कपिलवस्तु तनाव: दुई पक्षबीच ११ बुँदे समझदारी, कर्फ्यू कायमै


कपिलवस्तु तनाव:  दुई पक्षबीच ११ बुँदे समझदारी, कर्फ्यू कायमै

कपिलवस्तु: लक्ष्मीपूजाको मूर्ति विर्सजनका विषयमा दुईपक्षबीच बढेको विवाद समाधानका लागि ११ बुँदे सम्झौता गरिएकोछ । बुधबार साझँदेखि तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णनगर अहिले शान्त बन्दै गएको छ । यद्यपि निषेधाज्ञाभने अझै पनि कायमै छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हिन्दू र मुस्लिम समुदायबीचको विवाद समाधान गर्न ११ बुँदे सम्झौता भएको हो । लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दिपशमशेर राणाका अनुसार–‘बिहीबार राती सबै पक्षबीच सहमति भएको छ । असमझदारी हटाउन सबै पक्ष सकारात्मक रुपमा प्रस्तुत भएकाछन् । तर, तत्काल कर्फ्यू भने हटाइएको छैन । अवस्था पूर्ण रुपमा शान्त भएपछि कर्फ्यू हटाउँछौं ।’ ११ बुँदे सम्झौतामा दोषीमाथी कारवाही, घटनाको छानविन, सद्भाव कायम राख्ने लगायतका विषय समेटिएको एसपी राणाले जनाए ।

बुधबार बेलुका लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो । विवादकै क्रममा बिहीबार स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

कर्फ्यूका बीच लक्ष्मी माताको मुर्ति बिहीबार राति नै शिवनगरस्थित तलाउमा विसर्जन गरिएको छ । सुरक्षा समितिको बैठक बसी राती नै प्रहरी लगाएर विर्सजन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । हिजो राति करिव २ बजे दुवै पक्षबीच सहमति गरि कडा सुरक्षाका बीच मुर्ति विसर्जन गरिएको हो ।

बिहीबार नै कर्फ्यूको अवज्ञाका क्रममा एकजना भारतीय नागरिक सुरज पाण्डेको ज्यान गएको थियो । अन्य केही सर्वसाधारण र प्रहरी समेत घाइते भए ।

हिन्दू समुदायले लक्ष्मीपूजाको मूर्ति बुधबार साँझ विसर्जन गर्न लैजाँदै गर्दा बाटोमा मुस्लिम समुदायले अवरोध पु¥याउँदा विवाद भएको थियो । बुधबार नै अवस्था असामान्य बनेपछि प्रहरीले २० राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । स्थानीय प्रशासनले विवाद उग्र बन्दै गएपछि विहीबारदेखि अर्को आदेश नभएसम्मका लागि कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर, पूर्वतर्फ ३ सय मिटरमा कर्फ्यू आदेश जारी गरेको छ ।

यस्तै लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा भएको विवादले उग्ररुप लिँदा भारतीय नागरिक २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको थियो । यतिवेला शव पोस्टमार्टमका लागि तौलिहवा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपशम्सेर जबराले बताए ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले कपिलवस्तुको कृष्णनगरमा गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु संयमित रुपमा सञ्चालन गर्न र गराउन नेपाल सरकार लगायत सम्बन्धित सबै पक्षसँग आयोगले आग्रह गरेको छ । गतवर्ष पनि सो स्थानमा मूर्ति विर्सजनको विषय लिएर विवाद बढेको थियो ।