कोहलपुर : कोहलपुर नगरपालिकामा शनिबार हुने उपनिर्वाचनमा त्रिपक्षिय भिडन्त हुदैछ । आ–आफ्ना दावि र ठोकुवा गर्दै चुनावि प्रचारप्रसारमा उत्रिएका सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी, प्रमूख प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच रोमाञ्चक प्रतिश्पर्धा हुनेछ । सगैं चुनावी मैदानमा उत्रिएका साना दुई दल नेपाल मजदुर किसान पार्टी र समाजवादी पार्टी छाँयाँमा परेकाछन् ।
उपनिर्वाचनमा नेकपाबाट उम्मेद्वार बनेका रामशरण थारु र काँग्रेसबाट उम्मेद्वार बनेका श्रीकृष्ण थारूको व्यक्तिगत छवी धुमिल भएकै कारण त्यसको फाइदा राप्रपाले उठाउने निश्चित छ । काँग्रेसका उम्मेद्वार श्रीकृष्णले यसअघि सिद्धार्थ आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा विद्यालयको तला थप्ने भन्दै महायज्ञ लगाएर लाखौं रकम हिनमिना गरेको आरोप लागेको छ ।
त्यस्तै नेकपाका उम्मेद्वार रामशरणले तत्कालिन अवस्थामा माओवादी हुँ भन्दै वडाबासीलाई बेलाबेलामा सताउँदै आएकोले उनीप्रति वडाबासीहरु रुष्ट छन् । यी दुबै उम्मेद्वार वडाबासीका लागि उपयुक्त नभएको भन्दै मतदाताहरुको विकल्पका रुपमा राप्रपा छनोटमा परेको छ । यो सगैं राप्रपाका उम्मेदवार श्रीधरले बाजी मार्ने निश्चित देखिएको छ ।
आर्थिक अनियमिततामा मुछिएका व्यक्तिप्रति विश्वास गर्न नसकिने वडाबासीहरुको भनाई छ । दुई पटक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएका थारुले झण्डै ११ लाख रुपैयाँ हिनामिना गरेको विद्यालय श्रोतले बताएको छ । झण्डै ११ लाख रुपैयाँ अनियमिता गरे पनि काँग्रेसको आडमा बारम्बार उम्कँदै आएका श्रीकृष्णलाई काँग्रेसले उम्मेदवार बनाएर गल्ती गरेको काँग्रेस वृत्तमै चर्चा पनि चलेकोछ ।
रझेना गाउँमा बडघर हुँदासमेत श्रीकृष्णले अनियमिता गरेको स्थानीयहरुको आरोप छ । श्रीकृष्णले सुतैया नालमा पुल निर्माणका लागि भन्दै काँग्रेस नेता गोकुल थारुको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर पाँच लाख रुपैयाँ झ्वाम पारेको नाम नबताउने शर्तमा एकजना स्थानीयले बताए ।
श्रीकृष्णले पुल निर्माणका लागि दुई ट्रयाक्टर ढुङ्गा झारेर तत्कालीन जिल्ला विकास समितिबाट पाँच लाख रुपैयाँ हिनामिना गरेको काँग्रेस निकट स्रोतले बतायो ।
वडाबासीहरुले आफ्नो वडाको मतदातासमेत नरहेकाले श्रीकृष्णप्रति विश्वास गर्ने आधार नभएको बताउँछन् । अहिले कोहलपुर नगरपालिका वडा नम्बर–६ मा यही चर्चा चलिरहेको छ । श्रीकृष्ण कोहलपुर वडा नम्बर–५, को मतदाता रहेको स्रोतको दावि छ । ५ नम्बर वडाका स्थायी बासिन्दा श्रीकृष्ण वडा नम्बर–६, को वडाध्यक्ष पदका लागि उम्मेदवार बनेपछि निर्वाचन जित्ने कुनै आधार नभएको वडाबासीहरुको दावी छ ।
हाल उनी कोहलपुर नगरपालिका–५ प्रगतिनगरमा बस्दै आएका छन् । नाम नछापिदिने भन्दै एक मतदातले भने, ‘हाम्रो वडाको अध्यक्ष अर्को वडाको व्यक्तिलाई कसरी दिने ? ६ नम्बर वडाको अध्यक्ष कोहलपुर ५ मा स्थायी बसोबास भएका श्रीकृष्णलाई बनाउन सकिँदैन । हामीले युवा र योग्य उम्मेद्वार छनोट गर्छौ । युवाहरुको भोट राप्रपाका उम्मेद्वार श्रीधर सुवेदीलाई जान्छ । उनीभन्दा योग्य र सक्षम व्यक्ति यसपटक कोही छैन ।’
यता आफु ‘साधु र सादगी’ रहेको भन्दै मत माग्दै हिँडेका सत्तारुढ नेकपाका उम्मेद्वार रामशरण तत्कालिन माओवादीमा हुँदा स्थानीयहरुलाई अनावश्यक दुःख दिने गरेकाले व्यक्तिगत रुपमा उनलाई मतदाताहरुले रुचाएका छैनन् ।
आफू ‘साधु’ भएको भन्दै मतदाताहरुसँग मत माग्दै आएका उनीप्रति वडाबासी विश्वस्त नरहेको बताउँछन् । स्थानीय मतदाताले भने, ‘उनले विगतमा माओवादीका नाममा दिएको दुःख यहाँका वडाबासीले बिर्सिएका छैनन् । यो त पालोको पैचो हो । म मतदान गर्दिन अरुले पनि दिदैनन् ।’
त्यसो त नेकपा निकट स्रोतका अनुसार बाहिर नेकपाको प्रचार बलियो देखिए पनि उम्मेदवारकै कारण निर्वाचनमा पराजय भोग्नुपर्ने पार्टीभित्रै आँकलन गरिएको छ । ‘उम्मेदवारको पृष्ठभूमीकै कारण निर्वाचनमा पराजय हुनुपर्ने स्थिति आउन सक्छ । उम्मेदवार छनोट गर्दा ध्यान दिइएन अब घाटा व्यहोर्नु निश्चित छ,’ स्रोतले भन्यो, ‘अहिले केही उपाय नलागेपछि ‘साधु र सादगी’ व्यक्ति रहेको नारा बनाइएको छ । यसले निर्वाचन जितिँदैन ।’
जिल्लामा एकमात्र उपनिर्वाचन हुने वडा भएपछि सर्वत्र चासो बढेको छ । गणितीय जोड घटाउकै बीचबाट जीत निकाल्ने दाउमा राप्रपा लागिपरेका छन् । वडाबासीबीच निकै लोकप्रिय बनेका राप्रपा उम्मेद्वार श्रीधर सुवेदी त्रिपक्षिय भिडन्तबाट आफ्नो स्थान सुरक्षित हुनेमा ढुक्क छन् । पत्रकारिता हुँदै राजनीतिमा होमिएका श्रीधर हरेक कोणबाट वडाध्यक्षका लागि योग्य, दक्ष र क्षमतावान भएको वडाबासीहरुको ठम्याईछ ।
आफूलाई कोहलपुर वडा नम्बर–६ को ‘चौकीदार’ भएको बताउने श्रीधरकै कारण काँग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउन मुस्किल भएको छ, भने नेकपाले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सत्ता र शक्तिको प्रयोग गरिरहेको छ । दुई ठूला दलले उठाएका उम्मेदवारको छवी धुमिल भएकै कारण स्वच्छ छवी भएका श्रीधरको जीत निश्चित रहेको वडाबासीहरुकै आँकलन छ ।
‘नेकपा र काँग्रेसको विकल्प राप्रपा नै हो । हाम्रो जीत निश्चित छ,’ राप्रपाका उम्मेदवार श्रीधरले भने । मतदाताहरुले अहिले पार्टी र जातभन्दा माथि उठेर राप्रपाका उम्मेदवारलाई सघाउने आशय व्यक्त गरेका छन् । नेकपा र काँग्रेस उम्मेदवारको तुलनामा राप्रपाका उम्मेदवार श्रीधर मतदाताको रोजाईमा परेका छन् । उनलाई नेकपा र काँग्रेसभित्र देखिएको अन्तरकलहले थप फाइदा दिएको छ ।
नेकपा र काँग्रेसभित्र उम्मेदवारकै कारण अन्तरकलह भइरहेको पार्टी निकट स्रोतको भनाई छ । नेकपा र काँग्रेसमा पार्टीभित्र युवाहरुलाई निषेध गरेर अघि बढ्न खोजेपछि यसअघि ती पार्टी निकट युवाहरु राप्रपामा प्रवेश गरेका छन् ।
काँग्रेस निकट तरुण दलका कोहलपुर नगर सदस्य होमराज ओलीले उपनिर्वाचनको मुखमा काँग्रेस परित्याग गरे, यस्तै नेकपामा उदयराज हमालले पनि नेकपा परित्याग गरे । हमाल र ओलीले पार्टि त्याग गर्दै राप्रपामा प्रवेश समेत गरिसकेकाछन् । यो सगैं नेकपामा रहेका युवाहरुले पनि राप्रपालाई सघाउने आन्तरिक तयारी गरिरहेका छन् । कोहलपुरमा युवा संघ र तरुण दलमा आवद्ध युवाहरुले मतदानमा राप्रपालाई सघाउने आन्तरिक तयारी गरेको स्रोतको भनाई छ ।
युवाहरुले मतदानमा राप्रपालाई सघाउने भएपछि त्यसको घाटा नेकपा र काँग्रेसले व्यहोर्नुपर्ने निश्तिछ । त्यसो त उपनिर्वाचन नजिकिँएसँगै कोहलपुर–६ मा नेकपा र काँग्रेसभित्र अनेक खालका चर्चा चलिरहेका छन् । स्रोतका अनुसार कोहलपुरमा नेकपा र काँग्रेसको एउटा समुहले आन्तरिकरुपमा राप्रपालाई सघाउने तयारी गरिरहेको छ । ‘कोहलपुरमा नेकपा र काँग्रेसको ठूलो हिस्सा राप्रपालाई सघाउने आन्तरिक तयारीमा छ,’ स्रोतले भन्यो ।
कोहलपुर–६ मा नेकपाबाट रामशरण थारु, काँग्रेसबाट श्रीकृष्ण थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदी, नेपाल मजदुर किसान पार्टीबाट दिपालक्ष्मी हमाल र समाजवादी पार्टीबाट शुभाखर पोख्रेल चुनावी मैदानमा छन् ।
गत २०७४ मा भएको निर्वाचनमा एक हजार ९६४ मतदाता रहेको सो वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन् । जिल्लामा एकमात्र उपनिर्वाचन हुने वडा भएपछि सर्वत्र चासो बढेको छ । शनिबार हुने उपनिर्वाचनमा काँग्रेसले आफ्नो विरासत जोगाउँछ वा नेकपाले ढाल्छ या त्रिपक्षिय भिडन्तका विचबाट राप्रपाले दाउ मार्छ ? त्यसका लागि आईतबारको मतपरिणाम कुर्नुपर्छ ।