चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?

नेपालगन्ज। कारागारमा रहेका ‘उच्च पहुँचवाला बिचौलिया’ दीपक भट्ट, पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा र ईनम सापकोटा हुँदै हाइ प्रोफाइल ‘बिचौलिया’को जालो लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुशील भट्टसम्म पुगेको छ। 

उनलाई शनिबार नेपाल प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ। र उनिमाथि सम्पत्ति सुद्धिकरणको मुद्दा लगाइएको छ। केही दिनअघि प्रहरीले पूर्वन्यायाधीश चोलेन्द्रसमशेरलाई सुरक्षा खतरा बढेको भन्दै राति घराबाटै प्रहरी कार्यालयमा लगेर राखेको थियो। त्यहाँ अनुसन्धान गर्दै जाँदा ईनम सापकोटासम्म पुगेको थियो। सापकोटालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसक्रममा जबरा र भट्टबीच कुराकानी भएको लहरोसमेत प्रहरीले भेटायो।

शक्तिकेन्द्रसँग सिधा पहुँच राखेर उच्चस्तरमा ‘बिचौलिया’को काम गर्ने दीपक भट्ट हाल जेलमा छन्। उनलाई छुटाउनका लागि भट्टले सापकोटासँग कुराकानी गरेको र सापकोटाले जबरामार्फत त्यस्तो प्रयास गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानमा खुलेको थियो। जबरालाई नियन्त्रणमा राखेका बेला राति नै उनलाई भेट्न पुगेका एकजना सशस्त्रका एआइजी वंशीराज दाहालमाथि गम्भिर सूचना चुहाएको आरोपमा उनलाई गृहमन्त्रालयले सेवाबाटै बर्खास्त गरिसकेको छ। उनि जबराका जुवाइँ हुन्। 

प्रहरी स्रोतका अनुसार शनिबार पक्राउ परेका भट्ट ‘वापर ब्रेकर’का रुपमा सक्रिय रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। 

जबरा, सापकोटा र दाहाललगायतको यो सञ्जालको सम्बन्ध र सम्पर्कहरूले सरकार र सिधै प्रधानमन्त्रीलाई समेत गम्भिर अप्ठारो पार्नसक्ने भन्दै प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त सूचनाका आधारमा सुशील भट्टमाथि पनि प्रहरीले शूक्ष्म अनुसन्धान र पछ्याउँदै आएको थियो। 

संदिग्ध कृयाकलापमा सक्रिय ईनम सापकोटा अहिले प्रहरी हिरासतमा छन्। उनीमाथि अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले त्यहाँ कार्यरत एसपीको नेतृत्वमा अलग्गै टोली खटाएको छ। 

चोलेन्द्र पक्राउलगत्तै झापा, दमकका बासिन्दा सापकोटा भारत जान लाग्दा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए। उनी १४०० अमेरिकी डलरसहित पक्राउ परेका हुन्। नेपाल राष्ट्र बैंक ऐनअन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनिमाथि अनुसन्धान भइरहेको छ। 
 
त्यसअघि सामाखुशीस्थित सिटी स्क्वायर मलमा पनि छापा मारिएको थियो। उक्त प्रसङ्ग पनि इनम–चोलेन्द्र प्रकरणसँगै सम्बन्धित थियो। उक्त मल बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका फरार अभियुक्त गुप्तलाल भूसाल (रोशन) प्रमुख लगानीमा बनेको हो।

यसअघि पक्राउ परेका सुशीलका भाई दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले उनीमाथि अवैध रूपमा आर्जन गरेको सम्पत्ति वैध बनाउने (मनी लाउन्डरिङ) गम्भीर आरोपमा पक्राउ गरी अनुसन्धान तथा मुद्दा दायर गरेको छ। अमेरिका, थाइल्यान्ड, अस्ट्रेलिया, दुबई) मा अवैध सम्पत्ति खरिद गरेको तथा अर्बौँ रुपैयाँ बराबरको गैरकानुनी वित्तीय कारोबार गरेको आरोप पनि उनिमाथि छ।

नेपाल सकारले सुशील भट्टलाई २०७७ साउन १९ मा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। त्यो बेला केपी ओली प्रधानमन्त्री थिए। त्यसअघि २०७५ सालमा पनि ओली प्रधानमन्त्री हुँदा उनि राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका थिए। 

सुदूरपश्चिमको कैलाली घर भएका उनका नियुक्ति पनि योग्यताको विषयमा विवादित हुँदै आएका थिए। नियुक्तिअघि उनी र उनका भाइ (दीपक भट्ट) विदेशी बहुराष्ट्रिय कम्पनी तथा ठेकेदारहरू (जस्तै: चिनियाँ र अन्य विदेशी कम्पनी) का स्थानीय एजेन्टका रुपमा काम गरेको आरोप थियो। त्यस्तै  ठूला विकास निर्माणका आयोजनाहरूमा विदेशी एजेन्सीको भूमिकामा रहेका व्यक्तिलाई नै देशको ठूला आयोजना र वैदेशिक लगानी व्यवस्थापन गर्ने निकाय (लगानी बोर्ड) को प्रमुख बनाउँदा 'स्वार्थको द्वन्द्व' हुने भन्दै व्यापक आलोचना भएको थियो।