‘नेकपाको निर्देशन होइन, कार्यकर्ता संलग्न हुनसक्छन्’: गृहमन्त्री बादल


‘नेकपाको निर्देशन होइन, कार्यकर्ता संलग्न हुनसक्छन्’: गृहमन्त्री बादल

File Photo

काठमाडौं : बाँके घटना सत्तारुढ पार्टीको निर्देशनमा नभएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताउदै नेकपाका कार्यकर्ता संलग्न हुने सक्ने उनले स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको आईतबार बसेको बैठकमा काँग्रेस सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले सत्ताधारी पार्टीले काँग्रेसको कार्यक्रम बिथोल्ने निर्णय नगरेको बताए । उनले भने, ‘नेकपाका कार्यकर्ता हुनसक्छ तर, नेकपाको नीति निर्देशन होइन ।’

यो घटना राजनीतिक रुपमा भएको भन्दा देशभरका स्थानीय तहमा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुनसक्नेतर्फ गृहमन्त्रीले काँग्रेसको ध्यानाकर्षण गराए । उनले भने, ‘यो घटनालाई राजनीतिक रुपमा नलिन सम्बद्ध सबैमा अनुरोध गर्न चाहन्छु ।’

उनले घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताए । केही पक्राउ परिसकेको भन्दै गृहमन्त्रीले दोषीहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

राष्ट्रिय जागरण अभियान अन्तरगत २६ भदौमा बाँकेको खजुरामा काँग्रेसले आयोजना गरेको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाच्चिएको छ भने अरु केही घाइते भएका छन् ।

घटनामा संलग्न भएको आरोपमा निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको गृहमन्त्री थापाले जानकारी दिए । ‘घटनामा संलग्न जोकोहीलाई कानून कारबाही गर्न मन्त्रालय दृढ छ,’ थापाले भने ।