बाँकेमा नेकपा कार्यकर्ताद्वारा काँग्रेस नेतामाथि आक्रमण

सभापति किरणको हात भाँचियो, दर्जनौं नेता कार्यकर्ता घाईते


बाँकेमा नेकपा कार्यकर्ताद्वारा काँग्रेस नेतामाथि आक्रमण

नेपालगन्ज: बाँकेको खजुरा गाउँपालिकामा नेकपाका स्थानीय नेता कार्यकर्ताले काँग्रेस जिल्ला सभापति किरण कोइराला लगायतका नेताहरूमाथि आक्रमण गरेका छन् ।

खजुराको सितापुरस्थित नेपाल रेडक्रस सोसाईटीको सभाहलमा हिमाल, पहाड तराई, मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तगर्त दोस्रो चरणको कार्यक्रम चलिरहेका बेला नेकपाका नेता तथा कार्यकर्ताले सभापति कोइराला लगायतका काँग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट सभापति कोइरालाको हात भाँचिएको छ । आक्रमणमा दर्जनबढी काँग्रेस नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

नेकपाका स्थानीय नेता तथा कार्यकर्ता मुमबहादुर ओली, पारस मल्ल, निमबहादुर ओली, निर्मल खत्री, लोके र सुनिल भनिने दुई पुरा नामथर नखुलेका १३/१४ जनाको समूह रहेका व्यक्तिले काँग्रेसको कार्यक्रमस्थलमा नै प्रवेश गरी सभापति कोइराला लगायतका नेतामाथि सांघातिक हमला गरेको काँग्रेस बाँकेद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

काँग्रेस बाँके सभापति किरण कोइरालाको हस्ताक्षरमा जारी उक्त बिज्ञप्तीमा जागरण अभियानमा नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले आफुहरूको ज्यानै लिने अभिप्रायका साथ आक्रमण गरेको उल्लेख छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रतिपक्ष दलको जागरिण कार्यक्रमलाई विथोल्ने, बदनाम गर्ने र सरकारको आडमा सुनियोजित रूपमा आक्रमण गरी नेकपाका कार्यकर्ताले आपराधिक चरित्र प्रदर्शन गरेको पनि उक्त बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सभापति कोइरालाद्वारा जारी बिज्ञप्तीमा शान्तिपूर्ण सञ्चालन गरिएको जागरण अभियान विथोल्दै नेकाका नेता कार्यकर्तामाथि आक्रमण गर्ने नेकपाका खजुरास्थित नेता कार्यकर्तालाई तत्काल कानूनी दायरामा ल्याई कारवाही गरिनुपर्ने माग गरिएको छ ।

सरकारमा रहेको दलको आडमा उसमा कार्यकर्ताले यसरी आपराधिक गतिविधी गर्दा प्रतिपक्ष दलका नेता कार्यकर्ता मात्र नभई आमनागरिक असुरक्षित भएको भन्दै उक्त बिज्ञप्तीमा सबैको जिउधाको सुरक्षाको माग समेत गरिएको छ ।

काँग्रेसले वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गते देखि देशव्यापी हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरणको दोस्रो चरणको अभियान थालनी गरेको थियो ।

आक्रमणकारी नेकपाका कार्यकताले ‘यो हाम्रो क्षेत्र हो यहाँ का“ग्रेसले कार्यक्रम गर्न पाउँदैन’ भन्दै काँग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्तामाथि सुनियोजित एवं सांघातिक हमला गरेको बिज्ञप्तीमा उल्लेखछ ।

यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली का“ग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ । राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा कांग्रेसले लिएको छ विज्ञप्तिमा उल्लेख छ ।

सरकारले काँग्रेस नेता कार्यकर्तासहित आम नागरिकको जिउधनको सुरक्षाको प्रत्याभूीत नगर्ने र खजुरामा भएको उक्त घटनामा संलग्न्माथि तत्काल सार्वजनिक रूपमा कारवाही नगरे काँग्रेसले सरकारका बिरूद्ध चरणबद्ध कडा आन्दोलनको घोषणा गर्न बाध्य हुने पनि बिज्ञप्तीमा चेतावनी दिइएको छ ।

सुरक्षाको ग्यारेन्टी र सभापति कोइराला लगायतका काँग्रेस नेता कार्यकर्तामाथि भएको आक्रमणमा संलग्नलाई कारवाहीको माग गर्दै बाँके काँग्रेसले बिहीबार साँझ नै बाँकेका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र समेत बुझाएको छ । का“ग्रेसले जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत नेकपालाई आग्रह गरेको छ ।