स्थानीय तहको उम्मेदवारी दर्ता कात्तिक २७ गते
नेपलागन्ज: आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको (आज)बिहीबार मनोनयन दर्ता हुँदैछ । स्थानीय तहको मनोनयन दर्ता भने कात्तिक २७ गते तोकिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको मनोनयन दर्ता आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयन दर्ता गराउनुपर्नेहुन्छ ।
मनोनयन दर्तापछि बिहीबारै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म उम्मेदवारहरूको सूची प्रकाशित हुनेछ । भोलिपल्ट शुक्रबार २२ गते बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरूविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएकोछ ।
यस्तै कार्तिक २३ गते दिउँसो साढे १ बजेसम्म उम्मेदवारहरुविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी सोही दिन दिउँसो ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै उम्मेदवारी दिएका कुनै उम्मेदवारहरूले नाम फिर्ता लिन चाहे २४ गते बिहान १० बजेदेखि १ बजेसम्मको समयमा फिर्ता लिन सक्नेछन् । त्यसपछि सोही दिन ३ बजेदेखि पाँच बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशत गर्ने कार्यक्रम छ ।
निर्वाचन आयोगले तय गरेको उपनिर्वाचन कार्यतालिका अनुसार कार्तिक २५ गते बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।
यस्तो छ स्थानीय तहको मनोनयन दर्ता र उपनिर्वाचन संख्या
निर्वाचन आयोगले तय गरेको उपनिर्वाचन कार्यतालिका अनुसार स्थानीय तहको मनोनय दर्ता कात्तिक २७ गते हुनेछ । मतदान भने १४ गते मंसिरमै हुने छ ।
बिभिन्न कारणले देशभर रिक्त रहेका ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो । ३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् । भने बाँकेमा १ जना स्थानीय तह अन्र्तगत वडा अध्यक्षमा उपनिर्वाचन हुनेछ ।
बाँकेको कोहलपुर वडा नम्बर ६ को वडाअध्यक्ष पदका लागि निर्वाचन हुनेछ । उपनिर्वाचनमा भाग लिने दलहरूको संख्या १०१ छ । तीमध्ये सीके राउतको पार्टीसहित १६ नयाँ दल छन् ।
उपनिर्वाचनका लागि आयोगले २४७ मतदानस्थल र ५३७ मतदान केन्द्र तोकेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।