दाङ: दाङ प्रहरीले अत्याधुनिक हतियार बरामद गरेकोछ । दाङ र कपिलवस्तुको सीमाक्षेत्रअन्तर्गत कपिलवस्तुको शिवनगरबाट ५ थान शर्ट मेसिन गन (एसएमजी) र त्यसमा लाग्ने म्याग्जिन र गोली बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले खाली गोठमा लुकाइराखेको अवस्थामा ती हतियार बरामद गरेको हो ।
बरामद गरिएका हतियारमा ५ थान एसएमजी, म्याग्जिन १३ थान, त्यसमा प्रयोग हुने ३ सय ९० राउण्ड गोली रहेको जिल्ला प्रहरी कार्यायल दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) विनोदविक्रम शाहले जानकारी दिए ।
विप्लव समूहले हातहतियार दाङ र कपिलवस्तुको सीमाना हुँदै स्थानान्तरण गर्दछन् भन्ने विशेष सूचनाका आधारमा गएको प्रहरी टोलीले शुक्रबार बेलुकी कपिलवस्तुको शिवनगर नगरपालिका वडा नम्बर १ बाट ती हतियार बरामद गरेको हो ।
हतियार सुटकेसभित्र राखी पात पतिङ्गर र झारपातले छोपी लुकाइ राखेको अवस्थामा फेला परेको डीएसपी शाहले बताए ।
नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरु हतियारसहित रहेको गोप्य सूचनाको आधारमा प्रहरी चेक गर्न पुग्दा उक्त हतियार बरामद गरिएको भने नेकपाका कार्यकर्ताहरुले हतियार त्यहीँ छाडेर भागेको प्रहरीको दाबी छ ।