File Photo
नेपालगन्ज:प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताएकी छन् ।
हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालिम दिएर काठमाडौँ फर्किने क्रममा शनिबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्,‘प्रतिनिधिसभाका सबै माननीयको सभामुखमा दाबी गर्ने हैसियत छ ।
सबै सक्षम हुनुहुन्छ, हाम्रो संसदीय अभ्यासमा उपसभामुखमा कार्यरत व्यक्तिले सभामुख भएर चलाएको इतिहास पनि हामीसँग छ ।’
उनले सभामुख भएर काम गर्न र क्षमताको आधारमा अगाडि बढ्न आफू तयार रहेको उल्लेख गरिन् ।
संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको प्रतिनिधित्वको कुरा उल्लेख भएकाले अब सत्तापक्षले सभामुख पद लिने कुरा भयो भने संविधानले जे भनेको छ त्यो कार्यान्वयन गर्न उपसभामुख पद अरू कुनै दललाई छोडिदिनुपर्ने उनको तर्क थियो ।
रिक्त रहेको सभामुख पदलाई पूर्णता दिन प्रधानमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिँदै उनले मङ्सिरको तेस्रो सातातिर सभामुख पदले पूर्णता पाउने उपसभामुख तुम्बाहाम्फेले बताइन् ।