भेरी अस्पतालमा उपचारार्थ नवजात शिशुको मृत्यु


भेरी अस्पतालमा उपचारार्थ नवजात शिशुको मृत्यु

नेपालगन्ज:नेपालगन्जको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पातल नेपालगन्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सतगतिका लागि आफन्तको जिम्मा लगाएको थियो ।

भेरी अस्पतालको प्रसूति कक्षमा खटिएका कर्मचारीको चरम लापरबाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पु¥याएपछि जीवित देखिदाँ शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

६ सय ग्राम तौल रहेको महिना नपुगेको शिशु(छोरी)को अस्पतालको एनआईसियु कक्षमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको हो ।
शिशुको मृत्यु भएपछि परिवार र आफन्तले शनिबार बिहानैदेखी अस्पतालमा आन्दोलन समेत गरेकाछन् । अस्पतालको चरम लापरबाहीका कारण उपचारार्थ शिशुको मृत्यु भएको उनीहरुको बुझाई छ ।

एनआइसुमा उपचारार्थ मृत्यु भएको शिशु । तस्विर: सेतोखरी

शुक्रबार बिहान प्रसूति कक्षमा खटिएका नर्सले जीवितै रहेको नवजात शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए । जाजरकोट, छेडागाड नगरपालिका–९ की २० वर्षीय कमला अधिकारीले शुक्रबार बिहान साढे पाँच बजे शिशु जन्माएकी थिइन् । नर्मल जन्मिएको शिशु केही घण्टापछि शिशुको मृत्यु भइसकेको भन्दै प्रशुती कक्षमा कार्यरत कर्मचारीले अभिभावकलाई बुझ्न लगाएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालले ज्यूँदै शिशु मरेको भनेर कमलाका पति मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर सतगत गर्न बुझाएको थियो । मृत्यु भइसकेको भनिएको शिशुलाई गाड्न अस्पतालका कर्मचारीले दुई हजार मागेपछि अधिकारीले रकम नदिने भन्दै नेपालगन्ज बुलबुलियास्थित हिन्दु मसानघाट लगेका थिए ।

मसानघाटमा शिशुलाई गाड्न भनी खाल्डो खनेर तयार पारियो । गाड्ने तयारी भइरहेका बेला मसानघाटकी कर्मचारी कलावती नेपालीले शिशुलाई देखाउन भनिन । कालो प्लास्टिकको झोलाबाट मिलनले शिशु निकालेर कलावतीलाई देखाए ।

कलावतीले शिशु जिउँदै रहेको भनेपछि मिलन रुँदै शिशुलाई लिएर फेरि भेरी अस्पताल पुगेका थिए । घटनाका बारेमा विस्तृत बताउदै कमलाका श्रीमान मिलनले भने –घटनापछि अस्पताल प्रशासनले आफ्नो बचाउ गरिरहेको छ । अस्पतालको लापरबाहीका कारण छोरीको मृत्यु भयो । दोषीलाई कानूनी कारबाही गरिनुपर्छ ।

शुक्रबार अस्पतालले मृत घोषणा गरेको शिशु । तस्विर/ सेतोखरी

पछिल्ला दिन भेरी अस्पतालमा देखिएको यस्ता विकृती, वेथिती र अस्पतालको गैरजिम्मेवारीका कारण सर्वसाधरणले सास्ती भोग्दै आएकाछन् । अस्पतालले हचुवाका भरमा गर्ने निर्णयका कारण विरामीले सरल र सुलभ स्वास्थ्य उपचार पाउन सकिरहेका छैनन् ।

बेला–बेलामा हुने यसखाले घटनाले पश्चिम नेपालकै पुरानो र विश्वासिलो अस्पताल भेरी अस्पतालको छवि धमिलो हुदै गएकोछ । भने गल्ती गर्ने कर्मचारीलाई न त अस्पताल प्रशासनले नै कारबाही गरेको छ । न त यस्ता गल्ति दोहोरिन नदिन कुनै आवश्यक गदम चालिएकोछ ।

भेरी अस्पतालको चरम लापरबाहीका कारण ज्यूँदै बच्चालाई मृत घोषित गरेको समाचार सार्वजनिक भएपछि भेरी अस्पतालले आफ्नो गल्ती ढाकछोप गरिरहेकोछ ।

प्रिम्याच्युयर बच्चाहरुमा पुर्वानुमान गर्न गाह्रो हुने भन्दै भेरी अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरि आफ्नो गल्ती ढाकछोप गरेको हो । ‘समय अवधि नपुगी जन्मिने र कम तौल भएका बच्चाको अवस्था चुनौतीपूर्ण हुन्छ । शारीरिक अवस्थाको कारणले गर्दा हुन पुगेको घटना हामी सवैका निम्ति पाठ हुन पुगेकोछ ।

यसप्रकारका असावधानीहरु भविष्यमा हुन नदिन अस्पताल प्रतिबद्धता जाहेर गर्दछु भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईँद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

घटनापछि अस्पताल प्रशासनले आफ्नो बचाउ गरिरहेको छ । परिवार र आफन्तले भने अस्पतालमा लापरबाही गर्ने कर्मचारीलाई कानूनी कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।