नेपालगन्ज : बाँकेको खजुरामा सञ्चालित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको विषयमा पुर्वाग्रही ढंगले सरकारले निर्णय गरेको भन्दै नेपाली काँग्रेस बिरोधमा उत्रिएको छ ।
काँग्रेस बाँकेले आइतबार स्थानीय प्रशासनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । निमित्त प्रमुख जिल्ला
अधिकारी मोहन अर्याललाई पार्टी सभापति किरण कोइरालाले उक्त ज्ञापन पत्र हस्तान्तरण गरिन् ।
सरकारले गठन आदेश २०१३ मातहतमा गठन भएका मुलुकका ११ वटा अस्पताललाई खारेज गरेको छ । ती मध्ये ९ वटा अस्पताललाई सरकारले आफ्नो स्वामित्वमा लिएपनि सुशिल कोईराला प्रखर परोपकार क्यान्सर अस्पतालसहित दुई वटा अस्पताल खारेजीमै रहेको जनाइएको छ ।
संघीय सरकारकै स्वामित्वमा रही सुशिल कोईराला नामाकरण पनि नेपाल सरकारको निर्णयबाट भएको हुँदा नामप्रति पुर्वाग्रही राखी नाम हटाउन लागेको विज्ञप्तीमा उल्लेख छ ।
ज्ञापन पत्र बुझाइसकेपछि सभापति कोइरालाले सरकारले ११ वटा अस्पताल मध्ये गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालको विषयमा मात्र पुर्वाग्रही राखेको बताईन् । सरकारले आफ्नो निर्णय नसच्याए सडकमा उत्रिन बाध्य हुने चेतावनी दिईन् । सुशिल कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालका संस्थापक अध्यक्ष एवम् खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले अस्पतालको विषयमा निर्णय भएको बारे अहिलेसम्म कुनै पत्र नआएको बताए । यतिबेला उक्त अस्पतालको नाम फेर्ने विषयमा नेकपा र काँग्रेसबीच जुहारी नै चलेको छ ।