घरघरै जर्कीन पम्प
नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोल पम्प छैन् । तर, यहाँका घरैपिच्छे पेट्रोल खरिदबिक्रिको कारोबार हुँदै आएको छ ।
घरघरै जर्कीनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोबार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् ।
भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिदै गएको नरैनापुर अहिलेपनि बाँकेका अन्य स्थानीय तहको तुलनामा दुर्गम मान्दिै आएको छ । यहाँ विकासका पूर्वाधार छैनन् । हुलाकी सडक भर्खरै जोडिँदै छ । विद्युत् पुगेको छैन ।
केही वडामा सोलार जडान गरिएको छ । तर, सडक सञ्जालले जोडिएपछि यहाँ यातायात साधन बढेका छन् । तर, गाउँपालिकामै व्यवस्थित पेट्रोल पम्प छैन् ।
गाउँमा सवारी साधन बढेसँगै तेलको माग हुन थालेपछि नरैनापुर–२ का ६३ वर्षे जेब्रिल खाँले पाँच वर्षदेखि घरमै पेट्रोल बेच्दै आएका छन् । तर, उनी आफैं सुरक्षित महसुस भने गर्न नसकेको बताउँछन् ।
‘पेट्रोलछेउ नै ओछ्यान लगाएर सुत्छु,’ उनले भने, ‘प्राय: त पेट्रोल चोरी हुने गर्छ ।’ उनकाअनुसार चोरी हुन नदिन पेट्रोलछेउमै सुत्ने अधिकांश व्यापारी कसैले रिसले आगो लगाइदिने हो कि भन्ने त्रासमा हुन्छन् ।
नरैनापुर–२ का ४० वर्षे श्रीस बाबाले दुई वर्षदेखि पेट्रोल बेच्न थालेका छन् । एक लिटर पेट्रोलमा १० देखि २० रुपैयाँसम्म नाफा देखेपछि यहाँका अधिकांश गाउँले यसकै व्यवसायीमा संलग्न भइरहेका छन् । दैनिक १० देखि २० लिटर पेट्रोल बिक्री हुने गरेको उनीहरु बताउँछन् । ‘आगोबाट जोगाउनु मुख्य चुनौती छ,’ उनले भने, ‘ठूलै पम्प खोलेर व्यवस्थित रूपमा व्यापार गर्न लगानी छैन् ।’
खुलेआम पेट्रोल बेच्नु सिंगो गाउँ असुरक्षित हुनु हो । यस्तो अवस्थामा स्थानीय तह बढी सचेत हुनुपर्ने देखिएको छ । खुला पेट्रोल
व्यापारले सबैभन्दा बढी खतरा आगलागीको हुने नेपाल आयल निगम बाँकेका प्रमुख नवविनोद पोख्रेल बताउँछन् ।
उनकाअनुसार गुणस्तरीय पेट्रोल नपाउनु, मात्रामा घटी हुनुले ग्राहक ठगिने सम्भावना पनि उत्तिकै छ । स्थानीय तह, प्रहरी प्रशासन र निगमले यस विषयमा जनचेतना फैलाउनु जरुरी रहेको उनी बताउँछन् । तर, नरैनापुरमा स्थानीय तह प्रहरी प्रशासन सबै यस बिषयमा उदासिन रहदै आएका छन् ।
खुलेआम पेट्रोल बेच्दा बस्ती नै असुरक्षित भएको नरैनापुर ईलाका प्रहरी कार्यालयका प्रमुख भूपालसिंह ठकुरी बताउँछन् । तर, यसको रोकथामका लागि उनी मौन बसिरहेका छन् । प्रशासनले खुलेआम पेट्रोल बेच्नेलाई रोक लगाउन निर्देशन दिए पनि प्रहरीकै उदासिनता र गाउँपालिकाको मौनताले यहाँ खुलेआम पेट्राल बिक्रि रोकथाम हुन सकेको छैन् ।
नरैनापुरको सिंगो गाउँपालिकामै पेट्रोल पम्प नभएको गाउँपालिका अध्यक्ष मोहदम इश्तियाक शाह बताउँछन् । घरघरमा असुरक्षित पेट्रोल बिक्रि नियन्त्रणको सम्भावना नभएको भन्दै उनले सुरक्षित बिक्रिका लागि सचेतना आवश्यक रहेको बताए ।