कोहलपुरमा त्रिपक्षिय भिडन्तः काँग्रेस र नेकपालाई पछार्ने दाउमा राप्रपा


कोहलपुरमा त्रिपक्षिय भिडन्तः काँग्रेस र नेकपालाई पछार्ने दाउमा राप्रपा

नेपालगन्ज: कोहलपुर नगरपालिका वडा नम्बर–६, मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले सरगर्मी छाएकोछ । यतिबेला सवै दलहरुले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटीहरु निर्माण गरेर चुनावी गतिविधिहरुलाई तीव्र बनाएका छन् । दिनहुँजसो राजनीति दलपिच्छे भेला, बैठक, छलफल लगायतका कार्यक्रमहरु भइरहेका छन् । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि दलहरुले सबै रणनीति तय गरिरहेका छन् ।

वडाध्यक्ष पदकालागि हुने निर्वाचनमा मुख्य तीन दलले उम्मेदवार टुङ्गो लगाएसँगै चुनावी सरगर्मी बढेको हो । २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यू भएपछि कोहलपुर वडा नम्बर–६, उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा नेपाली काँग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउनै हम्मेहम्मे पर्नेछ भने नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काँग्रेसको विरासत भत्काउने दाउमा छ । तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलहरुबीच कडा प्रतिस्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तो छ मतदाता विवरण
गत २०७४ मा भएको निर्वाचनमा एक हजार ९ सय ६४ मतदाता रहेको सो वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । गत निर्वाचनमा काँग्रेसका उम्मेद्वार रामसोहन थारु जम्मा ४ सय २४ मत प्राप्त गरी विजयी भएका थिए ।

२०७५ मङ्सिर ९ गते उनको निधनपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो । सो वडाबाट तत्कालिन नेकपा एमालेका उम्मेद्वार श्रीराम थारुले ३ सय ५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारुले २ सय ७३ मत प्राप्त गरेका थिए । पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले यसपटकको उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाको दावी छ ।

अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर ओली र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मतमा समेटिएका थिए । ‘पार्टी एकीकरणपछि हाम्रो मत करिब २ सयको अन्तरले बढेको छ, नयाँ मतदाताहरु पनि धेरै नेकपाकै हुनुहुन्छ,’ कोहलपुर नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारी बताउँछिन् ।

नेपाली काँग्रेस कोहलपुर नगरपालिकाका नगर सभापति बलराम शर्माले नेकपा एकीकरणपछि विगतको भन्दा केही चुनौती देखिए पनि काँग्रेसको जीत सुनिश्चित रहेको बताउँछन् ।

उनले भने, ‘तत्कालिन मधेसी जनअधिकार फोरमका उम्मेद्वार हाम्रो पार्टीमा आइसक्नुभएको छ । यसले पनि हाम्रो जित्ने आधार झन् बलियो बनेको छ ।’ तत्कालिन नेकपा एमालेबाट उम्मेद्वार बनेका श्रीराम थारुका भाई कृष्ण थारु अहिले काँग्रेस पार्टीबाट उम्मेद्वार बनेका छन् ।
तत्कालिन मधेसी जनअधिकार फोरमबाट मेयरको उम्मेद्वार बनेका फुलाराम थारुले गत निर्वाचनमा वडा नम्बर–६, बाट १ सय १४ मत प्राप्त गरेका थिए ।

फुलाराम र रामसोहनले ल्याएको कुल ५ सढ ३८ मत छ । यो तथ्यांक अनुसार नेकपा र काँग्रेसको मतान्तर ८७ देखिन्छ । तर, सो वडामा थारु मत धेरै रहेकोले काँग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ । सो वडामा थारु मतदाता एक हजार २६ रहेका छन् भने अन्य समुदायका एक हजार मतदाता छन् ।

प्रमूख तीन ठूला दलले उम्मेद्वार सिफारिश गरेसँगै कोहलपुर नगरपालिका वडा नम्बर–६, मा उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ । जिल्लामा एक मात्र उपनिर्वाचन हुने भएपछि सर्वत्र चासो बढेकोछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काँग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेद्वार सिफारिश गरिएको छ ।
यही गणितीय जोड घटाउका बीचबाट दाउ मार्न राप्रपाबाट युवा नेता श्रीधर सुबेदीले वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । वडाबासीबीच निकै लोकप्रिय बनेका सुवेदीले त्रिपक्षिय भिडन्तबाट आफ्नो स्थान सुरक्षित हुनेमा ढुक्क छन् । उनी थारु तथा पहाडी वस्तीमा लोकप्रिय छन् । युवा जोसका साथ अघि बढेका श्रीधरका पक्षमा दुवै समुदायको सहानुभूति रहेको स्थानीयबासी बताउँछन् ।

पत्रकारिता हुदै राजनीतिमा होमिएका सुवेदी हरकोणबाट वडा अध्यक्षका लागि योग्य, दक्ष र क्षमतावान भएको दावि गर्छन् । विशेषगरि वडाका सवै युवामाझ लोकप्रिय बनेका सुवेदीको उम्मेदवारीसगैं यतिवेला काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को टाउको दुखाइ भएकोछ ।

को हुन् श्रीधर सुबेदी ?
तत्कालिन रझेना गाविस वडा नम्बर–७, हाल कोहलपुर नगरपालिका वडा नम्बर–६, मा जन्मिएका युवा नेता श्रीधर सुबेदीले २०५८ साल देखी कोहलपुर साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थिए । राजनीति र समाजसेवा प्रति विशेष चासो बोकेका उनी पत्रकारितासँगै प्रजातन्त्र प्रति आस्था राख्ने पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनमा आवद्ध भए ।

उनले स्वतन्त्र समाचार सेवा काठमाण्डौं, नेपाल एफएम (काठमाडौं), श्री अभिलेख साप्ताहिक (मलेशिया)हुँदै आफ्नो पत्रकारीता यात्रालाई निरन्तरा दिए । २०६३ देखी प्रकाशन शुरु गरिएको श्री अभिलेख साप्ताहिकमा उनी कार्यकारी सम्पादक भएर काम गरे । यो पत्रिका मलेसियामा समेत प्रकाशित हुन्थ्यो र मलेसियामा रहेका नेपाली माझ उनी निकै लोकप्रिय बनेका थिए ।

पत्रिका प्रकाशनको क्रममा मलेसियामा रहँदा उनले नेपाल पत्रकार महासंघ मलेसिया शाखाको समेत गठन गरेका थिए । उनी महासंघ मलेसिया शाखाको संस्थापक सचिव हुन् । मलेसियामै रहँदा उनले राष्ट्रिय समाचार समिति (रासस) को मलेसिया प्रतिनिधि समेत रहेर काम गरेकाथिए । स्वदेश फर्किएर उनले २०६७ बाट कोहलपुरमै न्यूज नमस्ते दैनिक पत्रिकाको प्रकाशन शुरु गरेका थिए । उनले न्यूज नमस्ते मार्फत स्थानीय क्षेत्रमा भइरहेका भ्रष्टाचारविरुद्ध धावा बोलेका थिए । २०७३ मा उनी कोहलपुर टेलिभिजनको प्रवन्ध निर्देशक भएका थिए ।

कमल थापाको दिक्षा, डा. धवलशम्शेरको शिक्षा प्रारम्भमा नेपाली काँग्रेससँग आवद्ध भएकाश्रीधर अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छन् । काँग्रेस नेता वीपी कोइरालाको प्रजातान्त्रिक समावजाद र राष्ट्रिय मेलमिलापको नीति प्रति प्राभावित भएर उनी काँग्रेसमा आवद्ध भएका थिए । कोहलपुरमै रहँदा नेपाल प्रेस युनियनमा आवद्ध उनी पत्रिका प्रशासनको क्रममा मलेसियामा रहँदा नेपाली काँग्रेस निकट संगठन नेपाली जनसम्पर्क समिति मलेशियाको संस्थापक सचिव समेत भए । उनी मलेशियाबाटै महाधिवेशन प्रतिनिधी समेत भएकाथिए ।

मुलुकको परिवर्तित अवस्थामा राष्ट्रियताको संरक्षण तथा सनातनधर्म, संस्कृति र पहिचानको सम्बद्र्धनबाट मात्र देश बलियो हुने, राष्ट्रिय सम्बृद्धिको लक्ष्य हाँसिल हुने र विपिको प्रजातान्त्रिक समाजवादबाट काँग्रेस च्युँद हुँदै गएको अनुभुती पश्चात उनले नेपाली काँग्रेस परित्याग गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा आवद्ध भए ।

उनलाई राप्रपाका केन्द्रीय सदस्य हिक्मत ढकालको पहलमा तत्कालिन राप्रपाका केन्द्रिय उपाध्यक्ष एवं हाल नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले पार्टीमा प्रवेश गराएका थिए । वडा सदस्य देखि राजनीति सुरु गरेका श्रीधर राप्रपा नेपाल बाँकेको जिल्ला सदस्यसँगै जिल्लाको पार्टी प्रवक्ता समेत भइसकेका छन् ।

राप्रपा नेपाल निकट पत्रकारहरुको संगठन मिडिया नेपालको केन्द्रीय सदस्य समेत रहेका श्रीधर २०७४ देखि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सूचना प्रविधि विभागको सदस्य सचिवको पदमा कार्यरत छन् । पत्रकारीतामार्फत समाजको समस्या नजिकबाट बुझेका श्रीधरका लागि कोहलपुर क्षेत्र त्यसमा पनि विशेष वडा नम्बर–६, को समस्या नौलो हैन । स्थानीय निकायबाट भइरहेका गतिविधी र गर्न सकिने कामबारे उनी जानकार छन् । युवाहरु माझ अत्यन्तै लोकप्रिय श्रीधर मिलनसार, राजनीतिक रुपले प्रतिस्वध साध्ने नभै सबैसंग हातेमालो गर्दै अगाडि बढ्ने स्वभाव भएका ब्यक्ति हुन् ।

आफू जन्मे हुर्किएको क्षेत्रलाई विकासको नमुना क्षेत्र बनाउने चाह भएका यूवा नेता श्रीधर डाक्टर धवलशम्सेर राणाको विकासको मोडलबाट प्रभावित छन् । श्रीधर, राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री प्रेमबहादुर भण्डारीले यस क्षेत्रको विकासमा पु¥याएको योगदानलाई प्रेरणा र मार्ग निर्देशनको रुपमा आत्मसाथ गर्दै आएका छन् ।

राष्ट्रियता, धर्म र सनातन परम्पराबारे राप्रपाका अध्यक्ष कमल थापाबाट दिक्षित उनी ‘आफ्नो क्षेत्र, आफ्नो सान, कोहलपुरमा वडा नम्बर ६ को छुट्टै मान’को मुल लक्ष्य सहित कोहलपुर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षको उम्मेदवार बनेका छन् । नयाँ जोस जाँगर र वडाको समृद्धीका लागि वडाअध्यक्षका दाबेदार उनी यतिवेला घरदैलोमा व्यस्त छन् । उनी आफूलाई कोहलपुर वडा नम्बर ६ को चौकीदार बताउँछन् ।