श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु


श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

नेपालगन्ज: बाँकेमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । खजुरा गाउँपालिका–२, सीतापुरमा शनिबार राति गीता घर्तिमगरको कुटाईले उनका श्रीमान् महेन्द्रकुमार घर्तिको मृत्यु भएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय, धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाका अनुसार, राति ९ बजेपछि श्रीमान र श्रीमतीकाबिचमा झगडा भएको थियो । त्यसक्रममा हात हालाहाल भएको पाइएको छ ।

श्रीमतीले काठले टाउकोमा हान्दा श्रीमान ढलेका थिए । शुरूमा स्थानीय मेडिकलमा लगेर उपचार गरिएको थियो । थप उपचारका लागि नेपालगन्ज ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरी बताउँछ ।

मदिरा सेवन गरेका श्रीमानसँग श्रीमतीको धान बेच्ने विषयमा झगडा भएको थियो । झगडाले उग्ररूप लिँदै कुटपिटसम्म पुगेको थियो । प्रहरीले श्रीमती गीतालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके प्रहरी प्रवक्ता डिएसपी शिवबहादुर सिंहले घर झगडामा हानाहान हुँदा श्रीमानको मृत्यु भएको बताए । मदिराले गर्दा सामान्य झगडाले उग्ररूप लिएको थियो ।

बाँकेमा यसअघि मदिराले लठिएको बेलामा भएको झगडामा कचनापुर र ढकेरीमा श्रीमतीले श्रीमानको हत्या गरिसकेका छन् । कोहलपुर, हिरमिनियामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।