महरा प्रकरणःशर्तसहितको राजीनामा, प्रहरीले थाल्यो अनुसन्धान


महरा प्रकरणःशर्तसहितको राजीनामा, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं–राजीनामा दिएका सभामुख कृष्णबहादुर महरा प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार पीडित भनिएकी महिलाबाट मौखिक उजुरी आएकाले प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको हो । यसै क्रममा प्रहरीले घटनास्थलबाट मदिराको बोतल, कपडा लगायतको सामग्री बरामद गरेको छ ।
प्रहरीले महिला बस्ने घरको वरिपरीको सिसिटिभी फुटेज पनि संकलन सुरु गरेको बताइएको छ ।

महराले सभामुखबाट राजीनामा दिएपछि प्रहरीलाई यस घटनाबारे अनुसन्धान गर्न सहज भएको छ । यद्यपि पीडित महिलाको तर्फबाट लिखित उजुरी नआएसम्म बिस्तृत अनुसनधान सुरु हुन नसक्ने प्रहरीले जनाएको छ ।

तत्कालका लागि दोषी वा प्रमाणकारुपमा लिइनसक्ने केही सामग्री बरामद गरिएको भएपनि लिखित उजुरी आएपछि मात्रै यस सम्बन्धमा बिस्तृत अनुसनधान हुने काठमाडौं प्रहरीले जनाएको छ । एक महिलाले बलात्कारको आरोप लगाएपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए ।
शर्तसहितको राजिनामा
यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले भनेका छन्, ‘आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान सहज जोस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु ।’

Kanti Aarogya Hospital Nepalgunj

महराले उपसभामुखलाई बुझाएको राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरिएको छ ।सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले महराको राजीनामा शर्तसहितको भएको जिकिर गरेका छन् । राजीनामा पत्रको व्यहोराबारे प्रश्न उठेपछि मल्लले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुसी हुनुपर्ने जरुरी छैन । सबै कपोलकल्पित र भ्रामक आरोपहरुबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किनुहुनेछ ।’

सभामुखले आफूमाथि लागेको गम्भीर आरोपबारे अनुसन्धानमा सघाउन छानविन अवधिसम्म सभामुखको सम्पूर्ण जिम्मेवारी छोडेर राजीनामा दिएको मल्लले बताए । ‘यसले छानविन प्रक्रियालाई सहयोग पु¥याउँछ’ उनले भनेका छन् ।

महाराले दिए राजीनामा
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

महराले आफू माथि लागेको दोषको छानविन प्रक्रिया नसकिएसम्मका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष पदबाट राजीनामा दिएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले राजीनामा दिनुपर्ने निर्णय गरेलगत्तै उनको राजीनामा आएको हो ।

महराले राजीनामा पत्रमा आफ्नो चरित्रमा गम्भीर आरोप लागेका कुराको सत्यतथ्य छानविन नहुञ्जेलसम्मका लागि पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

महराले दिएको राजीनामा सभामुख या प्रतिनिधिसभा सदस्यबाट समेत हो भन्ने खुलाइएको छैन । सत्तारुढ नेकपाले भने उनले सभामुख र प्रतिनिधिसभा सदस्य दुवै पदबाट राजीनमा दिनुपर्ने निर्णय लिएको थियो ।

महरामाथि संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएकी थिइन् । यौन दुव्र्यवहार गरेको गम्भीर आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका हुन् । मंगलवारै बालुवाटारमा भएको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलमा पनि महरालाई पदबाट राजीनामा गर्न लगाउने निचोड निकालिएको थियो ।