नेपालगन्ज : गैरकानूनी काममा सक्रिय जोकोहीलाई कानूनी दायरामा ल्याउने र यस्ता गतिविधी रोकथाम गर्ने जिम्मेवारी पाएको प्रहरी नै आर्थिक प्रलोभनमा लुप्त भएपछि सीमानाकामा तस्करी मौलाएको छ ।
पछिल्लो समय नेपालगन्जमा अबैद्य बस्तुको आर्यात मात्रै नभई नक्कली कुखुराको समेत बिगिबिगी मच्चिएको छ ।
केही दिनअघि बाँकेको कोहलपुरमा भारतीय ब्रोइलर कुखुरामा रङरोगन गरी लोकल भन्दै बिक्रि वितरण गरिरहेको अवस्थामा प्रहरीले कुखुरा व्यवसायी सहित केही कुखुरा बरामद गरेको थियो ।
कुखुरा आयातमा प्रतिबन्ध भए पनि आफुहरु छड्के गस्तीमा जाँदा समेत तस्करीको कुनै पनि बस्तु फेला नपर्ने गरेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौला बताउँछन् ।
उनी भन्छन् ‘हामी कार्यालयबाट निस्कने बित्तिकै सूचना लिक भएर हो वा के हो छड्के गस्तीमा जाँदा केही पनि भेटिदैन ।’ उनको योे भनाईबाटै स्पष्ट हुुन्छ कि कार्यालयको गोप्य सूचना समेत तत्कालै तस्कर समक्ष पुग्छ ।
खुला सिमानाका कारण भारतबाट बोईलर कुखुरा नेपालगन्ज भित्रिदा नेपाली कुखुरा पालक किसान मर्कामा परेका छन् ।
कुखुरा तस्करहरुले पर्वलाई लक्षित गरी भरातबाट ब्रोइलर कुखुरा विभिन्न नाका हुँदै साइकल, मोटरसाइकलमा राखेर नेपालगन्ज ल्याउदा नियन्त्रण गर्ने निकायले चासो नदिको नेपाली कुखुरा व्यावसायी किसानको गुनासो छ ।
भारतमा उत्पादन गरिएका कुखुरा हार्मोनको इन्जेक्सन लगाएर २५ दिनमै ३ किलो हुने गरेका छन् ।
नेपालमा भने ४५ दिन पाल्दा पनि २ किलो हुन कठिन हुन्छ । भारतमा जिउदो १ सय २० प्रतिकिलो यता २ सय २० पर्ने भएको कारण तस्करी बढेको एक व्यवसायी बताउँछन् ।
‘हामीले तस्करी रोकिदिनु प¥यो भनेर प्रहरी प्रशासनमा हारगुहार गर्दा प्रहरी प्रशासनबाटै तस्करलाई सूचना लिक गरी उल्टो हामीलाई नै धम्काउन लगाइन्छ,’ उनले भने, ‘सबै अडडाका घुमुवाले नै तस्करलाई सूचना दिएर तस्करी गराएपछि हाम्रो लगानीको सुरक्षा कसले गरिदिने ?’
अहिले भारतबाट नेपालतर्फ कुखुरा तस्करी नभएको प्रहरी दाबी छ । तर, केही दिनअघि कोहलपुरमा बरामद गरिएका अबैद्य र नक्कली भारतीय कुखुराबाटै पनि प्हरीले झुट बोलको साबित हुन्छ ।
भारतबाट नेपाल ल्याउन लागेका पंक्षी तथा पंक्षीजन्य उत्पादन रोक्ने गरेका छौं । कहीँकतै लुकाईछिपाई ल्याइने गरेको भए त्यसलाई समेत रोकिने बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंह बताउँछन् ।