’भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले मद्दत गर्नेछ’
काठमाण्डौं: नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङले नेपालको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय भोजमा राष्ट्रपति सीले नेपालको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राष्ट्रपति सीले नेपाललाई चीनसँग रेलमार्गबाट जोड्ने विषयको अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले केरुङ–रसुवा–काठमाडौं जोड्ने ३० किलोमिटर लामो सुरुङमार्ग निर्माण गर्ने पनि घोषणा गरेका छन् ।
उक्त सुरुङमार्गले नेपाल र चीनबीच व्यापारमा सहयोग पुग्ने उनको विश्वास थियो । त्यसैगरी अरनिको राजमार्गलाई थप स्तरोन्नती गर्ने पनि सीले घोषणा गरेका छन् ।
राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरूलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताएका थिए । उनले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताए ।
नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उनले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गरेका थिए ।
राष्ट्रपति सीले भने, ‘हामीबीचको आधा शताब्दीभन्दा बढीको सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ ।’ चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारी र आफू विकासका चुनौतीलाई सामना गर्दै अघि बढिरहेको बताए ।
उनले भने, ‘भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ । बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ । भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ ।’ सीले चीनसँग नेपालको व्यापार घाटा कम गर्नका लागि भूमिका लेख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले हाम्रो साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गरेका थिए ।
विकास निर्माणका निम्ति हामीले तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता उनले व्यक्त गरेका थिए । आइतबार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र साझा चासोका विषयहरूमा विचार आदानप्रदान गर्ने बताए ।
सीले नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाइरहेको र नेपाल गौतम बुद्धको देश भएकाले चीनका जनता यहाँ पर्यटकका रूपमा आउने विश्वास व्यक्त गरेका थिए ।
यसैबीच, दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी भएका छन् ।
सी बसेकै होटल सोल्टी क्राउन प्लाजामा राष्ट्रपति भण्डारीले रात्रीभोज आयोजना गरेकी हुन् । सीको सम्मानमा आयोजना गरिएको रात्रीभोजमा केही नेपाली परिकारहरुको पनि व्यवस्था गरिएको थियो ।
रात्रीभोज कार्यक्रमलाई दुवै देशका राष्ट्रपतिले सम्बोधनसमेत गरेका थिए । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सीको सुस्वास्थ्यको लागि भन्दै चियर्सको प्रस्ताव गरेपछि राष्ट्रपति सीले त्यसको स्वीकारोक्तिमा ‘ग्यान्बे’ भन्दै चियर्स गरेका थिए ।
रात्रीभोजमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत सहभागी भएका थिए । रात्रीभोजका लागि परराष्ट्र मन्त्रालयले अतिथिहरुलाई ड्रेस कोड तोकेर निम्तो पठाएको थियो ।
औपचारिक भ्रमणका लागि शनिबार अपराह्न करिब ४ः४५ बजे काठमाडौं ओर्लिएका सीले शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्तासमेत गरिसकेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यक्रम छ । सो अघि सीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गर्नेछन् । चीनबाट नेपालमा भएको यो २३ वर्ष पछिकै उच्चस्तरीय भ्रमण हो ।