‘सभापतिको हात भाँच्नेलाई कारबाही नहुदाँसम्म आन्दोलन जारी रहन्छ’: सभापती देउवा


‘सभापतिको हात भाँच्नेलाई कारबाही नहुदाँसम्म आन्दोलन जारी रहन्छ’: सभापती देउवा

नेपालगन्ज: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीतापुर घटनाका दोषीलाई कारबाही नगर्दासम्म आन्दोलन जारी रहने बताएका छन् । नेपाली काँग्रेस, बाँकेले  शनिबार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सभापति देउवाले यस्तो बताएका हुन् ।

बाँकेको खजुरा गाँउपालिका वडा नम्बर १, सीतापुरमा बिहीबार भएको घटनाको विरोध जनाउदै काँग्रेस पार्टी सभापती देउवाले सो घटनालाई सदनमा समेत उठाउने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘हाम्रो जिल्ला सभापतिको हात भाँच्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । दोषीलाई कारबाही नहुँदासम्म हामी आन्दोलनमा रहन्छौं ।
दोषीलाई प्रहरीले अविलम्व कानूनी दायरामा ल्याओस्, नत्र सदन चल्न दिदैनौं ।’ सभापति देउवाले बाँकेका प्रमुख जिल्ला अधिकारी तथा बाँके प्रहरी प्रमुख एसपीप्रति आक्रोश समेत पोखेका छन् ।

नेपालगन्जमा आयोजित सभालाई सम्बोधनका क्रममा अधिकांश समय प्रजिअ र एसपीलाई उनले गाली गर्नमै खर्चिएका थिए । सभापती देउवाले भने, ‘प्रजिअ र एसपीलाई फोन गरेको डेढ घण्टासम्म किन प्रहरी पठाइएन ? घटनाको अनुसन्धान हुनुपर्छ ।’ उनले प्रहरी प्रशासन पार्टीको नेतृत्वमा चल्ने भन्ने प्रश्न पनि गरे । सभापति देउवाले घटनाको सुक्ष्म अनुसन्धान हुनुपर्नेमा जोड दिँदै गुण्डाहरुलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाली काँग्रेस, बाँकेकी सभापति किरण कोइरालाले ‘प्रहरी निरीह र लाचार थियो । उनीहरुले गुण्डाहरुलाई नै सहयोग गरे । बाँके प्रहरी एसपीको तुरुन्त सरुवा हुनुपर्ने बताइन् ।’ बाँके काँग्रेस सभापति कोइरालाले सम्बोधनका क्रममा भनिन्, मुद्दा दर्ता गर्ने क्रममा पनि एसपीले धम्की दिए । सभापति कोइरालाले देउवातर्फ हेर्दै जोडदार आग्रह गरिन्, ‘सभापतिले सबैलाई माया गरिदिनु पर्छ ।’

जागरण अभियानका केन्द्रीय परीवेक्षक विद्या खनाल, क्षेत्रीय नेता नक्की खाँ, माया पुनलगायतले भ्रष्टाचारको विरोध गर्दा आक्रमण भएको भन्दै आक्रोश पोखेका थिए ।सितापुरस्थित नेपाल रेडक्रस सोसाईटीको सभाहलमा काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तगर्त दोस्रो चरणको कार्यक्रम चलिरहेका बेला नेकपाका नेता तथा कार्यकर्ताले सभापति कोइराला लगायतका काँग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट सभापति कोइरालाको हात भाँचिएको छ । आक्रमणमा दर्जनबढी काँग्रेस नेता तथा कार्यकर्ता समेत घाइते भएका छन् ।

यस्तै नेपाल प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा समेत नेपाली काँग्रेसका सभापती देउवाले बाँकेका काँग्रेस सभापतिसहितका नेता तथा कार्यकर्ता घाइते हुने गरी भएको घटनाको विरोध जनाउदै दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका थिए ।

दाङबाट नेपालगन्ज आएका देउवाले शनिबार नेपालगन्जको विपी चोकमा समेत घटनाको विरोधमा दीप प्रज्वलन गरेको नेपाली काँग्रेस बाँकेका सदस्य सुधाम्सु कोइरालाले बताए ।

यता बाँके प्रहरीले नेपाली काँग्रेस बाँके सभापति किरण कोइरालामाथि आक्रमण गर्ने तीन जनालाई पक्राउ गरेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरुलाई शुक्रबार राती साढे दुई बजे बाँकेको खजुराबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी विरबहादुर ओलीका अनुसार निर्मल खत्री, लोक बहादुर शाही र रोशन सिंह ठकुरीलाई पक्राउ गरेको हो ।

विहीबार बाँकेको खजुरा गाउँपालिकामा नेकपाका स्थानीय नेता कार्यकर्ताले काँग्रेस जिल्ला सभापति किरण कोइराला लगायतका नेताहरूमाथि आक्रमण गरेको घटनामा उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख ओली बताउँछन् ।

पक्राउ परेका तीनैजनालाई यतिवेला जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहले सेतोखरीलाई जानकारी दिए ।

नेपाली काँग्रेस बाँकेले २६ गते बिहीबार बाँकेको खजुरा गाँउपालिका वडा नम्बर १, सीतापुरमा आयोजित जागरण अभियानको कार्यक्रममा नेकपा समर्थित युवाहरुको एक समूहले स्थानीय अस्लम भाट नाम गरेका युवाहरुलाई खोज्दै कार्यक्रमस्थलमा प्रवेश गरेपछि विवाद भएको थियो ।