मन्त्रिमण्डल हेरफेरप्रति नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभू साहको विरोध
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुर्नगठित मन्त्रीमण्डलले सपथ तथा गोपनीयताको शपथ लिएकाछन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार(आज) बिहान आयोजित शपथ तथा गोपनीयता समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । यस्तै ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्रीले शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए ।
नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपतिले र राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने संवैधानिक व्यवस्था अनुसार पद तथा गोपनियताको शपथ गराइएको हो । शपथसँगै नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको काम गर्न बाटो खुलेको छ । नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू वसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी र पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् ।
नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै भुसाललाई कृषिमन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन र पार्वत गुरुङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रयको जिम्मेवारी दिइएको छ । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।
८ मन्त्री भने बर्खास्तीमा परेका छन् । मन्त्री पद गुमाउनेहरूमा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । त्यस्तै पूर्वमाओवादी कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।
यसैबीच, मन्त्रिमण्डल हेरफेरप्रति नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभू साहले विरोध गरेका छन् ।
उनले कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको आरोप लगाएका छन् ।
‘कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखिएन ।’
मन्त्रीको आकांक्षी उनले योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको कार्यशैलीले लज्जित बनाएको पनि बताएका छन् ।