नेपालगन्ज: ज्यूँदै अवस्थाका नवजात शिशुलाई मृत घोषणा गरेको घटना छानबिनका लागि भेरी अस्पताल नेपालगन्जले एक समिति बनाएको छ ।
अस्पतालकी स्त्री तथा प्रसुती विभाग प्रमुख डा. कल्पना थापाको संयोजकत्वमा शनिबार छानविन समिति गठन गरिएको हो । पीडित पक्ष र अस्पताल प्रशासनबीच शनिबार दिउँसो भएको वार्ताका क्रममा छानविन समिति बनाउने सहमती भएको थियो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाईका अनुसार छानविन समितिले सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको लागि अस्पताल प्रशासनलाई सिफारिस गर्नेछ ।
भेरी अस्पताल प्रसुती कक्षमा कार्यरत कर्मचारीको लापरबाहीका कारण शुक्रबार ज्यूँदै शिशुलाई मृत घोषणा गरेर सदगतका लागि पठाएपछि अस्पतालको चरम लापरबाही बाहिरिएको थियो ।
सतगतका लागि लगिएको नवजात शिशु जिवित भएको थाहा पाएपछि शिशुका पिता मिलन अधिकारीले नेपालगन्जको बुलबुलियास्थित मसानघाटबाट फर्काएर भेरी अस्पतालमा भर्ना गराएका थिए । उपचारका क्रममा शिशुको शुक्रबार मृत्यु भएपछि परिवार तथा आफन्तले आन्दोलन गरेका थिए ।
शिशुका परिवार तथा आफन्तले आन्दोलन गरेपछि भेरी अस्पताल सत्य तथ्य छानविन गर्न समिति गठन गरेको हो । पीडित पक्ष र अस्पतालविच बसेको वर्तामा अस्पतालले यस्ता घटना आगामी दिनमा नदोहोर्याउने प्रतिवद्धता जनाउदै पीडित पक्षलाई राहत स्वरुप किरिया खर्च वापत २५ हजार रुपैयाँ पनि उपलब्ध गराउने सहमती गरेकोछ ।
वार्तामा मृतक नवजात शिशुका बुवा मिलन अधिकारी, उनका आफन्त, नेपाली काँग्रेसका युवा नेता एवम् वडा सदस्य रमेश तिमिल्सिना, अनेरास्ववियुका जिल्ला अध्यक्ष मोहित शाह, निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. चापागाई, अस्पतालका अन्य कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
६ सय ग्राम तौल रहेको महिना नपुगेको शिशु(छोरी)को अस्पतालको एनआईसियु कक्षमा उपचारका क्रममा शुक्रबार राती मृत्यु भएको थियो । शिशुको मृत्यु भएपछि परिवार र आफन्तले शनिबार बिहानैदेखी अस्पताल क्षेत्रमा आन्दोलन गरेका थिए ।
शुक्रबार बिहान प्रसूति कक्षमा खटिएका नर्सले जीवितै रहेको नवजात शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए । जाजरकोट, छेडागाड नगरपालिका–९ की २० वर्षीय कमला अधिकारीले शुक्रबार बिहान साढे पाँच बजे शिशु जन्माएकी थिइन् । जन्मिएको केही घण्टापछि प्रसूति कक्षमा कार्यरत कर्मचारीले शिशुको मृत्यु भइसकेको भन्दै अभिभावकलाई बुझाएका थिए ।
दुई वर्षअघि पनि अस्पतालका नर्सको लापरबाहीका कारण यस्तै प्रकृतिको घटना भएको थियो ।
थप समाचार