जनाको पराजय भएको हो । महाधिवेशनको परिणामले दाङबाट उम्मेदवार बनेका नेताहरूको प्रतिस्पर्धात्मक अवस्था देखाएको छ।
बाँकेबाट खुला केन्द्रीय सदस्यमा सुधांशु कोइराला निर्वाचित भएका छन्। उनि नेपाली काँग्रेस बाँकेका सचिव पनि हुन्। त्यस्तै दलिततर्फ रुपा बिक र श्रमिकतर्फ सीतादेवी काफ्ले केन्द्रीय सदस्यका रुपमा नेतृत्वमा पुगेका छन्। 

प्यूठानबाट निमा गिरी केन्द्रीय सदस्यमा चुनिएकी छिन्।