तस्करीदेखि फिरौती मागमा हतियार प्रयोग

साना हतियारको ठूलो अपराध


तस्करीदेखि फिरौती मागमा हतियार प्रयोग

नेपालगन्ज : सहजै नेपाल भित्रिने साना हतियारका कारण सीमावर्ती क्षेत्रमा अपराध बढेको छ । भारतमा सहजै पाईने यस्ता हतियारका कारण नेपाली भूमीमा अपराधको आँकडा बढ्दो छ । प्रहरी अधिकारीका अनुसार सानातिना समूहले चन्दा असुल्नका लागि धम्क्याउने, तर्साउने, लुटपाट गर्नेदेखि व्यक्ति हत्यासम्मका घटनामा साना हतियार प्रयोग भएका छन् ।

भारतसँग जोडिएका जिल्लामा हुने अधिकांश अपराधमा भारतमै निर्माण हुने साना हतियार प्रयोग हुने गरेको प्रहरीहरू बताउँछन् । प्रदेश पाँच प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेश विक्रम शाह खुला सीमाना र साना हतियार प्रहरीका लागि टाउको दुखाई भएको बताउँछन् ।
‘खुला सीमाना छ, सीमापारी भारतमै बनेका र अरु मुलुकबाट आएका हतियार सजिलै किन्न पाइन्छन्, –उनी भन्छन्–ती हतियार नेपालमा सजिलै प्रवेश गर्छन्, खुला सीमाना भएकाले रोक्न सकिएको छैन ।’

भारतमा अपराध गरेर नेपाल आउन र नेपालमा अपराध गरेर भारत जान खुला सीमानाले अपराधीलाई सजिलो बनाएको छ । यसको अफ्ठ्यारो प्रहरीले झेल्नुपर्छ । ‘अपराधीहरु सडकको बाटो आउँदैनन, खेत, झाडी भएर लुक्दै आउँछन्, यसले प्रहरीलाई कताबाट आयो र कता गयो भन्ने खोज्नै समस्या छ–उनले भने ।

प्रदेश ५ का तराईका जिल्लामा साना हतियारको प्रयोगबाट हुने अपराध बढ्दै गएको छ । संघीयता कार्यान्वयनको चरणमा संक्रमणको फाईदा उठाउँदै हतियारधारीहरु तस्करी र असुलीमा संलग्न देखिएका छन् । पछिल्लो एक वर्षमा बढ्दो हत्या घटनाले पश्चिम तराई फेरि अशान्त बन्दै गएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरी संयन्त्र कमजोर बन्दा अपराध मौलाएको सरोकारवाला बताउँछन् । कतिपय तस्करी र असुलीमा प्रहरीकै संलग्नता देखिएकाले अपराध घटना झन् रहस्यीमयी र त्रासदीपूर्ण बनेको छ । तराई क्षेत्रमा उद्योग चलाउने उद्योगी र प्रतिष्ठित व्यक्तिहरू साना हतियार र असुलीको चंगुलमा फसेका छन् ।

सामान तस्करदेखि हत्या धम्कीमा फिरौती उठाउने काममा साना हतियार प्रयोग बढेको छ । अपराध र हतियारको बिगबिगी हुदाँ सर्वसाधारणमा त्रास छ ।

व्यक्तिगत रिसईबीमा पनि हतियार प्रयोग हुनुले प्रहरीको निगरानी असफल जस्तै देखिएको छ । त्यसमाथि अपराधकर्म गरेर भारतमा लुक्न जाँदा अपराधी पक्रिन र कानूनी प्रक्रिया अघि बढाउन प्रहरीलाई सजिलो छैन ।

भारतको उत्तर प्रदेश र विहार राज्यका केही शहरहरूमा साना हतियार खुला रूपमै किन्न पाइन्छन्, त्यहाँबाट हतियार र सुटर आएर पनि अपराधिक गतिविधि गरेको देखिन्छ ।’ प्रहरी अधिकारीका अनुसार यस्ता हतियार सिमावर्ती क्षेत्रमा ५ हजारदेखि ५० हजार रूपैयाँ सम्मका किन्ने गरेको हत्यामा संलग्न भइ पक्राउ परेका अभियुक्तहरु बताउँछन् ।हतियारसँगै लागूऔषधका कारोबारी यस्ता काममा सक्रिय छन् । 

खुल्ला सीमा, डिजिटल चेकजाँचको अभाव, हतियारसम्बन्धी प्रभावकारी कानून नहुनु, सीमामा प्रभावशाली प्रविधिको अभाव, राजमार्गमा अपर्याप्त चेकिङजस्ता कारणले पनि हातहतियारहरू सहजै बाँके, बर्दियाबाट दाङ हुँदै रुपन्देही, पोखरा, काठमाडौंसम्म पुग्ने गरेका छन् । तर, बाँके, बर्दिया लगायतका यस प्रदेशको प्रहरी निकाय उदासिन छ ।

सुरक्षा निकायले भने त्यस्ता हतियार पक्रिन नसकेको देखिएकोछ । गोरूदेखि ढुंगागिट्टी तस्करमा प्रहरीका केही व्यक्तिले सहयोग पु¥याउँदा बाँकेमा हतियार र अपराध भित्रभित्रै मौलाएको छ । हतियार हुनेले चन्दा फिरौतीको धन्दा चलाउँदै आएका छन् ।

अपराध बढ्दै जाँदा सर्वसाधारणमा त्रास छ । उद्योगीहरु चन्दाबाट आजित छन् । उनीहरूले प्रहरीबाट पनि सुरक्षाको अनुभुति गर्न सकेका छैनन् ।‘प्रहरीलाई खबर ग¥यो धम्की आउन छाड्दैन, चन्दा नदिए मार्छन कि भन्ने डर, बसपार्करोडका एक व्यवसायीले भने–‘व्यवसाय गरेर बस्न समेत कठिन भयो, को मान्छे कस्तो हो भन्नै सकिन्न ।’

बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बाँकेमा पनि यस्ता हतियारको प्रयोग बढेको गुनासो आएको बताउँछन् । उनकाअनुसार साना हतियाको बिगबिगी र प्रयोग रोकथामका लागि जिल्ला मातहतका सबै प्रहरी यूनिटलाई निर्देशन र आदेश दिइसकिएको छ ।

बाँकेमा साना तथा ठूला हतियारबबाट हुने आपराधिक घटना न्यूनिकरणमा प्रहरीको सक्रियता बढेको उनको भनाई छ ।