दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’

लुम्बिनीमा आनी नियुक्तिको विवाद र विरोध


सेतोखरी सेतोखरी   ४० मिनेट अगाडि
दलाई लामासँग जोडिएको आनीको अर्को परिचय ‘तिब्बती बौद्ध भिक्षुणी’

नेपालगन्ज। निर्वासित बौद्धधर्म गुरु दलाई लामाले नै ‘तिब्बती बौद्ध भिक्षुणी’ भनेर बधाई दिएपछि लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति भएकी आनी छोइङ डोल्मा थप विवादमा तानिएकी छिन्। 
सरकारले नियुक्त गरेपछि उनका आचरण, विगतका आर्थिक विवादहरू र आर्थिक अपचलनका विषयमा विवादित भन्दै स्थानीयले विरोध गरिरहेका बेला आनीलाई ‘तिब्बती बौद्ध भिक्षुणी’ चिनाइएपछि विवादको अर्को चरण सुरु भएको हो। 

यद्यपि लामाले उनलाई आफैले बधाई दिएका छैनन्। तर उनको मुखपत्र मानिने एउटा तिब्बती अनलाईन संस्करण ‘भ्वाइस अफ टिबेट’ले लामा र आनी जोडिएको तस्बिरसहित उनलाई बधाई सन्देश प्रकाशित गरेको छ।

त्यसमा उनलाई लामाबाट दिक्षित ‘तिब्बती बौद्ध भिक्षुणी’का रुपमा चिनाइएको छ। ‘तिब्बती बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई नेपालको लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरिएको छ’ त्यसमा लेखिएको छ। तिब्बती शरणार्थी परिवारमा जन्मिएकी र तिब्बती बौद्ध परम्पराअनुसार अध्ययन गरेकी भिक्षुणी (बौद्ध आनी) का रूपमा उनलाई चिनाइएको छ। 

सरकारले गत असोज ३० गते आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। तर विगतमा भएका नागरिकता, सम्पत्ति शुद्धिकरण र बैङ्किङ कारोबारजस्ता मुद्दाहरूलाई लिएर उनि विवादमा तानिएकी थिइन्। 

लुम्बिनी बचाउ महाअभियानजस्ता लुम्बिनीमा सक्रिय कैयौ सामाजिक संघसंस्थाहरूले समेत उनको नियुक्तिको विरोध गरेका छन्। महाअभियानले त उनको नियुक्ति खारेज नहुँदासम्म चरणवद्ध आन्दोलनका कार्यक्रमहरूसमेत घोषणा गरिसकेको छ। 

सरकारले उपाध्यक्षसहित विभिन्न १२ जना पदाधिकारीका यसअघि नै आवेदन आह्वान गरेको थियो। त्यसका लागि विभिन्न पदमा ७ सयभन्दा धेरै आवेदन परेको थियो। र उपाध्यक्षका लागिमात्रै १५० भन्दा निवेदन परेका थिए। तर आनी भने निवेदन नदिएकामध्यबाट छानिएकी हुन्।

आनी आफैले उपाध्यक्ष बन्नका लागि आफूले सरकारलाई निवेदन नदिएको स्वीकार गरेकी छिन्। सरकारको आग्रहलाई आफूले स्वीकार गरेको भन्दै पवित्र जिम्मेवारीबाट पछि नहट्ने उनले जनाएकी छिन्। 

आनीको नियुक्तिलाई लिएर भइरहेको विरोधका बारेमा सरकार भने अहिलेसम्म केही बोलेको छैन। 

बौद्ध धर्म, दर्शन र शास्त्रबाट दिक्षित आनी पारिवारिक कलह सहन नसकेर १३ वर्षकै उमेरमा गुम्बा छिरेकी थिइन्। त्यहिँबाट दिक्षित आनी पछि आफ्नो गायन क्षमताका कारण संसारभरि चिनिइन्। ‘फूलको आँखामा फूलै संसार’ भन्ने उनको स्वरांकनको गीत संसारभरि विभिन्न भाषामा चर्चित भयो। त्यसमै आधारित उनको जीवनको पुस्तक पनि प्रकाशित छ। 

सन् १९७१ मा काठमाडौंमा एक तिब्बती शरणार्थी परिवारमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा नगी गुम्बा प्रवेश गरेकी हुन्। तुलसी रिनपोछेको संरक्षणमा बौद्ध दर्शन र सांगीतिक जप (मन्त्र) को शिक्षा लिएकी उनले पछि आफ्ना भजन र गायकीमार्फत अन्तर्राष्ट्रिय ख्याति कमाइन्।

सांगीतिक यात्राका साथै उनले शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणका क्षेत्रमा पनि योगदान पुर्‍याउँदै आएकी छन्। विशेष गरी बौद्ध आनीहरूको शिक्षा र स्वास्थ्य सुधारका लागि उनले 'नन्स वेलफेयर काउन्सिल' र 'आर्य तारा स्कूल' स्थापना गरेकी छन्। साथै, आफ्नी आमाको स्मृतिमा मिर्गौला रोगीहरूको उपचारका लागि 'आरोग्य फाउण्डेशन' को समेत स्थापना गरेकी छन्।
यद्यपि, पछिल्ला केही वर्षहरूमा काठमाडौंस्थित चिनियाँ दूतावासद्वारा आयोजित कार्यक्रमहरूमा सहभागिता जनाएको तथा चिनियाँ अधिकारीहरूको सहयोगमा मानसरोवर प्रस्थान गरेको विषयलाई लिएर तिब्बती शरणार्थी समुदायभित्र उनको भूमिकालाई लिएर आलोचना पनि हुने गरेको छ।