कोहलपुर: नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रिय अध्यक्ष नैनसिंह महरले राष्ट्रियता खतरामा परेको बताएका छन । बिहिबार बाँकेको कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट सरकारका कारण राष्ट्रियता खतरामा परेको जिकिर गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ब्यङ्ग्य गर्दै भने–‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ४ वटा भाषा र टेलिफोन संवादबाट जन्मदिनको शुभकामना दिन सक्ने तर, देशको सीमा मिचिदाँसम्म चुइक्क नबोल्ने आली नेतृत्वमाथि शंका रहेको बताए ।
नेपालको कालापानी, लिपुलेक नेपाली भूमी भारतीय पक्षले अतिक्रमण गर्दा सम्म पनि सरकारले ठोस कदम चाल्न नसक्नु वर्तमान सरकार राष्ट्रियताको पक्षमा नभएको प्रमाणित भएको उनको भनाई छ । अध्यक्ष महरले जनतामाझ गरेको कुनै पनि प्रतिबद्धता ओली नेतृत्व सरकारले पुरा गर्नुको साटो राज्यलाई कम्युनिष्टकरण गर्ने दुस्प्रयासमा लागेको आरोप लगाए ।
यस्तै कोहलपुरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै महरले नेपाल तरुण दल नेपालगन्ज नगर अध्यक्ष संदिपजंग शाह लगाएतका तरुण युवालाई पूर्वाग्रही रुपमा चलाएको मुद्दा तत्काल फिर्ता लिन बाँके प्रहरीलाई चेतावनी दिएका छन्।
उनले नेकपा निकट तथा नेकपाका संगठित सदस्यबाहेकका नागरिकलाई छानी–छानी झुटा मुद्दा चलाउँदै राज्यलाई कम्युनिष्टकरण गर्ने दुस्प्रयास गरेको बताए । उप निर्वाचनलाई क्षयकरण गर्न सरकारले केही प्रहरी अधिकृतहरुलाई हातमा लिएर नियोजित रुपमा तरुण नेता शाहलाई फसाएको आरोप लगाए ।
पछिल्लो समय राष्ट्रियता खतरामा परेकाले तरुण नेता शाहको विषयमा देशैभर आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको महरले जनाए । निर्दोष व्यक्तिलाई राजनीतिक पूर्वाग्रही रुपमा झुटा मुद्दा चलाएको विषयमा बाँकेका एसपी र डिएसपीको कुरा बाँझिएकाले घटना नियोजित भएको प्रमाणित भएको उनले बताए ।
केही समय अघि तरुण नेता शाहको गाडीमा पेस्तोल फेला परेको भन्दै प्रहरीले गैर न्यायिक तरिकाले नियन्त्रण लिई झुटा मुद्दा चलाई राजनीतिक प्रतिशोध वर्तमान सरकारले साँध्न खोजको उनले जिकिर गरेका छन् ।
सरकारी अत्याचारको विरुद्वमा अगाडी बढ्ने बताउँदै सरकारलाई सच्चिन आग्रह समेत गरे । नेपाल विद्यार्थी संघको अधिवेशन र उमेर हदबन्धीबारे जिज्ञासामा निवर्तमान अध्यक्ष महरले उपनिर्वाचनभन्दा अगाडी कुनै पनि भातृ संगठनको संरचना हेरफेर नहुने स्पष्ट पारे ।