मानव तस्करीमा महिला: तस्कर सहित दुई नेपाली महिला भारतमा पक्राउ


मानव तस्करीमा महिला: तस्कर सहित दुई नेपाली महिला भारतमा पक्राउ

भारतीय एसएसबीले बिहीबार पक्राउ गरेका नेपाली महिला ।

नेपालगन्ज: खाडी मुलुकमा रोजगारीको प्रलोभन देखाएर नेपालगन्ज हुदैँ भारतको रुपैडिहा पु¥याइएको अवस्थामा बिहीबार भारतीय सुरक्षाकर्मीले दुई महिला सहित एक मानव तस्करलाई नियन्त्रणमा लिएकोछ ।

अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुक पु¥याउन सक्रिय भोजपुर जिल्ला निवासी कल्पना राई सहति दुई नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका हुन् ।

बिहीबार सीमा नाका रुपैडिहा प्रहरी र एसएसबीको संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गर्दा यस्तो रहस्य बाहिर आएको हो ।

रुपैडिहा स्थित भारतीय सशस्त्र सीमा बल (एसएसबी)को ४२ औं बाहिनीकी एसआई सरिताका अनुसार नियमित चेकजाँचका क्रममा उनीहरुको जवाफ चित्त नबुझेपछि एसएसबी क्याम्पमै ल्याएर थप सोधपुछ गर्दा मानव तस्करको घटना बाहिरीएको हो ।

एसएसबीले क्याम्पमै नियन्त्रणमा लिइएका महिलामाथि अनुसन्धान गर्दै सोधपुछ गरेपछि खाडी मुलुक जान हिडेका दुई महिलाले बताएका थिए ।
उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया थालिएको सुरक्षा अधिकारीको भनाइ छ ।

कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन । हाल उनीहरु रुपैडिहा स्थित सुरक्षाकर्मीको नियन्त्रणमा छन् ।

कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ । अधिकारीहरुका अनुसार उनीविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएकोछ ।