धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’


सेतोखरी सेतोखरी   ५२ मिनेट अगाडि
धनगढीबाट रविले भने ‘कारागारमा गरेकाे भाकल पूरा गर्न धार्मिक यात्रामा निस्किएकाे हुँ’

नेपालगन्ज। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कञ्चनपुर हुँदै भारततिर लागेका छन्। श्रीमतिसहित धनगढी विमानस्थल उत्रिएका लामिछानेले त्यहाँ सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिएका थिए। त्यहाँबाट उनि महाकालीस्थिति नेपाल भारत सिमाना गड्डाचौकीसम्म सडकयात्राबाटै पुगेका थिए। 

यसपालिको आफ्नो भारतयात्रा विशुद्ध पारिवारिक र धार्मिक रहेको भन्दै उनले यसलाई राजनीतिसँग नजोड्न पनि सञ्चारकर्मीलाई अपिल गरे। 

‘म कारागारमा हुँदै नै भाकल गरेको थिएँ। त्यो पूरा गर्नका लागि पहिला नै जाने योजनामा थिएँ। तर व्यस्तताले मिलेन। अहिले मिलेको त्यही भएर समय निकालेर जान लागेको हुँ’ उनले भने ‘यो धार्मिक आस्था र विश्वास पनि हो। मेरो पारिवारिक संस्कार पनि हो। परिवार अलिकति आध्यात्मिक भएर पनि हो।’

उत्तराखण्डको नैनीतालको कैंचीधाम र कामाख्यादेवीको दर्शन गर्नसमेत पुग्नेछन्। कामाख्यादेवीको मन्दिर आसामको गुवाहाटीमा छ। 

यसपालिको भ्रमण पारिवारिकमात्रै भएकाले भारतमा कुनै पनि राजनीतिक भेटघाट नहुने पनि उनले प्रस्ट पारे।
  
आफ्नो भारत भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाट नहुने स्पष्ट पार्दै सभापति लामिछानेले भ्रमणलाई लिएर राजनीतिक रूपमा खिचडी नपकाउन आग्रह गरे ।

‘कहिलेकाहिँ व्यक्तिगत र राजनीतिक जीवनका कुरालाई अलग्याउनसक्नुपर्छ। त्यो अलग्याउने काम सञ्चारकर्मी साथीहरूको पनि हो। कुनै राजनीतिक भेटघाट छैन। कसैलाई खिचडी नपकाउन पनि अनुरोध गरें’ उनले भने ‘यो मेरो असाध्यै व्यक्तिगत भ्रमण हो।’