नेपालगन्ज : नेपाली काँग्रेसका सचेतक पुष्पा भुसालले कम्युनिष्ट पार्टीले लोकतान्त्रिक शासनलाई स्वीकार गरेर नबसे जनताले तह लगाउने बताएकी छन् ।
दोस्रो चरणको राष्ट्रिय जागरण अभियान समापनको अवसरमा नेपाली काँग्रेस बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
विश्वमा कम्युनिष्ट पार्टी ढल्दै गएको स्मरण गराउँदै उनले नेपालमा पनि कम्युनिष्ट पार्टीको उल्टो दिनगन्ती सुरु भईसकेको दाबी गर्दै भनिन्–‘लोकतान्त्रिक शासनलाई स्वीकार गरेर बस्न सक्छन् भने बसेहुन्छ, नत्र ३ वर्षपछि कम्युनिष्टलाई जनताले तह लगाउने निश्चित छ ।’
नेपालमा लोकतन्त्र ल्याउनको लागि काँग्रेसले खेलेको भूमिका ऐतिहासिक रहेको भन्दै कम्युनिष्ट अतिवादले लोकतान्त्रिक मूल्य, मान्यतालाई कुल्चिदै गएको उनले दावी गरिन् ।
उनले भनिन्–‘नेपाली काँग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गीय सुशिल कोईरालाको नेतृत्वमा बनेको संबिधानलाई कम्युनिष्ट
सरकारले घाईते बनाई लोकतन्त्रको खम्बालाई भत्काउन सरकारले विभिन्न खालका विधेयक समेत ल्याएको छ ।’
मुलुकको वर्तमान अवस्थाका बारेमा बोल्दै काँग्रेस सचेतक भुसालले वर्तमान सरकार भ्रष्टचारको दलदलमा फस्दा बालुवाटार लगायत देशभरका
सरकारी र सार्वजनिक जग्गा जमिनमा समेत सत्तारुढ दलका नेताले आँखा लगाएको आरोप लगाइन ।
सरकारले गरेको भ्रष्टाचार, अनियमितता, अराजकता विरुद्ध जनतालाई जानकारी गराउँदा बाँकेको सीतापुरमा नेकपाका कार्यकर्ताले काँग्रेसको कार्यक्रममा आक्रमण गरेको घटनालाई विरोध जनाउदै उनले भनिन्, ‘सितापुरमा भएको आक्रमण सभापति किरण कोईरालामाथीको आक्रमण मात्र होईन्, सिंगो काँग्रेसमाथीको आक्रमण हो, यो लोकतन्त्रमाथीको आक्रमण हो ।’

जागरण अभियानका केन्द्रिय प्रतिनिधी बिद्याप्रसाद खनालले नेपालमा कम्युनिष्ट पार्टीको आयु धेरै नभएको बताए । काँग्रेस र कम्युनिष्टको बीचमा धेरै भिन्नता भएको बताउँदै उनले भने, ‘कम्युनिष्टको बिचार नेपालबाट उब्जिएको विचार होईन, यिनीहरु चिन, रुस जस्ता देशको विचार ल्याउँछन्, हामी नेपाली माटोमा जन्मिएका विपी कोईरालाको विचारलाई बोकेर हिडिरहेका छौं ।’
काँग्रेस बाँकेका सभापति किरण कोईरालाले मुलुकमा जनताले शान्ति, सुरक्षाको अनुभुती गर्न नपाएको बताईन् । ‘कर्मचारीको काम गर्ने मनोबल घटेको छ, ब्यापारी त्रसित भईराखेका छन्, जनता असुरक्षित छन्, पत्रकारले निर्धक्कसँग लेख्न सकेका छैनन,’ उनले भनिन् ‘यो सरकारले समृद्ध नेपाल बनाउने बेलामा नेपाली जनतालाई आक्रान्त, असुरक्षित, करको भारी थोपारेको छ ।’
सो क्रममा जागरण अभियानका केन्द्रिय प्रतिनिधी भरतबहादुर न्यौपाने, जानकीलाल बस्नेत केन्द्रिय प्रतिनिधी, नेतृ मालती सोडारी लगायतले सम्बोधन गरेका थिए ।
सभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), समाजवादी पार्टी, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी दर्जनौं ब्यक्ति काँग्रेसमा प्रवेश गरेको जिल्ला सचिव कपिलदेव शर्माले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी भुसालले सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएकी थिईन् । सभा सुरु हुनुअघि काँग्रेस पार्टी कार्यालयबाट सुरु भएको बृहत ¥यालीले नगर परिक्रमा गरि त्रिभुवन चोकमा सभामा परिणत भएको थियो ।