नेपालगन्ज। बौद्धमार्गी हुँदै ‘शान्ति’को गीत गाएर संसारभरि चर्चित एउटा नाम हो- आनी आनी छोइङ डोल्मा। उनको वास्तविक नाम छोइङ डोल्मा लामा मोक्तान हो।
मुडुलो टाउको अनि हँसिलो र ओजपूर्ण चमकदार अनुहार, यो एउटा ‘भिक्षुणी’को बिम्बमात्रै होइन संसारभरि नारी शक्ति र शान्तिका प्रतीकका रुपमा समेत स्थापित भइसकेको नाम हो आनी।
‘फूलको आँखामा फूलै संसार…’ आनी स्वारांकित यो गीतले जति विश्वभरि चर्चा पायो त्यो भन्दा धेरै नेपाल अनि नेपाली बौद्धामार्गीहरूलाई परिचित गराउने एउटा माध्यम पनि बन्यो।
यिनै आनीको काँधमा अब ‘विश्व सम्पदा’को जिम्मेवारी थपिएको छ।
युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत एक नेपाली सम्पदा हो- लुम्बिनी। यसैको विकास, प्रदवर्द्धन र त्यसको पहिचानलाई जोगाइराख्नका लागि सरकारले गठन गरेको विकास कोषको उपाध्यक्ष पदको जिम्मेवारी अब आनीको काँधमा पुगेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल(गनेश)को प्रस्तावमा असोज ३० गते मन्त्रिपरिषद् बैठकले उनलाई कोषको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम उनलाई उक्त पदमा मनोनीत गरिएको मन्त्रालयले जनाएको छ। ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको हुनेछ।
लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार पर्यटनमन्त्री अध्यक्ष रहने यो कोषको उपाध्यक्ष प्रमुख प्रशासकीय पदाधिकारीको जिम्मेवारीसहित कार्यकारी पद हो।
लुम्बिनी विकास कोषको उपाध्यक्ष पद लामो समयदेखि रिक्त थियो। नयाँ नियुक्तिसँगै लुम्बिनी क्षेत्रको विकास, व्यवस्थापन तथा प्रशासनिक कामले गति लिने अपेक्षा गरिएको छ। यसअघि विवादित डा. ल्हारक्याल लामा उक्त पदमा थिए। तत्काली प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० सालमा उनलाई नियुक्त गरे पनि विभिन्न विवादमा मुछिएपछि उनले राजीनामा दिएका थिए।
पारिवारिक अनि घरेलु हिंसासँग लडेर बाल्यकाल बिताएकी आनीको जीवनको सुरुवात आफैंमा संघर्षपूर्ण थियो। आनी छोइङ डोल्माको जन्म सन् १९७१ जुन ४ मा काठमाडौँको बौद्धमा भएको थियो। बाल्यकाल निकै कष्टकर रह्यो। घरायसी हिंसा र बुबाको शारीरिक यातनाबाट बच्नका लागि उनले सानै उमेरमा आध्यात्मिक बाटो रोजिन्। १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्। बौद्ध धर्मका गुरु टुल्कु उर्गेन रिन्पोछेबाट बौद्ध दर्शनमा दिक्षित भएकी उनि बौद्ध मन्त्र र धार्मिक संगीतको अध्येता पनि हुन्। धार्मिक र आध्यात्मिक यात्रासँगै उनि गायनमार्फत अन्तर्राष्ट्रिय रूपमा पनि चिनिइन्। बौद्ध भजन तथा मन्त्रलाई आधुनिक संगीतको प्रस्तुतिमार्फत विश्वभर पुर्याएकी उनलाई ‘सिङ्गिङ नन’ अर्थात् भिक्षुणी गायिकाका रूपमा विख्यात छिन्।
संगीतसँगै उनी शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा पनि सक्रिय छिन्। भिक्षुणीहरूको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले उनले नन्स वेलफेयर फाउन्डेसन तथा आर्य तारा स्कुल स्थापना गरेकी छन्। आमाको स्मृतिमा आरोग्य फाउन्डेसन स्थापना गरी मिर्गौलाका बिरामीलाई उपचार सेवामा सहयोग पुर्याउँदै आएकी छन्। बालबालिकाको स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद्मा परेकाहरूलाई सहयोग गर्ने अभियानमा समेत उनि जोडिएकी छिन्।
उनको आत्मकथा ‘सिङ्गिङ फर फ्रिडम’ विभिन्न भाषामा अनुवाद भएको छ। सामाजिक सेवा र योगदानका लागि उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेकी छन्।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र प्रवर्द्धनका लागि नेपाल सरकारले सन् १९८५ मा लुम्बिनी विकास कोष गठन गरेको थियो। सन् १९७८ मा तयार गरिएको गुरुयोजनाअनुसार लुम्बिनी क्षेत्रको विकास तथा व्यवस्थापन गर्दै आएको कोषको कार्यक्षेत्र लुम्बिनी उद्यानमा मात्र सीमित छैन। बुद्धसँग सम्बन्धित तिलौराकोट, देवदह र रामग्रामलगायतका ऐतिहासिक तथा पुरातात्त्विक स्थलको संरक्षण र प्रवर्द्धन पनि यसको जिम्मेवारीमा पर्छ। युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थल तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्नु कोषको प्रमुख उद्देश्य हो।
यद्यपि आनीको नियुक्तिसँगै उनका कतिपय विवादित मुद्दाहरू पनि सतहमा आएका छन्। स्थानीय सरोकारवालाहरूले यो नियुक्तिको विरोध गरेका छन्।
योसँगै आनीका कतिपय मुद्दाहरू पनि विचाराधीन छन्। उनको नागरिकता प्रमाणपत्र पनि विवादित छ भने विदेशबाट आएको रकमको स्रोत नखुलेको भन्ने विवादमा पनि उनि तानिएकी थिइन्।
रोल्पामा अटो खस्दा दुईजनाको मृत्यु, प्यूठान कारागारभित्रै मृत भेटिए कैदी
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?