डिएसपी शाहीमाथि अनुसन्धान शुरू
नेपालगन्ज : ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेकोमा छानबिन हुने भएको छ । शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैबारे छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले समिति गठन गरेको छ ।
पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहका अनुसार एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
आईतबार गठन भएको समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन दिन समय दिइएको शाहले बताए । एसएसपीको नेतृत्वको टोली घटना अनुसन्धान र छानबिन गर्न बाँके आईसकेको छ ।
बिहीबार राति साढे आठ बजे बाँकेको गनापुर स्थित नमस्ते रिसोर्टबाट ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगन्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई हतियारसहित पक्राउ गरेको थियो ।
पक्राउ परेको हतियार डिएसपी आफैंले राखेको भन्ने आरोप लागेपछि प्रहरीले दुबै प्रकरणमाथि छानबिन गर्न समिति गठन गरेको हो । समितिले सत्य/तथ्य दिएपछि कारबाही हुन्छ उनले भने ‘डिएसपीले आचरणविपरीतको कार्य गरेको भेटिए प्रहरी ऐन नियमावलीअनुसार कारबाही गरिन्छ ।’
तर, हतियार बरामद भएपछि मात्र उक्त अडियो आउनुचाँही ‘नियतवश’ रहेको डिआइजी शाहीले बताएका छन् । ‘डिएसपीले के कसो माग गरेको हो भन्नेबारे जिल्ला प्रहरी प्रमुख नभए मलाई पहिले नै किन भनिएन र अहिले हतियार बरामद भएपछि मात्र अडियो बाहिर निकालियो भन्नेमा ‘नियत’ देखिन्छ,’ शाहले भने, ‘पहिले भनेको भए हामी कारबाही गरिहाल्थ्यौं ।’
शाहका अनुसार नमस्ते रिसोर्टमा तरूण दल अध्यक्ष शाहसहितको टोली छिर्दा गाडीमा हतियार रहेको सूचना आएको थियो । त्यो सूचना पहिले बाँकेका प्रहरी उपरीक्षकलाई आएर उनले शाहीलाई त्यहाँ खटाएका थिए ।
‘गाडीभित्र हतियार फेला परेको हो, प्रहरीले त्यहाँ ईमान्दारीपूर्वक काम गरेको छ, बाहिरबाट हतियार ल्याएर राख्ने अवस्थै थिएन, घटनास्थलको सबै सिसिटिभी फुटेज हामीसँग छ,’ डिआइजी शाहले भने । प्रहरीले आचरणविपरीत काम गरेको र हतियार बरामद भएको घटना अलग भएकाले यसमा ‘राजनीति’ गर्न नहुने शाहको भनाइ छ ।
‘गैरकानूनी हतियार बोक्नेलाई समात्ने प्रहरीको दायित्व हो, यसमा दोषीलाई कडाभन्दा कडा कारबाही हुन्छ,’ उनले भने, ‘आचरणविपरीत काम गर्ने प्रहरीलाई प्रहरी ऐन नियमावली बमोजिम कारबाही हुन्छ ।’
अमेरिकन पेस्तोलसहित पक्राउ परेका नगर सभापति शाही बिरूद्ध कोहलपुर प्रहरीले हातहतियार तथा खरखजाना ऐनअनुसार अदालतमा मुद्दा दायर गरिसकेको कोहलपुरका डिएसपी हेमबहादुर शाहीले बताए ।
उनकाअनुसार सात दिन म्याद थप गरेर शनिबारदेखि सभापति शाहसँग अनुसन्धान भइरहेको छ । उनले हतियार बरामद पनि रितपूर्वक गरिएको बताए । ‘हतियार आफ्नो होइन भन्नेमा त्यति धेरै विश्वास हो भने त्यसको पनि परीक्षण गरौंला’, उनले भने, ‘गाडीबाट हतियार बरामद भएका वेलाका फोटो, भिडियो जस्ता प्रमाण पनि प्रहरीसँग सुरक्षित छन् ।’
आपराधिक मानसिकता बोकेका नगर सभापति पक्राउ परेपछि अहिले बजारमा फैलाइएको हल्ला र अडिओ तथा भिडिओ निराधार भएको र आफूले नाजायज किसिमले कुनै डिल नगरेको दाबी गरेका छन् ।
आफूमाथिका आरोप निराधार भएको भन्दै उनले भने, ‘भोली ल्याब टेस्ट होला । अन्य कुरा होला । म हो÷होइन, सनाखत होला । मेरो बारेमा चरित्र हत्या गर्ने किसिमले आएको छ भने साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता पनि होला ।’
बाँकेको कोहलपुर प्रहरीले पछिल्लो समय आपराधिक गतिविधी न्यूनिकरणका लागि सक्रियता बढाएको छ । कोहलपुरमा रहेको ईलाका प्रहरी कार्यालयमा शाही डिएसपीका रूपमा आएपछि यस क्षेत्रको शान्ति सुरक्षा मजबुद हुनुका साथै आपराधिक गतिविधीमा कमी आएको छ ।
यसैबीच नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक शाहीलाई विभागीय कारबाही गर्न माग गरेका छन् । आईतबार ट्वीट गर्दै शर्माले भनेका छन्, ‘धम्कीको रेकर्ड सार्वजनिक छ ।
नेपाल प्रहरीले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस्, प्रहरीको मर्यादा हामी राख्छौं । निष्पक्ष छानबिनलाई सघाउँछौं । तर, खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षमको तीन मन्त्र पुनः पढाइयोस् ।’