-मदन ढुङ्गाना-
२०७६ साल भदौको पहिलो साता नेपालगञ्जको सदरलाइन पुग्दा त्यहाँ एउटा झकिझकाउ सुनचाँदी पसल भेटियो । सदरलाइनको राम सहारे ज्वेलर्स अहिले त्यहाँको चल्तीको गहना पसल हो ।
त्यसो त यो पसल आजभन्दा १४ वर्ष अगाडि पनि उत्तिकै चल्तीको पसल थियो । फरक यत्ति थियो कि त्यतिबेला यो पसल न्यू दीप ज्वेलर्सको नाममा सञ्चालित थियो ।
त्यतिबेला यो पसल नेपालगञ्जका सुनचाँदी व्यापारी जगदेव सोनार, उनका भाइ बलराम सोनार, अर्का भाइ निलम सोनार र जगदेवका छोरा दीपक सोनारले चलाइरहेका थिए । र, नेपालगञ्जमा यो चल्तीको सुनचाँदी पसल थियो । यद्यपि उनीहरु सबैले आफूलाई ‘हेमकार’ भन्दथे ।

नेपाली हिन्दु समाजमा सोनारलाई तल्लो जातिका रूपमा लिइन्थ्यो । जसका कारण पढेलेखेका जगदेवका भाइ बलराम सोनारले आफ्नो पारिवारिक थरलाई सोनारबाट ‘हेमकार’ भन्ने बनाए ।
संस्कृतमा ‘हेम’ भनेको सुन र ‘कार’ भनेको काम गर्ने व्यक्ति भन्ने बुझाउँछ । पढेलेखेका बलरामले सोनारभन्दा समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गराउनका लागि पारिवारिक थर नै हेमकार लेख्न सुरु गराएका थिए ।
सदरलाइनको यही हेमकार परिवारले चलाएको दीप ज्वेलर्स त्यहाँको चल्तीको सुनचाँदी पसल थियो । पसलबाटै यो परिवारको आम्दानी पनि राम्रो थियो । उनीहरुको आफ्नै घर थियो र राम्रो आम्दानी गर्ने पसलसमेत थियो यो ।
...
२०६२ साल फागुन २४ गते बिहान । जगदेव हेमकारको घरमा कुनै चहलपहल थिएन । बिहान सबेरै ५ बजेदेखि नै मानिसहरु उठ्ने घरमा बिहान ७ बजेसम्म पनि कुनै चहलपहल नदेखिएपछि छिमेकीहरु जगदेवकै एक पारिवारिक सदस्यसहित घरभित्र पसे ।
जब छिमेकीहरु घरभित्र पसे, त्यहाँ भयानक दृश्य देखे । हेमकार परिवारको ५ जनाको घाँटी रेटेर हत्या भएको थियो ।

बाँके जिल्ला साविकको नेपालगञ्ज नगरपालिका वडा नम्बर १५ सदरलाइनमा आफ्नै घरमा सुनचाँदी व्यवसायी दीपक हेमकर, उनका बुवा जगदेव हेमकार, आमा सीतादेवी हेमकार, हजुरआमा गुलाबदेवी हेमकार र घरमै काम गर्ने रामशनिश्वर खुना (चौधरी)को हत्या भएको थियो । हत्याको समयमा दीपक हेमकारकी श्रीमती दीपा सोनी हेमकार र बहिनी प्रिती हेमकार घरबाहिर भएकाले उनीहरु भने बाँच्न सफल भए । हेमकार परिवारको हत्या हुँदा दीपा सोनी उपचारका लागि भन्दै उनी माइतीघर भारतको लखनउ पुगेकी थिइन् भने प्रिती हेमकार जागिरको सिलसिलामा बुटवलमा रहेकी थिइन् । जसको कारण उनीहरु दुई जना बाँचे पनि अन्य सबै सदस्यको हत्या भयो ।
द्वन्द्वकालमा भएको उक्त घटनालाई सुरुमा लुटपाटका उद्देश्यका साथ भएको डकैती र कर्तव्य ज्यान भनियो । तत्कालीन समयमा माओवादीले उक्त घटना गराएको भन्दै दोष माओवादीप्रति थुपरियो ।
यद्यपि माओवादीले केही समयपछि नै विज्ञप्ति जारी गर्दै उक्त घटनामा माओवादीको कुनै संलग्नता नरहेको भन्दै घटनाको थप अनुसन्धान गर्न पनि आग्रह गर्यो ।
...
२०६२ साल फागुन २३ गते राति नै हेमकार परिवारका ५ जना सदस्यको घाँटी रेटी हत्या गरिएको थियो । हत्याको समयमै करिब २८ लाख रूपैयाँ बराबरको सुनचाँदी र गहना लुटेर लगिएको थियो । हत्याराहरु घरमै पाहुना बनेर आएका थिए । उनीहरुले मिष्ठान्न भोजन गरे, अनि मध्यरातमा परिवारका सबै सदस्यको घाँटी रेटेर हत्या गरे । हत्याराले सुतिरहेका प्रत्येक व्यक्तिलाई खानामा केही मिसाएर वा केही सुँघाएर बेहोस बनाई पालैपालो हत्या गरेका थिए । प्रहरीको रिपोर्टलाई मान्ने हो भने हत्या भएकाहरु कसैले पनि प्रतिकार गरेको देखिँदैन । यसको मतलब उनीहरु बेहोसी अवस्थामै थिए । त्यसकारण पनि हत्याराले पान खाँदै आराम गर्दै पालैपालो सबैको हत्या गरेका छन् । अनि बिहानपख घरको पछिल्लो पट्टिको झ्यालबाट घरमै रहेको साडीको डोरी बनाएर त्यही डोरीबाट तल झरेर ‘फरार’ भएका थिए ।
हेमकार परिवारको हत्याबारे प्रहरीले बिहान ७ः१५ बजे जानकारी पाएको थियो । त्यो लगत्तै पूरै नेपालगञ्जभरि हत्याकाण्डबारे हल्ला फैलिइसकेको थियो । पूरै नेपालगञ्ज त्यतिबेला सदरलाइनमा थियो ।
प्रहरीले घटनास्थलको फोटो खिच्ने, हतियार बरामद गर्ने लगायतको ‘अनुसन्धान’को काम गर्यो ।
घटनाको समयमा दीपक हेमकारका काका अर्थात् जगदेव हेमकारका भाइ अनिल हेमकार भन्ने निलम सोनार भारतको लखनउमै थिए । जगदेवको परिवारका सदस्यहरुको हत्या भएकाबारे स्थानीय बिनी टण्डनले फागुन २४ गते बिहान ८ः३० बजे फोन गरेर अनिललाई जानकारी दिन्छिन् । जानकारी पाएपछि अनिल नेपाल आउन खोज्छन् । तर आफूसँग तत्काल पैसा नभएकाले स्थानीय एक व्यक्तिसँग ५ हजार भारतीय रूपैयाँ सापट माग्छन् र उनी बिहान ९ः३० बजे ट्याक्सी लिएर परिवारसहित रूपइडियातर्फ लाग्छन् । त्यही बेला अनिलले दीपक हेमकारका ससुरा तथा दीपा सोनीका पिता किशोरीलाल सोनीलाई फोन गरी घटनाबारे जानकारी गराउँछन् ।
बिहान करिब ९ः३० बजे किशोरीलाल सोनीलाई फोन गर्दा घटनाबारे पहिले जानकारी नभएको, आफू लखनउको निरालानगरमा रहेको भन्दै अनिललाई जाँदै गर्न र आफू पनि केही समयमै हिँड्ने बताउँछन् ।
किशोरीलालले त्यसो भनेपछि अनिल त्यहाँबाट ट्याक्सी चढेर कहीँ पनि नरोकिई ट्याक्सीमै रूपैडिया आउँछन् । त्यसपछि त्यहाँबाट अर्को गाडी चढेर नेपालगञ्जको अस्पतालमा पुग्छन्, जहाँ हेमकार परिवारको शव राखिएको थियो ।
तर अनिल कहीँ नरोकिई नेपालगञ्ज आइपुग्दा दिउँसो २ः३० देखि ३ बजेको समयमा आइपुग्छन् । तर अनिल त्यहाँ पुग्दा किशोरीलाल सोनी पहिले नै अस्पतालमा पुगिसकेका हुन्छन् । अनिलले परिवारका अन्य सदस्यहरुलाई किशोरीलाल कुनबेला आइपुगेछ भनेर सोध्दा बिहान ११ बजे नै आइपुगेको भन्ने सुन्छन् ।
अनिललाई अचम्म लाग्छ, लखनउको निरालानगरबाट सीतापुर रोडमा रहेको घरमा पुगेर तयारी गरी हिँड्दा कम्तीमा १ घण्टा लाग्छ । अनि त्यहाँबाट १ सय ९० किलोमिटर टाढा रहेको नेपालगञ्ज आइपुग्न कम्तीमा पनि ४ घण्टा लाग्छ । त्यसकारण ९ः३० मा फोनबाट जानकारी पाएको व्यक्ति नेपालगञ्ज आइपुग्न कम्तीमा पनि साढे ५ घण्टा अर्थात् अपरान्ह ३ बजे अगाडि नेपालगञ्ज आइपुग्न सक्दैन । तर किशोरीलाल ११ बजे नै नेपालगञ्ज आइपुग्नु शङ्काको विषय भएको र किशोरीलाल सोनीले नै उक्त घटना गराएको र निज सोनी रूपैडिया आसपास रहेको निलम सोनारको दाबी छ ।
....
यस्तो थियो हत्याको ‘मास्टरप्लान’, यसरी भयो दीपाको बिहे दीपकसँग
घटनामा संलग्न अनुसन्धान अधिकारीको रिपोर्टलाई आधार मान्ने हो भने दीपा र दीपकको विवाह नै हत्या गरी सम्पत्ति हडप्ने मास्टरप्लानका साथ भएको थियो ।
दीपकको विवाहको उमेर भइसकेको थियो । त्यसकारण जगदेव हेमकार आफू र भाइहरुलाई प्रयोग गरी छोरा दीपकका लागि केटी खोज्न थालेका थिए । केटी खोज्ने र हेर्ने क्रममा जगदेव पहिले लखनउको मौलानी भन्ने स्थानमा पुगेका थिए । त्यहाँ एक डाक्टरकी छोरीलाई जगदेवले हेरे । उनी अलिक मोटी भएको कारण जगदेवलाई खासै मन परेन । त्यसपछि जगदेवले विश्वाँमा रहेको किशोरीलाल सोनीको घरमा पुगी छोराका लागि वधु हेरे । किशोरीलालको माइली छोरी दीपा सोनी सुन्दर युवती थिइन् । दीपालाई हेर्ने्बित्तिकै जगदेवलाई मन पर्यो । त्यसपछि उनी घर फर्किए र केटीहरुको बारेमा कुरा गरे ।
दीपा अत्यन्तै सुन्दर युवती भएको बुवाको बयानपछि दीपक हेमकार आफै वधु हेर्नका लागि आमालाई साथमा लिएर विश्वाँ पुगे । दीपालाई देख्नेबित्तिकै दीपकले मन पराए । अनि विवाहका लागि कुरा अगाडि बढाउन भने ।
यहीबीचमा किशोरीलाल सोनी नेपालगञ्ज आएर दीपकको सम्पत्ति तथा आर्थिक हैसियतबारे जानकारी लिए । तत्कालीन समयमा नै करिब ५ करोडको सम्पत्ति देखेपछि किशोरीलालले जसरी पनि छोरीको विवाह दीपकसँग नै गराउने योजना बनाउँछन् । विवाहबारे टुङ्गो लगाउन पटक पटक दबाब दिन्छन् ।
तर सोनी परिवारको बारेमा बुझ्ने क्रममा दीपकका काका अनिल हेमकारले किशोरीलालविरुद्ध हत्या र लुटपाटको मुद्दा चलिरहेको थाहा पाए । त्यस्तो थाहा पाएपछि उनले भतिज दीपक र दाइ जगदेवलाई ‘रिस्ता’ जोड्न ठीक नहुने सुझाव दिए ।
तर दीपाको सौन्दर्यमा मोहित बनेका दीपकले आफूले बिहे गरे दीपासँगै गर्ने, नगरे कोहीसँग पनि नगर्ने भनेर जिद्दी गर्न थालेपछि हेमकार परिवारले बाध्यतामै २०६० सालमा दीपक र दीपाको विवाह गराइदिएको थियो ।
जतिबेला दीपाको दीपकसँग विवाह भएको थियो, त्यतिबेला दीपाको उमेर २० वर्ष थियो भने दीपकको उमेर ३२ वर्ष भएको थियो ।
...
दीपकको घरमा दीपा बुहारी बनेर आएपछि त्यसको केही समयमा नै दीपा र सासू–ससुराबीच खटपट सुरु भएको थियो । नेपालगञ्जमै रहँदा पनि दीपा अन्य पुरुषसँग हिँड्ने गरेको, पार्कमा घुम्न जाने गरेको परिवारमा मिल्न नसकेको भन्दै बारम्बार झगडा हुने गरेको थियो ।
विवाहको केही समयमै दीपा गर्भवती बनिन् । दीपकको उमेर पनि ३२ वर्ष भइसकेको भन्दै दीपक तथा परिवारले सन्तान जन्माउन आग्रह गरे । तर दीपाले सन्तान जन्माउन इन्कार गरिन् र २०६१ सालको वैशाख÷जेठमा पहिलो पटक गर्भपतन गराइन् ।
यता परिवारमा टकराव भइ नै रह्यो । पारिवारिक टकराव बढी हुन थालेपछि दीपा र दीपकले एउटा भान्सा तथा जगदेव, सीतादेवी, गुलाबदेवी र घरमा काम गर्नेले अर्को भान्सा सुरु गरे ।
२०६१ सालकै अन्त्यतिर दीपा फेरि अर्कोपटक गर्भवती बनिन् । तर त्यतिबेला पनि उनले सन्तान जन्माउन इन्कार गरिन् र गर्भपतन गराइन् । यही विषयलाई लिएर परिवारमा झगडासमेत भयो । त्यही झगडापछि किशोरीलाल सोनीले भारतबाट केही आपराधिक समूहका व्यक्ति ल्याएर धम्क्याए ।
किशोरीलालको पृष्ठभूमि बुझेका हेमकार परिवारले किशोरीलालविरुद्ध केही गरेनन् । बरु पारिवारिक विषय भएको भन्दै यसलाई मिलाउने बताए ।
यद्यपि दीपाको पृष्ठभूमि र क्रियाकलापप्रति हेमकार परिवारको पनि आपत्ति कायमै थियो । दीपा लखनउमै हुँदा पनि दुई जना प्रेमी रहेको जानकारी पाएका परिवारले नेपालगञ्जमै पनि स्थानीय युवाहरुसँग बढी घुलमिल गरेको उनीहरुलाई मन परेको थियो । त्यसकारण दीपालाई निगरानीमा राख्नुपर्ने भन्दै दीपकलाई भनिरहेका थिए ।
पछिल्लो पटक दीपा २०६२ माघमा फेरि गर्भवती बनिन् । गर्भवती बने पनि दीपाले यस पटक पनि सन्तानलाई जन्म दिन इन्कार गरिन् र आफूखुशी २०६२ साल माघ २३ गते नेपालगञ्ज मेडिकल कलेज पुगेर गर्भपतन गराइन् ।
गर्भपतन गराएको करिब १ महिनापछि २०६२ साल फागुनको २० गते दीपा आफूलाई सञ्चो नभएको भन्दै माइतीघर भारतको लखनउ गइन् ।
यहीबीचमा दीपकको परिवारको हत्या गर्ने र सम्पत्ति हत्याउने योजना बन्यो । योजनाअनुसार दीपाका बुबा किशोरीलाल सोनीले अन्य ३ जना कन्ट्याक्ट किलर जलाल खाँ, अलि हुसेन कसाई र फिरोज अन्सारीलाई साथमा ल्याएर फागुन २१ गते राति नेपालगञ्जको सिमाना रूपैडियाको होटल मुस्कानमा बस्छन् ।
उनीहरु सबै एउटै कोठामा बस्छन् र फागुन २२ गते ११ बजे होटलबाट निस्कन्छन् । अनि उनीहरु योजना बमोजिम सम्पूर्ण तयारी गरी नेपालगञ्जमा कफ्र्यु लाग्ने समय रातको ९ बज्नुभन्दा केही समय अगाडि ज्वाइँ दीपक हेमकारको घर सदरलाइन पुग्छन् ।
घरमा पाहुना बनेर आएका सम्धी र उनका साथीहरुको हेमकार परिवारले स्वागत गर्छन् । त्यसपछि घरमा मीठा मीठा परिकार पकाएर खान्छन् र उनीहरु सबै सुत्नका लागि आ–आफ्नो कोठामा जान्छन् ।
उनीहरुले हेमकार परिवारको खानामा केही नसालु पदार्थ मिसाएर दिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीको दाबी छ । नसालु पदार्थकै कारण उनीहरु सबै निद्रामा रहेको बखत हत्यारा समूहले पालैपालो घाँटी रेटेर हत्या गरेको प्रहरीको दाबी छ । त्यसपछि घरमा रहेको केही सुनचाँदी र नगद लिएर हत्यारा समूह त्यहाँबाट भागेको आरोप छ ।
जब दीपा भारतबाट आइन् ...
नेपालगञ्जमा हेमकार परिवारको हत्या भएको ‘औपचारिक जानकारी’ पाएपछि दीपा, उनकी आमा र बुबा नेपालगञ्ज आउँछन् । त्यसपछि क्रियाक्रमको तेस्रो दिनदेखि नै दीपाले सम्पत्तिको खोजबिन र बिक्री वितरण सुरु गरिन् । हेमकार परिवार हत्याको केही समयमा नै दीपाले दीपकको नाममा रहको अधिकांश सम्पत्ति आफ्नो नाममा ल्याउन थालिन् । जगदेवका भाइ बलराम हेमकरसँग मिलेर उनले सुन पसल पनि खोल्न थालिन् । तर सुन पसल खोल्नुको उद्देश्य सुनको बिक्री गर्नु मात्रै रहेको थियो ।
....
नेपालगञ्ज क्षेत्रमा हेमकार हत्यामा संलग्न किशोरीलाल सोनी नै हो भन्नेबारे चर्चा सुरु भयो । किशोरीलालको आपराधिक पृष्ठभूमि दीपाको रबैया आदिका कारण पनि यो हत्या दीपा र किशोरीलालकै योजनामा भएको नेपालगञ्जबासीको शङ्का थियो । सदरलाइन क्षेत्रमा उनीबारे शङ्का र चर्चा सुरु हुन थाल्यो ।
मुख बन्द गराउन स्थानीय युवासँग दीपाको मोजमस्ती
घटनामा आफू र आफ्नो बुबाको संलग्नताबारे खोजबिन र कुराकानी सुरु भएपछि डराएका किशोरीलाल सोनी र दीपा सोनीले एउटा योजना बनाए । सदरलाइन क्षेत्रका चल्तीका युवालाई हातमा लिने ।
त्यतिबेला सदरलाइन क्षेत्रका ४ जना युवाहरु परिवर्तित नाम सुब्बा, बिण्टु, मुन्ना र ऐतराजलाई साथमा लिए । त्यसपछि पहिले २ जनालाई दीपाको बुबा किशोरीलाल सोनीले काठमाडौँ लिएर आए । बिन्टु र ऐतराजलाई काठमाडौँ ल्याएर किशोरीलालले सुन्धाराको एउटा होटलमा राखे । करिब ४ दिनसम्म किशोरीलाले ती युवाहरुलाई डान्सबार, क्लबm दोहोरीदेखि सुरा र सुन्दरी सबै व्यवस्था मिलाए । अनि आफू नेपालगञ्जमै बस्नुपर्ने भएकाले सहयोग गर्नसमेत भने ।
किशोरीलाल काठमाडौँमै रहेको अवस्थामा दीपाले नेपालगञ्जकै अर्का युवा मुन्नालाई लिएर काठमाडौँ आइन् । कहिल्यै मदिरा नखाने दीपाले त्यसबेला मुन्नासँगै बसेर मदिरा खाइन् भने मुन्नासँग ४ दिन सँगै बसेर ऐयासी गरिन् । दीपासँगको ऐयासीको सम्बन्धमा मुन्नाले अनुसन्धान अधिकृतलाई पनि सबै कुरा बताएका थिए ।
नेपालगञ्जका चल्तीका ३ जना युवाको मुख बन्द गराइयो । तर नेपालगञ्जकै अर्का व्यक्ति सुब्बाले दीपाको ऐयासीबारे जानकारी पाए । किशोरीलालले २ युवालाई लिएर गएको र दीपाले पनि एक युवासँग मस्ती गरेको थाहा पाएपछि सुब्बाले पनि मौका खोजे । अनि उनले हल्ला गर्न थालेपछि दीपाले फेरि सुब्बासँग पनि केही दिन मोजमस्ती गरेर नेपालगञ्ज फर्किइन् ।
नेपालगञ्जका यी ४ युवा त्यस्ता व्यक्तिहरु थिए, जसले भन्दा सदरलाइन क्षेत्रमा आन्दोलन गराउन वा आन्दोलन रोक्न सक्थे । उनीहरुमध्ये २ जना स्थानीय गुण्डा चरित्रका व्यक्ति थिए भने एकजना स्थानीय युवा नेता थिए । अनि एक जना चाहिँ बोलीबचन राम्रो भएको ऐयासी युवा थिए । यी ४ जनालाई कब्जामा लिएपछि जे पनि हुनसक्थ्यो । त्यही कारण किशोरीलाल सोनी र दीपा सोनीले उनीहरुसँग मोजमस्ती गर्दै र गराउँदै मुख बन्द गराएका थिए ।
आफूले दीपासँग काठमाडौँ पुगेर मोजमस्ती गरेकोबारे स्थानीय एक युवाले प्रहरीसँगको कुराकानीमा पनि स्वीकार गरेका छन् ।
त्यसपछि ९ महिना नेपालगञ्ज बसेका किशोरीलाल सोनी र दीपा सोनीले आफ्नो अधिकारको सबै सम्पत्ति बेचेर भारत फरार भएका थिए ।
त्यसपछि मात्रै हत्यामा दीपा र किशोरीलाल सोनीको संलग्नता रहेको भन्दै खोजबिन सुरु हुन थालेको थियो ।
भारतमा अर्को बिहे गरेर सासूको हत्या
नेपालमा श्रीमान दीपक हेमकारसहित परिवारका ५ सदस्यको हत्या गराउन सफल भएकी दीपाले भारतमै सन् २०१६ मा आशिष त्रिपाठीसँग विवाह गरिन् ।
विवाहको केही समयपछि नै दीपाले आशिषको सम्पत्तिको विवरण राख्न थालिन् । यहीबीचमा आशिषको आमा अर्थात् दीपाकी सासूको खानामा विष हालेर हत्या गरिन् । लामो समयदेखि बिरामी रहेकी आशिषकी आमाको मृत्यु सामान्य नै भनियो ।
दीपाले आशिषको सम्पत्तिबारे सबै जानकारी राखेपछि आपराधिक समूहका व्यक्तिहरुसँग सम्पर्क गर्दै हत्याको योजना बनाएको आशिषले जानकारी पाए । यसबारेमा दीपा र उनको परिवारलाई के हो भनी सोद्धा छोरीलाई तनाव नदिन र दिएमा नेपालमा जस्तै घटना गराइदिने भन्दै किशोरीलाल सोनीले आशिष त्रिपाठीलाई धम्की दिए ।
त्यसपछि डराएका आशिष त्रिपाठीले लखनउको डिस्ट्रिक मजिस्ट्रेट र प्रहरी प्रमुखलाई नै घटनाबारे सबै जानकारी गराई सुरक्षाको माग गरे । त्यो निवेदनमा उनले किशोरीलाल सोनी सन् १९९९ देखि २००१ सम्म जेलमा समेत बसेको र मुद्दा अझै पनि विचाराधीन रहेको जानकारी गराए । त्यसलगत्तै आशिष त्रिपाठीलाई लखनउ प्रहरीले सुरक्षा दिएर राख्यो ।
हेर्नुहोस, आशिष त्रिपाठीले दिएको निवेदन

त्यसो त किशोरीलाल सोनीविरुद्ध भारतमा चलिरहेको मुद्दा पनि रातोपाटीले प्राप्त गरेको छ । सोनीविरुद्ध भारतमै हत्या र डकैतीमा ३ वटा मुद्दा चलिरहेको छ ।
हेर्नुहोस् उजुरी विवरण ।

जब नेपाल प्रहरीले २०७५ साल असोज १३ गते राति किशोरीलाल सोनीलाई भारतबाटै पक्राउ गरेर ल्यायो । त्यसलगत्तै दीपा सोनी भने भारतबाट भागेर दक्षिण अफ्रिका पुगेकी छिन् । उनी अहिले पनि दक्षिण अफ्रिकामै रहेको नेपाल प्रहरीले बताएको छ ।
(अनुसन्धान अधिकृतसँगको कुराकानीमा आधारित) -रातोपाटीबाट साभार
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत
भारतीय स्थल सेनाप्रमुखलाई नेपालकाे मानार्थ महारथी