सुन्दर पश्चिम नेपाल जोड्ने नेपालगन्ज स्वर्ग: पर्यटन मन्त्री भट्टराई

नेपालगन्ज उद्योग वाणिज्य संघको २८ औं साधारणसभा


सुन्दर पश्चिम नेपाल जोड्ने नेपालगन्ज स्वर्ग: पर्यटन मन्त्री भट्टराई

नेपालगन्ज: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुन्दर पश्चिम नेपाल जोड्ने नेपालगन्ज स्वर्ग भएको बताएका छन् ।

मन्त्री भट्टराईले शनिबार नेपालगन्जमा आयोजित नेपालगन्ज उद्योग वाणिज्य संघको २८ औं साधारणसभाको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

भ्रमण वर्ष आउन केही समयमात्रै बाँकी रहेकाले यसलाई सफल बनाउन मन्त्री भट्टराइले सरकारलाई पूर्ण सहयोग गर्न नेपालगन्जका उद्योगी व्यवसायीसंग आग्रह गरे ।

उनले भने, ‘भ्रमण वर्ष आइसक्यो, पर्यटनको ट्रान्जिट नेपालगन्जका उद्योगी व्यवसायीहरुले सरकारलाई सकेजति सहयोग गर्नुस् ।’ उनले पश्चिम नेपालका सुन्दर पर्यटकीयस्थल मानसरोवर, रारा, से–फेक्सुण्डो, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न र कर्णाली लगायतका नदीहरुमा ¥याफ्टिङ्ग गर्न, अन्य पर्यटकीय क्षेत्रको घुमफिरका लागि नेपालगन्ज स्वर्गका रुपमा रहेको तर्क राखे । ‘नेपालगन्ज पर्यटकहरुका लागि स्वर्गभूमी हो । पश्चिम नेपाल घुम्न यहाँ आउनैपर्छ,’ उनले भने ।

Kanti Aarogya Hospital Nepalgunj

सभालाई सम्बोधन गर्दै मन्त्री भट्टराइले नेपालगन्जलाई थप पर्यटकीय र औद्योगिक शहरका रुपमा विस्तार गर्न सरकारले प्रतिबद्ध भई अघि बढ्ने बताए ।

नेपालगन्ज उद्योग बाणिज्यसंघको २८ औं साधारण सभालाई सम्बोधन गर्दै उनले भने –‘प्रदेश राजधानी तत्काल हुदैन । हाम्रा उत्तेजना र आवेशले राजधानी फिर्ता हुन सक्दैन,’ मन्त्री भट्टराईले अगाडी भने, ‘हिजोका हाम्रा सोचाइँ र उत्तेजनाका कारण नेपालगन्जले राजधानी गुमाएको हो । अब फिर्ता हुन सक्दैन ।’

मन्त्री भट्टराईले राजधानी नभए पनि नेपालगन्ज शहर मृत नभई जीवित शहरकै रुपमा अघि बढेको बताए । ‘नेपालगन्ज मृत होइन जीवित शहर हो, पर्यटकीय ट्रान्जिट हो, औद्योगिक नगरी हो । राजधानी नभए पनि राजधानीसरह यसको विकास हुन्छ र भइरहनेछ,’ मन्त्री भट्टराईले भने, ‘हामी हिजोका सोचाइँबाट मुक्त भएर अघि बढौं । यहाँ धेरै सम्भावनाहरु छन् ।’

सो क्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी रााणाले–‘निजीक्षेत्रले पनि भ्रमणवर्षलाई भब्यतापूर्वक सफल पार्न सहयोग गर्ने बताईन । उनले–‘ भ्रमणवर्षबाट निजीक्षेत्रलाई समेत लाभ हुने हुदाा त्यसका लागि सरकारसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाइन् ।’
अध्यक्ष राणाले सरकारले व्यवसायीका समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने बताइन् ।

उनले यहाँका व्यवसायीहरुले जटिबुटी निकासी लगायतका क्षेत्रमा व्यहोर्नुपरेको समस्या केही सहज भए पनि समस्यालाई पूर्णरुपमा अन्त्य गर्नका लागि सरकारले ठोस् पहल गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सरकार व्यवसायीमैत्री बन्दै गएको छ, अझै केही समस्याहरु छन्, ती समस्याहरु समाधानका लागि सरकारले पहल गरिदिनुपर्छ ।’

बाँकेमा शनिबार दिनभर विभिन्न कार्यक्रममा व्यस्त मन्त्री भट्टराईले आगामी पाँच वर्षभित्र नेपालगन्ज विमानस्थललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाइने बताएका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न नेपालगन्ज विमानस्थलमा पाँच वर्षमा रु.१५ अर्ब बजेट खर्च गर्ने सरकारको लक्ष्य रहेको बताए । सुविधा सम्पन्न बनाएर यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि मन्त्रालयले कार्ययोजना अघि बढाएको समेत उनले बताए ।