नेपालगन्जः नेपालगन्ज कारागारका जेलर, चौकिदार र नाइकेलाई अन्यत्र सार्न सिफारिस गरिनेभएकोछ । कारागार भित्रका कैदीबन्दीले जेलर, चौकिदार र नाइके परिवर्तनको माग गर्दै आन्दोलनमा उत्रिएपछि उनीहरुलाई अन्यत्र सार्न लागिएको हो ।
बाँके कारागारका जेलर भरतराज पाण्डे, नाइके भरत फडेरा र चौकीदार मानबहादुर शाहीले कैदी बन्दीहरूलाई अन्यत्र सरूवा गरिदिने धम्की दिदै ज्यादती गरेको आरोप लगाउदै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि जिल्लास्थित सुरक्षा निकायबीच बहस तथा छलफल समेत चुलिएकोछ ।चौकीदार फडेराले कारागारभित्रको ज्यादतीका बारेमा बोल्ने कैदीलाई अन्यत्र सरूवा गरीदिने चेतावनी समेत दिदैं आएको कैदीबन्दीहरू बताउँछन् ।
बिहीबार बेलुकासम्म आन्दोलनरत कारागारका कैदीबन्दीले आफ्नो माग सुनुवाई नभएसम्म वार्तामा नवस्ने र आन्दोलन जारी रहेन समेत जनाएपछि जिल्ला स्थित सुरक्षा निकायबीच कारागारको सुरक्षालाई लिएर गम्भीर बहस तथा छलफल चुलिएको छ ।
कारागारमा आन्दोलनरत कैदीबन्दीहरुले कारागारका जेलर भरतराज पाण्डे, नाईके भरत फडेरा र चौकीदार मानबहादुर शाही लगायतलाई अन्यन्त्र नसारिएसम्म आन्दोलन जारी रहने भन्दै बिहीबार बिहान ७ बजेदेखि २ नम्बर गेटमा ताला लगाएका थिए ।
कैदीबन्दीले उठाएको माग र उत्पन्न समस्या समाधानका लागि उनीहरुलाई अन्यत्र सार्न लागिएको बाँके प्रशासनले जनाएको छ । कारागारमा भएको घटनाका बारे बाँकेस्थित राष्ट्रिय मानव अधिकार आयोग, उच्च अदालत बार लगायतका पेशागत तथा अधिकारबादी संघसंस्थाले बिहीबार बेलुका कारागारमै पुगेर अनुगमन गरी घटनाका बारे जानकारी लिएको उच्च अदालत बारका अध्यक्ष विकास आचार्यले सेतोखरीलाई बताए ।
यता बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले कारागारको घटना (आज) शुक्रबारसम्ममा व्यवस्थापन हुने बताएका छन् । उनकाअनुसार जेलर पाण्डे नेपालगन्ज आइसकेकाले बिहीबार जिल्लास्थित सुरक्षा निकायबीच बहस छलफल भएको र शुक्रबारसम्म समस्याको समाधान खोजिनेछ ।
नेपालगन्ज कारागारका कैदीबन्दी र थुनुवाले आफुहरूमाथि जेलर, चौकीदार, नाइकेले शोषण गरेको आरोप लगाएका छन् । जेलर पाण्डेको आडमा कैदीहरूमाथी ज्यादती गर्दै आएका चौकीदार फडेरा, नाइके शाही र उनका सहयोगीलाई कैदीहरूले बिहिबार कारागारबाट बाहिर निकालिदिएका छन् । उनीहरुले जेलर भरतराज पाण्डेले १५ लाख रूपैयाँ घुस खाएको समेत आरोप लगाएका छन् । बाँके कारागारका जेलर पाण्डेले १५ लाख घुस खाएर फडेरालाई चौकीदार बनाएको कैदीबन्दीको अरोप छ । कारागारका कैदीबन्दीमाथि चरम आर्थिक तथा शारीरिक शोषण गर्ने गरेको आन्दोलनमा उत्रिएका कैदी बन्दिहरुको आरोप छ ।
कारागारभित्रका कैदीबन्दीले जेलर, चौकिदार र नाइके परिवर्तनको माग गरेपछि जेल प्रशासनले आफूहरूलाई अन्यत्र सरूवा गरिदिने धम्की समेत आइरहेको बताएका छन् । उनीहरूलाई बाहिर निकालेर कैदीबन्दीले कारगारमा तालाबन्दी समेत गरेका छन् । १०÷१५ जना कैदीबन्दीको समूहले कारागारका नाइके परिवर्तन गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको बाँके कारागार बताउँछ ।
कारागारमा तालाबन्दी गरेलगत्तै बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी उपरीक्षक बीरबहादुर ओली र सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी लगायतको टोली कारागार पुगेर अनुगमन गर्नुका साथै घटनाका बारे जानकारी लिएको जेलर पाण्डे बताउँछन् ।