नेपालगन्ज:कोहलपुरमा प्रतिबन्धित लागूऔषध र नगदसहित चार जना पक्राउ परेका छन् । ४४ ग्राम ३ सय ८० मिलीग्राम प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जना आइतबार बेलुका कोहलपुरमा पक्राउ परेका हुन् ।
सुर्खेतको वीरेन्द्रनगर उपमहानगरपालिका वडानं.९ का ३४ वर्षीय कृष्ण बुढा, सोही ठाउँका २१ वर्षीय सबिन चौधरी, नेपालगन्ज १३ बस्ने २० वर्षीय सन्जय लोनिया र भारतीय नागरिक कासिम शेषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ ।
कोहलपुरस्थित धिताल पेट्रोलपम्प अगाडीबाट पक्राउ परेका बुढा र चौधरीको साथबाट १६ ग्राम ५ सय २० मिलीग्राम, नेपालगन्ज–२० मनिकापुरबाट पक्राउ परेका लोनियाको साथबाट १७ ग्राम ८ सय ६० मिलीग्राम र कोहलपुरको गोलपार्कबाट नियन्त्रणमा लिइएका शेषको साटबाट १० ग्राम ब्राउन सुगर र डिजिटल तराजु बरामद भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही बताउँछन् ।
चारै जनाको साथबाट एक लाख ३९ हजार १ सय ४० रुपयाँ नगद बरामद गरिएको उनले बताए । थप अनुसन्धानका लागि चारै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।