भगवतीको मुर्तीमा सामान तस्करी


भगवतीको मुर्तीमा सामान तस्करी

नेपालगन्ज : नेपालगन्ज भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरीले भगवतीको मुर्तीमा लुकाईछिपाई नेपाल ल्याउदै गरेको लाखौं मूल्यका सामान बरामद गरेकोछ ।

दशैंका लागि भारतबाट नेपाल ल्याउदै गरेका भगवतीको मुर्ती बोकेको ट्रयाक्टरबाट सशस्त्र प्रहरीले लाखौं मूल्यका सामान बरामद गरेको हो ।

भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार दशैंका लागि भगवतीको मुर्ती बोकेको ट्रयाक्टरबाट राजश्व छलेर नेपाल भित्र्याईरहेका ट्रयाक्टरको ट्रली चेक बेरिङ्ग २० पीस, रोटाभेटर बेरिङ्ग १० पीस, ढोकाको ह्याण्डल सेट ९ दर्जन, चिनी २ सय केजी, डाल्डा २ पेटी, चामल ५ बोरा, तेल ३ टिन र लड्डु दाना १ बोरा लगायत २५ वटा विभिन्न सामान सशस्त्रले बरामद गरेकोहो ।

सशस्त्र प्रहरीले बरामद गरेका ती सामानको ९ लाख ५० हजार मूल्य रहेको सशस्त्र प्रहरीले जनाएकोछ । भन्सार कार्यालय नेपालगन्जमा रहेको सशस्त्र प्रहरीले नियमित चेकचाँजका क्रममा उक्त सामान बरामद गरेको जनाएकोछ । बरामद गरिएका सामान मध्ये अधिकांश ट्रयाक्टर र खाद्यान्न सामाग्री रहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

दशैंको पहिलो दिन भारतको रुपैडिहा लगायतका विभिन्न स्थानबाट नेपाल ल्याइदै गरेका भगवतीको मुर्तीमा लुकाईछिपाई सामानको तस्कर भइरहेको थाहा पाएपछि सशस्त्र प्रहरीले आईतबार बेलुका चेकजाँच गरेको थियो ।

भगवतीको मुर्तीसंगै तस्करी गरि ल्याएको सामान सशस्त्रले बरामद गर्दा तस्करको नयाँ शैली बाहिरिएकोछ । चाडबाडका बेला अबैध कारोबारमा तस्करको सक्रियता झन् बढेकोछ ।