नेपालगन्ज : नेपाली काँग्रेस बाँकेले सीतापुर घटनाका मुख्य दोषीलाई छुट्कारा दिएको भन्दै आपत्ति जनाएको छ ।
सीतापुर घटनामा घाईते भएकी नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाका छोरा एवम् नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य शुधान्सु कोइरालाले खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुमन मल्ललाई मुख्य दोषी किटान गरी मल्लसहित १० जना विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेकोमा जिल्ला प्रहरी कार्यालय बाँकेले फितलो अनुसन्धान गरेर मुख्य दोषीलाई छुट्कारा दिएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।
पार्टी सचिव कपिलदेव शर्माद्वारा विहिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालय बाँकेले कम्युनिष्ट सरकारको दवावको कारण फितलो अनुसन्धान गरी मुख्य दोषीलाई उन्मुक्ति दिने उद्देश्यले दर्ता गरेको जाहेरीको १ नम्वरमा नाम रहेका अन्यायी सुमन मल्लको नाम जिल्ला सरकारी वकिलको कार्यालयबाट प्रमाणको अभावमा मुद्दा चलाउन नसक्ने भनी प्रहरी प्रशासन, सरकारी वकिल कार्यालय र कम्युनिष्ट सरकारको मिलेमतोमा मुख्य दोषीलाई छुटकारा दिई अन्य व्यक्तिहरुलाई मात्र मुद्दा चलाएकोप्रति हाम्रो घोर आपत्ति छ ।’
राजनैतिक दवाव र घटनाको सत्यतथ्य जाँच नगरी एकतर्फीरुपमा सत्ताको दुरुपयोग गर्दै बाँके प्रहरी प्रमुखले पार्टी सभापति लगायत अन्य नेतालाई अभद्ररुपले फोन मार्फत् धम्क्याउने कोसिस गर्नु, सत्ताको आडमा जथाभावी गर्नु, मुख्य दोषीलाइ मुद्दा नचलाउनु, फितलो अनुसन्धान गर्नु, पीडितलाइ न्याय नदिनु जस्ता घृणित कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको काँग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
काँग्रेस बाँकेले मुख्य दोषीलाई कारवाही र पीडितलाई न्यायका लागि सम्वन्धित सरोकारवाला निकाय र नेपाल सरकारसंग माग गरेको छ । आफ्नो मागको सुनुवाई नभए पुनः आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने काँग्रेसले चेतावनी समेत दिएको छ ।
गत भाद्र २६ गते खजुरा गाँउपालिका वडा नम्बर २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा नेपाली काँग्रेसको राष्टिूय जागरण अभियान अन्तर्गतको दोस्रो चरणको कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थानीय स्तरका नेता तथा खजुरा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुम बहादुर ओली, निर्मल खत्री लगायतले सभापति कोइरालाको हात भाँचिने गरी आक्रमण गरेको काँग्रेसले आरोप लगाएको छ ।