१६ वडाको मतगणना सकियोः नेकपाको वर्चश्व

नेकपा १४, काँग्रेस र समाजवादी एक–एक स्थानमा विजयी


१६ वडाको मतगणना सकियोः नेकपाको वर्चश्व

नेपालगन्ज: उपनिर्वाचनका लागि भएको मतगणा यतिवेला चलिरहेकोछ । यो सगैं ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आउन थालेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा १४ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१३ मा नेकपाका उमेदवार भरतकुमार घिमिरे निर्वाचित भएका छन् । उनले काङ्ग्रेसका उमेदवार विक्रम गुरूङलाई पराजित गरे । उनले ४६७ मत प्राप्त गरे ।

भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा नेकपाका उमेदवार जितेन्द्र राई निर्वाचित भए । उनले ६१९ मत ल्याए भने काँग्रेसका उमेदवार सम्मरबहादुर कार्कीले २५४ मत ल्याए ।

बाग्लुङ बडिगाड गाउँपालिका–२ मा नेकपाका उमेदवार ढालप्रसाद शेरचन ७०४ मत प्राप्त गरी निर्वा्चित भएका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका उमेदवारले ४१२ मत प्राप्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को उपनिर्वाचनमा सत्तारूढ दल नेकपाका उमेदवार शिवभक्त बलामी निर्वा्चित भएका छन् । उनले ६१८ मत प्राप्त गरे । काँग्रेसका उमेदवारले २७८, राप्रपा (संयुक्त)ले १०७ र राप्रपाले ७ र २९ मत बदर भएको बताइएको छ ।

धुलिखेल नगरपालिका–२ को उपनिर्वाचनमा पनि नेकपा विजयी भएको छ । नेकपा उमेदवार देवप्रसाद कोइरालाले ८६८ मत प्राप्त गरेका छन् । काँग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२, राप्रपा (संयुत्त)का उमेदवार बासु थापाले ६ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपा विजयी भएको छ । रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपाका उमेदवार केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राले तामाङले ४३१ मत प्राप्त गरे । पशुपति शमशेर नेतृत्वको राप्रपा (संयुक्त)ले १२, कमल थापा नेतृत्वको राप्रपाले ३ र ९ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अघिल्लो निर्वाचनमा त्यहाँ काँग्रेस निर्वाचित भएको थियो ।

खोटाङको साकेला गाउँपालिका–३ मा पनि नेकपा निर्वाचित भएको छ । त्यहाँ नेकपाकी उमेदवार शिवकला राई विजयी भइन् । डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वाचित भएका छन् ।

लम्जुङ सुन्दरबजार नगरपालिकामा नेकपाका उमेदवार विजयी भएका छन् । वडा नम्बर २ को रिक्त वडाध्यक्ष पदमा शनिबार भएको उपनिर्वाचनमा नेकपाका उमेदवार नवीन श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेदवार प्रकाश सेढाइँले ४ सय ८२ मत ल्याए ।
सोही निर्वाचनमा राप्रपाले १६ र स्वतन्त्र उमेदवारले १२ मत प्राप्त गरेका छन् । १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पुनर्वास नगरपालिका–३ मा पनि सत्तारूढ नेकपा नै विजयी भएको छ । खानेपानीमन्त्री बिना मगरको वडासमेत रहेको पुनर्वास–३ मा ९२४ मत खसेकामध्ये ५२८ मत ल्याएर कृष्णबहादुर तामाङ निर्वाचित भए । काँग्रेसका दीपबहादुर तामाङले ३९० मत प्राप्त गरे ।

यसअघि रोल्पाको विद्रोही थवाङमा नेकपा नै निर्वाचित भएको थियो । विरलै मताधिकार प्रयोग गर्ने विद्रोही उपनाम पाएको थवाङमा १ सय ५४ मत प्राप्त गरी नेकपाका जनकबहादुर बुढामगर निर्वाचित भएका थिए । प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलबहादुर रोकामगरले २६ मत प्राप्त गरेका थिए । यद्यपि त्यहाँका ८६ प्रतिशत मतदाताले मतदान नै गरेनन् ।


यता पश्चिम नेपालको सल्यानको कुमाखमालिका गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपाका उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । कुल ११ सय २४ मत खसेको मध्ये बुढाथोकीले ७ सय ९२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी काँग्रेसका खडकबहादुर बुढाथोकीले २ सय ५१ मत ल्याएका छन् ।

त्यस्तै रुरु गाउँपालिका– २ गुल्मीमा पनि नेकपा ७८ मतले निर्वाचित भएको छ । त्यहाँ गिरिप्रसाद सिञ्जाली निर्वाचित भएका छन् । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–५ मा पनि नेकपाका खिमबहादुर खरुमगर निर्वाचित भएका छन् ।

समाजवादीले सर्लाहीको हरिपुर्वा नगरपालिका–१ वडामा जित हात पारेको छ । हरिपुर्वामा समाजवादी पार्टीका श्यामबाबुले रायले ३४७ मत ल्याएर जिते । प्रतिस्पर्धी राजपाका रामविश्वास रायले ३२८ मत ल्याए । नेकपाका उमेदवार दोस मोहम्द अन्सारीले पनि उत्तिकै ३२८ मत ल्याएका थिए । चौथो भएको जनमत पार्टीले ५२ र पाँचौं कांग्रेस पार्टीले २३ मत ल्याएको छ ।

यसैबीच नेपाली काँग्रेसले बैतडीबाट विजयीको सुरूआत गरेको छ । सुदूर पश्चिमको जिल्ला बैतडीको सुनर्या गाउँपालिका–१ मा काँग्रेसका गजेन्द्रबहादुर चन्द ४ मत बढीले विजयी भएका हुन् । उनले २ सय १९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी नेकपाका उमेदवारलाई पछि पारे ।