नेपालगन्जमा बाँदर आतंक, सरोकारवालाले चासो दिएनन


नेपालगन्जमा बाँदर आतंक, सरोकारवालाले चासो दिएनन

File Photo

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका भित्र बाँदरले आतंक मच्चाएकोछ । बाँदरले आतंक मच्चाउदाँ स्थानीयले सास्ती भोग्दै आएकाछन् ।
जङ्गली तथा पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचारहरु नेपालगन्जबासीले खुबै सुने । बाँदरको सास्ती प्रत्यक्ष भोगेका थिएनन् । तर, केही दिनयता नेपालगन्ज उपमहानगरपालिकाभित्र बाँदरले आतंक मच्चाउदा स्थानीयवासीले यसको समाधानका लागि स्थानीय निकायसंग समाधानका लागि गुहार मागेकाछन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१६, स्थित जयसपुरमा बादरले आतंक मच्चाएपछि बाँदरको आतंक रोक्न स्थानीय तहसँग गुहार माग गरेका हुन् ।

स्थानीय तहसंग बाँदर आतंक रोक्न माग गरेतापनि नियन्त्रण प्रयास प्रभावकारी नभएपछि स्थानीयबासीले सास्ती भोग्नुपरेको हो । जयसपुरबासी भन्छन्, ‘आतंक मच्चाउने बाँदर धपाउन खोज्दा मान्छेलाई नै आक्रमण गर्न थालेका छन् ।’ बाँदरको झुण्ड स्थानीयको घरमा पस्ने, बालनाली, तरकारीमा नोक्सानी गर्ने र मान्छेमाथि नै आक्रमण गर्न थालेपछि जयसपुरबासी हैरान भएको समसुद्दिन जसगढ बताउँछन् ।

जयसपुरको बस्तीमा पसेर बाँदरले बालीनाली उखेलिदिने, घरभित्रै पसेर खानेकुरा र अन्नपात खाइदिने र मान्छेलाई समेत टोकेर हैरान गर्न थालेको स्थानीय रोशनअली अन्सारीले बताए । केही दिनदेखि गाउँमा बाँदर आतंक बढ्दै गएको अन्सारीको भनाई छ । बाँदरको डरले हातमा लठ्ठी बोकेर हिड्डुल गर्नुपर्ने र बस्नुपर्ने अवस्था रहेको अन्सारीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

जयसपुर र त्यस आसपास क्षेत्रका किसानहरु वाली जोगाउन रातदिन बारीमै जाग्राम बस्ने गरेका छन् । बाँदरले बारीमात्र नभएर घरभित्रै प्रवेश गरी भण्डारण गरिएको अन्न तथा पकाएर राखेको खानासमेत खाइदिने गरेको स्थानीयहरुको भनाई छ ।

बजारबाट घरको लागि भनेर लिदै गरेको तरकारी तथा बिभिन्न खानेकुरा समेत खोसेर खाने गरेका बाँदरलाई धपाउन स्थानीयलाई हम्मेहम्मे पर्ने गरेको छ । ‘बारीमा फलेका काउली, टमाटर, मेवा, फर्सी, लौका, आलु लगायतका बालीनाली तथा तरकारी सखापै पारिदिने गरेकाले हैरान छौं,’ नेपालगन्ज–१६ का वडाध्यक्ष हनिफ जोलाहले भने, ‘कतिपय किसानले बाँदरको डरले खेतबारी नै बाँझै राख्न थालेका छन् ।’

पछिल्लो समय त बाँदरले बालबालिका, बृद्धबृद्धा तथा जोसुकै एक्लै हिडेको देखेमा आक्रमण समेत गर्ने गरेको स्थानीय बताउँछन् । बाँदरको आक्रमणबाट केही स्थानीय घाइते भएको वडाध्यक्ष जोलाहले बताए । बाँदरको डरले बालबालिकालाई एक्लै घर बाहिर छोड्ने अवस्था नरहेको स्थानीय मुन्नीकली अन्सारीले बताए । ‘घरमै राखेको खानेकुरा त खाइदिन्छन्, झन् बालीनालीको के कुरा ?’ उनले भनिन् ।

बाँदर आतंकबाट स्थानीयहरु हैरान भएर वडामा गुनासो आउन थालेपछि समस्या समाधान गर्न बिभिन्न उपाय अपनाए पनि समाधान गर्न नसकिएको वडाध्यक्ष जोलाहको भनाइ छ ।

बाँदर आतंक रोक्न जिल्ला प्रशासन, उपमहानगरपालिका, वन डिभिजन कार्यालय लगायतका निकायसँग समन्वय तथा पत्राचार गरेको भए पनि कुनै निकायले सहयोग नगरेको वडा नम्बर १६ का सचिव सलाउद्धीन अन्सारीले गुनासो गरे ।

नेपाल–भारत सीमा नजिकको जङ्गलबाट आएका दुई तीन सय बाँदरले जयसपुर क्षेत्रमा वितण्डा मच्चाइरहेकोछ । ती बाँदरहरुको बासस्थान नै जयसपुर गाउँ नजिकैको जंगलमा हुने गरेको छ ।

अझ ती बाँदरहरुको समूहबाट छुट्टिएर निस्किएका बाँदर नेपालगन्जका अन्य क्षेत्र प्रवेश गरिरहेकाछन् । सोमबार मात्रै केही संख्यामा आएका बाँदर नेपालगन्जको फुल्टेक्रा क्षेत्रमा पसेका थिए । त्यहाँ पनि ती बाँदरले आतंक मच्चाएका स्थानीयबासी बताउँछन् ।

केही महिना पहिले बाँकेको डुडुवा गाँउपालिकामा पनि बाँदरले आतंक मच्चाएको थियो ।