नेपालगन्ज : बाँकेमा दुईदिनको अन्तरालमा बाघको आक्रमणमा परेर दुई महिलाको ज्यान गएकोछ । यसअघि कोहलपुर नगरपालिका वडा नम्बर–१३, नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेतलाई पाटेबाघले आक्रमण गर्दा उनको ज्यान गएको हो ।
यो घटना सेलाउन नपाउँदै पुनः बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नम्बर–८, शिवशक्ति सामुदायिक वनमा बाघको आक्रमणमा परि एक महिलाको ज्यान गएकोछ ।
शिवशक्ति सामुदायिक वनमा मङ्गलबार घाँस काट्न गएकी ठगी खड्कालाई पाटेबाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीका अनुसार मंगलबार बिहान ९ बजे राप्ती सोनारीगाँउपालिका वडा नम्बर–८, बालापुरकी ६० वर्षिया ठगी खड्काको पाटे बाघको आक्रमणमा परेर मृत्यु भयो ।
घाँस काट्न शिवशक्ति सामुदायिक वनको डप्का खोला क्षेत्रमा गएका बेलामा पाटेबाघले उनीमाथि आक्रमण गरेको थियो । बाघले खड्काको छातीको भाग खाएको अवस्थामा भेटिएको डिएसपी शाही बताँउछन् ।
मृतक खड्का मंगलबार बिहान ९ बजेको घरबाट घाँस काट्न भनी जंगल गएको र लामो समयसम्म घर नफर्केपछि घरपरिवारबाटै खोज्न जानेक्रममा शिवशक्ति सामुदायिक वनको डप्का खोला नजिकै पाटेबाघले आक्रमण गरी छातीको भाग खाई मृत अवस्थामा फेला परेको थियो ।
डिएसपी शाहले भने–‘प्रहरीले घटनाका बारे जानकारी पाउनसाथ घटनास्थलमा प्रहरी खटाई अनुसन्धान गरेको बताए ।’
पछिल्लो समय बाँके र बर्दिया जिल्लामा पाटेबाघको आक्रमण बढेको छ । यसअघि २०७५ माघ यता पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा ७ जनाको मृत्यु भइसकेको छ ।
तथ्यांकलाई हेर्दा बर्दियामा ५ र बाँकेमा २ जनाको बाघ आक्रमणमा परेर ज्यान गएकोछ । बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बयस्क बाघ रहेका छन् ।
वन्यजन्तुको आक्रमणमा परि धनजनको नोक्सानी भइरहदाँ समेत सम्बन्धित निकायले उचित व्यवस्थापनमा चासो दिन सकेको छैन ।