उपनिर्वाचन–२०७६: देशभर काँग्रेस भर्सेस नेकपा


उपनिर्वाचन–२०७६: देशभर काँग्रेस भर्सेस नेकपा

नेपालगन्ज: यसपटकको उपचुनावमा नेपाली काँग्रेसले एमाले र माओवादी एकीकरण भएर बनेको संगठित नेकपाको सामना गर्नुपर्ने देखिएकोछ ।

अघिल्लो चुनावको गणितलाई आँकलन गर्दा नेकपा र काँग्रेसवीचको मतान्तर धेरै ठूलो भएकाले नेकपाले पहिले जितेका सीटहरु जोगाउँदै थप जित हात पार्ने अनुमान गरिँदै आएको भएपनि चुनावको दिन नजिकिँदै जाँदा काँग्रेसका उम्मेदवारहरुमा देखिएको उत्साहले चुनावि मत परिणाम फरक आउने बुझिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले धरान, पोखरा, भक्तपुर, दाङ र बाग्लुङमा आफ्नो विरासत कायम गर्ने पक्कापक्की जस्तै बनेकोछ । काँग्रेसले आफ्नो उपस्थित सुधारेपछि यी स्थानमा विजय हुने आँकलन गरिएकोछ ।

यद्यपि काँग्रेसको बढोत्तरी जितकै तहमा पुगेको छ या मतान्तर घटाउनमात्रै सीमित हुन्छ भन्ने चाहिँ शनिबार सम्पन्न हुने चुनावकको नतिजा पर्खनुपर्ने हुन्छ । यसअघि उपचुनावको घोषणा हुदाँ जति निराश काँग्रेस देखिन्थे, चुनावी रणनीतिमा आक्रमकरुपमा अघि बढ्दा उत्साही देखिएका छन् ।

धरान र कास्कीलाई नेपाली काँग्रेसले विशेष जोड दिएको देखिन्छ । पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु यसअघि धरान र पोखरामा केन्द्रित भएर चुनावी माहोल तताइसकेका छन् ।

यता सत्तापक्ष नेकपाको शीर्ष नेतृत्वले पनि बाग्लुङ, पोखरा, धरानलगायतका स्थानमा चुनाव प्रचारमा व्यस्त छ । बुधबार बिहानै नेकपा अध्यक्ष प्रचण्ड अन्तिम चुनावी सभालाई सम्बोधन गर्न पोखरा पुगेका छन् । पोखराको कार्यक्रम सकेर आजै प्रचण्डले धरानको सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।