कोहलपुर: उम्मेद्वार मनोनयन दर्तासँगै कोहलपुर–६, मा उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । जिल्लामा एकमात्र उपनिर्वाचन हुने वडा भएपछि सर्वत्र चासो बढेको छ ।
उपनिर्वाचनको समयमा नजिकिँदै गर्दा जनप्रतिनिधिको रिक्ततालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र तीनका उम्मेद्वार वडाका टोलटोलमा पुग्न थालेका छन् ।
कोहलपुर वडा नम्बर–६, मा तीन ठूला दल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै नेपाल मजदुर किसान पार्टी र समाजवादी पार्टीले मतदाता रिझाउन विभिन्न चुनावी कार्यक्रम लिएर टोलटोल पुगीरहेकाछन् ।
२०७४ सालको स्थानीय निकायको निर्वाचन पश्चात कोहलपुर नगरपालिका वडा नम्बर–६, का मतदाताले निर्वाचित जनप्रतिनिधि गुमाए । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै खुशी भएका वडाबासीलाई निर्वाचित वडाध्यक्ष गुमाएपछि वडाबाट प्राप्त गर्ने सेवा सुविधा लिन झमेला भइरह्यो । वडाध्यक्षको निधनपछि आगामी मंसिर १४ गते सो वडामा उपनिर्वाचन हुँदैछ ।
२०७५ मङ्सिर ९ गते वडाध्यक्ष रामसोहन थारुको निधनपछि रिक्त पदका लागि कोहलपुर वडा नम्बर–६, मा हुन लागेको उपनिर्वाचनमा विभिन्न कार्यक्रम गर्दै उम्मेद्वारहरुले मतदातालाई रिझाउने प्रयास गरिरहेका छन् । मतदातालाई आफ्नो पकडमा पार्न राजनीतिक दलहरु भेला, अन्तरक्रिया र प्रचारमा जुटेका छन् । यतीवेला निर्वाचन केन्द्रित कार्यक्रम तिव्ररुपमा अघि बढेपछि वडामा खोलिएका दलका सम्पर्क कार्यालयमा नेता र कार्यकर्ताकोहरु भीड छ ।
सत्तारुढ पार्टी र सबैभन्दा ठूलो दल भएकाले नेकपाले तामझामसहित सक्रियता देखाइरहेको छ । नेकपा कोहलपुर नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारी–‘भातृ तथा शुभेच्छुक संगठनलाई सबै तहसम्म पु¥याउन र जनमत नेकपाको पक्षमा ल्याउन खटिइरहेका छौं । हामीले टोलटोल, गाउँगाउँसम्म कार्यक्रम गरिरहेका छौं ।’ उनले भनिन्–‘नगर अध्यक्ष अधिकारीले निर्वाचन नजिकिसकेकोले सोही अनुसार भेला, अन्तरक्रिया र प्रचारलाई तीव्र बनाएका छन् ।’
उनले भनिन्, ‘मतदाताहरु सरकारका काम कारबाही बारे सन्तुष्ट हुनुहुन्छ । यसले पनि हामीले निर्वाचन जित्नेमा ढुक्क छौं । सरकारका बारेमा गरिएका गलत प्रचारलाई मतदातालाई स्पष्ट पार्दै अघि बढेका छौं । दिनहुँ हाम्रा चुनावी अभियान र गतिविधि तीव्ररुपमा अघि बढेका छन् ।’
घरदैलो अभियानसँगै नेपाली काँग्रेसले पनि प्रचारका कार्यक्रमहरुलाई तीव्रता दिइरहेको कोहलपुर नगर सभापति बलराम शर्माले बताए ।
‘विगतमा पनि हामीले नै जितेका हौं । यस पटक पनि हामी निर्वाचनलाई आफ्नो पक्षमा पार्छौ । मतदाताहरु सरकार र कोहलपुरमा नेकपाबाट निर्वाचितहरुको कामप्रति सन्तुष्ट हुनुहुन्न । त्यसलै पनि हाम्रो जीत निश्चित छ,’ नगर सभापति शर्माले भने ।
काँग्रेसले पनि मतदातालाई रिझाउन वडाका टोलटोलमा चुनावी गतिविधिलाई तीव्रता दिएको छ । नगर सभापति शर्माले भने, ‘हामीले मतदातालाई आफ्नो पक्षमा पार्ने रणनीति अपनाइरहेका छौं ।’
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो चुनावी गतिविधिलाई तिव्रता दिएकोछ । नेकपा र काँग्रेसबीच कडा प्रतिश्पर्धा हुने र त्यही बीचबाट आफ्नो जित निकाल्ने दाउमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियानलाई तीव्र बनाएको राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटा बताउँछन् ।
उनले भने, ‘हामीले चुनावी अभियानलाई प्रविधिमैत्री बनाएका छौं । सबै टोलमा उम्मेद्वारसहित प्रचारका कामहरु भइरहेका छन् । तयसका साथै हामीले प्रोजेक्टरमार्फत पार्टीका प्रतिवद्धताहरु आम मतदाताहरुसामु राखिरहेका छौं । हामीले अन्य दलभन्दा योग्य, शिक्षित र युवा उम्मेद्वार छनोट गरेकाले जीत सुनिश्चित छ ।’
गाउँको विकास र समृद्धिको लागि मतदाताले राप्रापालाई मतदान गर्ने केन्द्रीय सदस्य देवकोटाको दावी छ । जिल्लामै एउटा मात्र वडामा उपनिर्वाचन हुन लागेकोले सबै दलहरुको ध्यान कोहलपुर वडा नम्बर–६, मै गएको छ । बाँके जिल्लामा घर भएका दलका केन्द्रीय नेताहरु समेत कोहलपुर–६, मै बसेर चुनावी रणनीति बनाइरहेको सम्वद्ध दलहरुले बताएका छन् । सत्तारुढ नेकपा र प्रमूख प्रतिपक्षी दल काँग्रेसले थारु समुदायबाट उम्मेद्वार उठाएका छन् ।
राप्रपाले भने पहाडी समुदायबाट उम्मेद्वार छनोट गरेको छ । थारु मतदाता धेरै रहेको वडा भएकाले दुई ठूला दलले थारु समुदायबाट उम्मेद्वार बनाउँदा थारु समुदायको मत विभाजन हुने र त्यसको फाइदा राप्रपालाई हुने अनुमान गरिएको छ ।
दलहरुले विकास र समृद्धिलाई नै मुख्य मुद्दा बनाएर मतदातासम्म लैजाने र मन जित्ने दाउमा छन् । तीन ठूला दलसँगै नेपाल मजदुर किसान पार्टी र समाजवादी पार्टीले पनि चुनावी अभियान चलाइरहेका छन् ।
कोहलपुर–६ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काँग्रेसबाट श्रीकृष्ण थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदी, नेपाल मजदुर किसान पार्टीबाट दिपालक्ष्मी हमाल र समाजवादी पार्टीबाट शुभाखर पोख्रेल चुनावी मैदानमा उत्रिएका छन् ।
गत २०७४ मा भएको निर्वाचनमा एक हजार ९ सय ६४ मतदाता रहेको सो वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् ।
गणितीय जोड घटाउकै बीचबाट जीतको दाउ मार्न राप्रपाबाट युवा नेता श्रीधर सुवेदी लागिपरेको बताँछन् । वडाबासीबीच निकै लोकप्रिय बनेका सुवेदीले त्रिपक्षिय भिडन्तबाट आफ्नो स्थान सुरक्षित हुनेमा ढुक्क छन् । पत्रकारिता हुँदै राजनीतिमा होमिएका श्रीधर हरेक कोणबाट वडाध्यक्षका लागि योग्य, दक्ष र क्षमतावान भएको स्वयं वडाबासीहरुले नै बताउने गरेका छन् । वडाका युवामाझ लोकप्रिय श्रीधरको उम्मेदवारी यतिबेला नेकपा र काँग्रेसको टाउको दुखाई भएको छ ।
नयाँ जोसजाँगर र वडाको समृद्धिका लागि वडाध्यक्षका दाबेदार श्रीधर घरदैलोमा व्यस्त छन् । उनी आफूलाई कोहलपुर वडा नमबर–६, को चौकीदार भएको बताउँछन् ।
यता उपनिर्वाचनमा नेपाली काँग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउन हम्मेहम्मे हुने देखिएको छ, भने नेकपाले निर्वाचन परीणाम आफ्नो पक्षमा पार्दै काँग्रेसको विरासत भत्काउने दाउमा सत्ता र शक्तिको प्रयोग गरिरहेको छ । यी दुई ठूला दलहरुबीच कडा प्रतिस्पर्धा हुने र त्यसबाट आफ्नो जीत निकाल्ने निश्चित भएको राप्रपाको ठम्माई छ ।
‘नेकपा र काँग्रेसको विकल्प राप्रपा नै हो । हाम्रो जीत निश्चित छ,’ राप्रपाका उम्मेदवार श्रीधरले भने, ‘मतदातासमक्ष पुगेर भोट मागिरहेका छौं ।’ यसअघि काँग्रेसले जितेको उक्त वडामा अहिले त्रिपक्षिय भीडन्त हुने देखिएको छ । मतदाताहरुले अहिले पार्टी र जातभन्दा माथि उठेर राप्रपाका उम्मेद्वारलाई सघाउने आशय व्यक्त गरेका छन् । नेकपा र काँग्रेस उम्मेदवारको तुलनामा राप्रपाका उम्मेदवार श्रीधर आमवडाबासीको रोजाईमा छन् ।
काँग्रेसका उम्मेद्वार श्रीकृष्ण थारू यसअघि सिद्धार्थ आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यालयको तला थप्ने भन्दै महायज्ञ लगाएर लाखौं रकम हिनमिना गरेको विद्यालय स्रोतले जनाएको छ । जसका कारण उनी आफ्नै (थारु) समुदायमा विवादित छन् भने अर्का नेकपाका उम्मेद्वार रामशरण थारुले तत्कालिन अवस्थामा माओवादी हुँ भन्दै वडाबासीलाई बेलाबेलामा सताउँदै आएकोले पनि यीनको वडामा राम्रो छवि नभएको स्थानीय मतदाताको आँकलन छ ।
यी दुबै उम्मेदवार वडाबासीका लागि उपयुक्त नभएको भन्दै मतदाताहरुको छनोटमा श्रीधरले बाजी मार्ने निश्चित देखिएको छ ।