नेपालगन्ज: नेपाली भूमि लिम्पियाधुरा भारतले आफ्नो सीमाभित्र राखी नक्शा बनाएको विरोधमाा नेपाल मजदुर किसान पार्टीले शुक्रबार नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ ।
भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा हाम्रै हो लगायतका विभिन्न नारा लगाई धम्बोझीचोकबाट पुष्पलाल चोकसम्म जुलुस प्रदर्शन गरिएको थियो ।
पुष्पलाल चोकमा आयोजित कार्यक्रममा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको अस्तित्वमाथि धावा बोल्ने जस्तोसुकै शक्तिविरुद्ध लड्न नेपाली जनता तयार भएको विचार ब्यक्त गरे । उनले विभिन्न तथ्य तथा प्रमाणहरू हँुदाहुँदै पनि कालापानीबाट भारतीय सेना हटाउन नेपाली काँग्रेस, एमाले, नेकपालगायत कुनै पनि नेतृत्वको सरकारले ठोस कदम चाल्न नसकेको उल्लेख गर्दै देशभक्त जनता एकजूट हुनुपर्ने धारणा राखे ।
उनले भारतले नवलपरासीको सुस्तामाथि अतिक्रमण गर्दा नेमकिपाले सशक्त विरोध गरेको र पञ्चायती शासकहरूको दमनको प्रतिवाद गरेको ईतिहास स्मरण गर्दै नेपाली भूमि फिर्ता गर्न अब संघर्षभन्दा अन्य विकल्प नभएको बताए ।
कोणसभामा बोल्दै नेमकिपा, बाँकेका अध्यक्ष बखतबहादुर थापाले शासक पार्टीहरूकै अकर्मण्यताको कारण नेपाली भूमि अतिक्रम भइरहेको बताए । उनले शासकहरूले जनतालाई सदा ठग्न नसक्ने भन्दै जनताको विजय सुनिश्चि छ भने । नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य सर्जु फसिकवले सम्मूर्ण देशभक्त जनता एकजूट हुनुपर्ने विचार राखे ।