भारतको विरोध गर्दै राजापुरका युवा । तस्विर: सेतोखरी
बर्दिया: भारतले हालै सार्वजनिक गरेको राजनितिक नक्साका विषयलाई लिएर बर्दियाको राजापुरमा विरोध जनाइएकोछ । नेपालको लिपुलेक, लिम्बियाधुरा, कालापानी लगायतको भूमि भारतले आफ्नो नक्सामा पारेको घटनालाई लिएर विरोध गरिएको हो ।
विकासप्रेमी युवा समुह राजापुर नगर समिति बर्दियाको आयोजनामा भारतद्वारा जारी गरिएको नक्साको विरोध गरेका हुन् । भारतीय विस्तारबाद मुर्दाबाद, कालापानी नेपालकै हो, सीमा मिच्न पाइदैन भन्दै नारा लगाएर भारतको चर्को विरोध गरिएकोहो ।
विकसप्रेमी युवा समुह राजापुर नगर समितिका अध्यक्ष शिशिर शर्मा, सचिव कृपालाल थारु, समूहका जिल्ला उपाध्यक्ष युवराज केसी, सल्लाहकार सूर्य केसी लगायतले भारतले नेपाली भूमि हस्तक्षेप गरेको निन्दा गर्दै यथासक्य गल्ती सच्चाउन माग गरे ।
उनीहरुले भारतको निरन्तर दमन, ज्यादती नरोकिए त्यसका विरुद्ध कडा कद चाल्ने समेत चुनौती दिएको विकासप्रेमी यूवा समुह बर्दियाका प्रचारप्रसा विभाग प्रमुख शंकर गौतमले जानकारी दिए ।
भारतले जारी गरेको नक्साका यतिवेला चौतर्फी निन्दा र विरोध गरिदैछ । देश तथा विदेशमा रहेका नेपालीहरुले भारतले आफ्नो गल्ती सच्चाउनु पर्ने र यस विषयमा सरकारले कुटनितिक कदम समेत चाल्नु पर्ने माग गर्दै आएकाछन् ।
सरकारले हालैमात्र सर्वदलिय बैठक बसाल्दै भारतद्वारा जारी नक्साको विरोध जनाएकोछ । सरकारले सर्वदलिय बैठकपछि साझा धारणा समेत जारी गर्दै लिम्बियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकले कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
भारतले हालसालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभागलाई भारतीय भूमिका रुपमा देखाएपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ । यसबारे साझा धारणा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका प्रतिनिधिहरको सर्वपक्षीय बैठक बोलाएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विपक्षी दलका नेता एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी क्षेत्रसम्म नेपालको भूभाग भएकाले त्यसलाई फिर्ता लिन सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सहभागीहरुले कालापानी क्षेत्रसम्म नेपाली भूभाग हो भन्ेनमा कुनै विवाद नभएको बताएका छन् । अहिलेसम्म सरकारले लिएको अडान सही भएको भएपनि वक्तव्यमात्र जारी गरेर नपुग्ने भन्दै उनीहरुले तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् ।
बैठकको अन्त्यमा प्रधानमन्त्री ओलीले महाकाली नदीको उद्गम कुटीयाङ्दी नदी नै नेपाल भारतको सीमा भएको पाप्त प्रमाणहरुले पुष्टि गर्ने भएकाले लिम्पियाधुरासम्म नेपाली भूभाग भएको अडान सरकारले लिने बताएका छन् ।
यसैबीच विकासप्रेमी युवा समूह जिल्ला समिति बर्दियाले एक प्रेस विज्ञप्त जारी गर्दै भारतले जारी गरेको नक्साको विरोध समेत गरेकोछ ।