नेपालगन्ज : कहीँकतै पार्टीका झण्डा टाँगिएका छन् । तर, हुलमुलमा चुनावी प्रचार गर्न कोही निस्किएको छैनन् । यद्यपी उप–निर्वाचन हुने कोहलपुर नगरपालिका वडा नम्बर ६ मा भित्रभित्रै चुनावी राफ–ताप शुरु भएको छ ।
यहाँ वडाध्यक्षका लागि निर्वाचन हुदैछ । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यू भएको थियो । रिक्त सोही ठाउँमा आगामी मंसिर १४ मा उप–निर्वाचन हुन लागेको छ ।
प्रमुख दुई दलले आफ्ना उम्मेदवारहरू छनोट गरिसकेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले उम्मेदवार घोषणा गरिसकेको अवस्थामा राप्रपाबाट पुर्वपत्रकार श्रीधर सुवेदी चुनावी मैदानमा छन् ।
उम्मेदवारी टुंग्याईसक्दा यी तीनवटै दल अझै भड्किलो प्रचारशैलीमा नउत्रिए पनि आन्तरिक प्रचार–प्रसार भने शुरू गरिसकेका छन् । दलका उम्मेदवारले मतदातालाई व्यक्तिगत भेटघाटमा जोड दिएका छन् ।
पार्टीको अभियान बनाएर जान सकिरहेका छैनौं राप्रपाका उम्मेदवार सुवेदीले भने ‘व्यक्तिगत रूपमै मतदाता समक्ष पुगेर भोट मागिरहेको छु ।’ उनी जस्तै काँग्रेस नेकपाका उम्मदवार पनि जनताको घरदैलोमा पुग्दै आएका छन् ।
यसअघि काँग्रेसले जितेको उक्त वडामा अहिले त्रिपक्षिय भीडन्त हुने देखिएको छ । यस वडाका नागरिकले अहिले पार्टी र थर भन्दा पनि व्यक्तिलाई मतदान गर्ने आशय व्यक्त गरेका छन् । यसरी हेर्दा नेकपा र काँग्रेसका उम्मेदवारको तुलनामा राप्रपाका उम्मेदवार सुवेदी अहिले आम वडाबासीको रोजाईमा परेको बुझिएको छ ।
काँग्रेसका उम्मेदवार श्रीकृष्ण थारू यसअघि सिद्धार्थ आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यालयको तला थप्ने भनि लगाएको महायज्ञको रकम हिनमिना गरेको आरोप खेपेका व्यक्ति हुन् । उनले महायज्ञको लाखौं रूपैयाँ हिनामिना गरेको आरोप अहिले पनि लागिरहेको विद्यालय नै बताउँछ ।
नेकपाबाट उम्मेदवार भएका रामशरण थारू पनि तत्कालिन अवस्थामा माओवादी हुँ भन्दै वडाबासीलाई समेत बेलाबेलामा सताउँदै आएको कारण यी दुबै उम्मेदवार वडाबासीका लागि उपयुक्त नभएको स्थानीय मतदाता महारूप खत्री बताउँछन् ।
काँग्रेस र नेकपाबाट थारू समुदायका उम्मेदवार प्रत्यासी भएकाले अहिले थारू समुदायको मत बाँडिने देखिएको छ । यसले पहाडी र थारूका साथै साना कतिपय दलको मत राप्रपाका उम्मेदवार सुवेदीको पोल्टामा पर्न सक्ने आँकलन जानकारले गरेका छन् ।