कोहलपुरमा उपनिर्वाचनको माहोल


कोहलपुरमा उपनिर्वाचनको माहोल

नेपालगन्ज : राजनीतिक दलहरूले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिका वडा नम्बर ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काँग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिश गरिएको छ ।

कोहलपुर–६ मा दलहरुले अहिले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटीहरु निर्माण गरेर चुनावी गतिविधिहरुलाई तीव्र बनाएका छन् । राजनीति दलपिच्छे भेला, बैठक, छलफल लगायतका कार्यक्रमहरु भइरहेका छन् । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि दलहरुले सबै रणनीति तय गरिरहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

उम्मेदवार सिफारिश भएसँगै निर्वाचन आफ्नो पक्षमा पार्न दलहरु चुनावी अभियानमा सक्रिय भएका छन् । वडाध्यक्ष पदका लागि आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा नेपाली काँग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउनै हम्मेहम्मे पर्नेछ । नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काँग्रेसको विरासत भत्काउने दाउमा छ ।

तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलहरुबीच कडा प्रतिश्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ । गत निर्वाचनमा एक हजार ९ सय ६४ मतदाता रहेको वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । गत निर्वाचनमा काँग्रेसका उम्मेदवार रामसोहन थारु ४ सय २४ मत प्राप्त गरी विजयी भएका थिए । २०७५ मङ्सिर ९ गते उनको निधनपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।