‘बम’ डिस्पोज गर्दा चरेश


‘बम’ डिस्पोज गर्दा चरेश

बर्दिया : बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान भेटिएको शंकास्पद बस्तु चरेश रहेको खुलासा भएको छ । ठाकुरबाबा नगरपालिका–२ सिँहवाहिनी क्याम्पस नजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । तर शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा चरेश भएको खुलासा भएको हो ।

शंकास्पद झोलाभित्र झण्डै ११ किलो चरेश फेला परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए । सुरक्षाको दृष्टिकोणले बिहान साढे ९ बजेदेखि मध्यान्न १२ बजेसम्म राजमार्गमा गुड्ने यातायातका साधनमा रोक लगाइएको बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए ।

सदरमुकाम गुलरियाबाट बिहान ११ बजेतिर पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गर्न तयारी गर्दा झोलाभित्र चरेश फेला पारेको हो । दिउँसो सवा १२ बजेपछि यातायात सञ्चालन भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

शनिवार बिहान भुरीगाउँको रानीपुर चोकमा ट्राफिक प्रहरीले नियमित चेक गरिरहेको थियो । प्रहरीले चेक गरिरहेको थाहा पाएपछि चरेशसहितको झोला राजमार्ग किनारमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।