ग्यास सिलिण्डर विस्फोटमा चुडामणी गम्भीर घाइते


ग्यास सिलिण्डर विस्फोटमा चुडामणी गम्भीर घाइते

नेपालगन्ज : बाँकेको कोहलपुरमा ग्यास सिलिण्डर विस्फोट हुँदा एकजना घाइते भएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर–११, न्यूरोडस्थित गोलपार्क नजिकै ग्यास चुल्होको पाइप लिक भएर विस्फोट हुँदा घरधनी ५० वर्षीय चुडामणी शर्मा गम्भीर घाइते भएका हुन् ।

ईलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार मङ्गलबार दिउँसो करिब ३ बजेतिर ग्यास विस्फोट हुँदा शर्माको हात, टाउको र कपाल जलेको छ ।

घाइते शर्माको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्जमा रिफर गरिएको उनले बताए ।

ग्यास सिलिण्डर विस्फोट भएको समयमा घरमा उनी एक्लै थिए जसका कारण थप क्षति हुन पाएन डिएसपी शाहीले भने –‘शर्माको दुईतले घरको माथिल्लो तलामा रहेको भान्सा कोठामा ग्यास सिलिण्डर विस्फोट भएको हो । विस्फोटबाट घरमा ठूलो क्षति पुगेको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

घटना लगत्तै पुगेको प्रहरीले घटनाको अनुसन्धान गरिरहेकोछ । ‘घरमा ठूलो क्षति पुगेको छ,’ डिएसपी शाहीले भने –‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’