काठमाडौं: सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाको चुनाव माघ ९ गते गर्ने जानकारी दिएका छन् ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ । सोहीअनुसार सरकारले माघ ९ गते चुनाव घोषणा गरेको हो ।
राष्ट्रियसभाका नेकपाका ८, काँग्रेसका ७, राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ ।
यसपटक काँग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईंसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।
त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।