असुरक्षित बन्दै कानून व्यवसायी


असुरक्षित बन्दै कानून व्यवसायी

नेपालगन्ज : बाँकेको नेपालगन्जमा पीडितको न्यायका लागि बहस गर्ने कानून व्यवसायी र उनीहरूका ‘ल फर्म’ नै असुरक्षित देखिएका छन् । बाँके जिल्ला अदालतमा चलिरहेको नेपालगन्जको एक सहकारी विरूद्धको मुद्दामा प्रतिबादीका तर्फबाट बहस गरेकेै कारण यहाँका कानून व्यवसायी नागरिकबाट असुरक्षित देखिएका हुन् ।

प्रतिबादीका तर्फबाट बहस गरिरहेको नेपाल बार एशोसियसनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा सद्भाव दैनिकका कानूनी सल्लाहकार सुनील श्रेष्ठमाथि बुधबार भौतिक कारबाहीको धम्की आएसँगै बाँकेका कानून व्यवसायीले असुरक्षित महशुस गरेको नेपाल बार उच्च अदालत नेपालगन्जका अध्यक्ष विकास आचार्य बताउँछन् ।

सहकारीको मुद्दाका बिषयमा प्रतिबादीका तर्फबाट बहस गर्दा पक्षतर्फका ५० बढी व्यक्तिहरू बार केन्द्रीय बरिष्ठ उपाध्यक्ष श्रेष्ठकै ‘ल फर्म’ मै पुगेर उक्त मुद्दाका बिषयमा बहस नगर्न चेतावनी दिएका थिए । उक्त चेतावनीसँग उनीहरूले प्रतिबादीका तर्फबाट बहस गरेको खण्डमा भौतिक कारबाही गर्नेसम्मको धम्की दिएको बरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए ।

हुलाक कार्यालय नजिकै रहेको ल फर्ममै पुगेर ती अज्ञात व्यक्तिहरूले हातपात नै गर्न खोजेको उपाध्यक्ष श्रेष्ठ बताउँछन् । तर, आफू धेरै संयमित भएका कारण हातपात गर्न नसकेपनि आइन्दा उक्त मुद्दामा प्रतिबादीका तर्फबाट बहस गरे ज्यानै मार्ने कारबाही गरिने भन्दै धम्कि दिएर गएको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

ल फर्ममा आएर धम्की दिने कसैलाई पनि आफूले नचिनेको श्रेष्ठ बताउँछन् । यसले कानूनत् पीडितले पाउने न्याय र न्यायका लागि गरिने कानूनी प्रक्रियामा समेत आँच आएको उनको भनाई छ । बारका केन्द्रीय बरिष्ठ उपाध्यक्षमाथी नै यस्तो धम्की आउनु बाँके मात्र नभई देशभरकै कानून व्यवसायीमाथिको धम्की भएकाले यसरी धम्की दिन व्यक्तिको पहिचान गरी उसमाथिकानूनी कारावही गर्नुपर्ने बार अध्यक्ष आचार्य बताउँछन् ।

बुधबार अबेर भइसकेकोले बिहीबार बाँकेस्थित कानून व्यवसायी र बारले यस बिषयमा आधिकारीक धारण सार्वजनिक गर्ने बताउँदै अध्यक्ष आचार्यले केन्द्रीय बरिष्ठ उपाध्यक्षमाथिको यस्तो धम्कीले न्यायलय नै असुरक्षित भएको महशुस भइरहेको बताएका छन् । बाँकेमा अहिले तीन सय ५० कानून व्यवसायी छन् ।

केन्द्रीय बरिष्ठ उपाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकबाट उक्त घटना सार्वजनिक गरेका थिए । श्रेष्ठले घटना सार्वजनिक गरेलगत्तै उक्त घटना निन्दनीय भएको बताउँदै कानून व्यवसायीमाथि धम्की दिनेलाई कडा भन्दा कडा कानूनी कारबाही गर्नुपर्ने जनस्तरबाट माग आइरहेको छ ।

बाँके अदालतमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र संगठित अपराधअन्तर्गत अभियोग पत्र दायर भएको थियो । चारजना कर्मचारी र दुईजना लेखा समिति सदस्य गरी छ जना मात्र पक्राउ परेका थिए । ३५ जना अभियुक्त फरार थिए ।
सहकारीका ११ हजार ९ सय ८ निक्षेपकर्ता र एक हजार ८ सय ६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयर धनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारबाहीको माग गर्दै जाहेरी दिएका थिए ।

४३ करोड रकम अपचलन गरेको अभियोगमा नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई तत्कालिन अवस्थामा अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको थियो । अहिले उक्त मुद्दाको बहस चलिरहेको छ ।